शाहवंशीय राजाको उद्गम रहेको ऐतिहासिक महत्त्वको कास्कीकोट क्षेत्रले पछिल्लो समय गुप्त कालिका मन्दिरका कारण धार्मिक चिनारी फैलाइरहेको छ।
मेकबहादुर (मेजन) पुन मगर
https://www.himalkhabar.com/news/144122
पोखरा शहरबाट १६ किलोमिटर पश्चिममा अवस्थित कास्कीकोट दरबारले ऐतिहासिक महत्त्व बोकेको छ। शाहवंशीय राजाको उद्गमस्थल हो, यो दरबार। शाहवंशीय पहिलो राजा कुलमण्डन खाँ (शाह)ले यही दरबारबाट शासन गरेका थिए। समुद्री सतहबाट एक हजार ७७८ मिटरको उचाइमा रहेको कोट क्षेत्रबाट हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। यहाँबाट धौलागिरि, अन्नपूर्ण हिमशृंखला, मनास्लु हिमाल तथा पूर्वतर्फ फेवा ताल र पोखरा शहरको दृश्य देखिन्छ।
नेपाल एकीकरण हुनुअघि चौबीसे राज्यको समयमा कास्कीकोट पनि एक महत्त्वपूर्ण राज्य थियो। यहाँ पुरानो दरबारको भग्नावशेष अझै देख्न सकिन्छ। कास्कीकोट क्षेत्रमा प्रायः ब्राह्मण, क्षेत्री, ठकुरी, मगर र दलित जातिका मानिसको बसोबास छ। विगतमा काठ, ढुंगा र माटोले बनेका परम्परागत शैलीका घरहरू रहेका यस क्षेत्रमा पछिल्लो समय सिमेन्टबाट बनेका घरहरू खडा भइरहेका छन्।
कास्कीकोटको इतिहास
हातहतियार राखिने ठाउँ वा राज्यको सीमा सुरक्षाको व्यवस्था गर्ने किल्लालाई कोत वा कोट भनिन्छ। कास्कीकोटमा तत्कालीन राज्यले आफ्नो सिमाना सुरक्षार्थ सिपाहीहरू तैनाथ गरेको थियो। साथै, सिपाहीका हातहतियार भण्डारण गर्ने ठाउँ पनि थियो। त्यसैले यस ठाउँलाई कास्कीकोट भनियो। यहाँ शाह राजाको दरबार भएकाले कास्कीकोट दरबार पनि भनियो। कालान्तरमा यो ठाउँ युद्धमा प्रयोग गरिने हातहतियार राख्ने र ती हतियारको पूजा गर्ने थलोका रूपमा मात्र प्रयोग गरियो।
कास्कीकोटको महत्त्वपूर्ण आकर्षक गुप्त कालिकाको मन्दिर हो। चौबीसे राज्यका र शाहवंशीय राजाको उद्गमथलोका रूपमा ऐतिहासिक महत्त्व बोकेको कास्कीकोटले पछिल्लो समय दरबारभन्दा पनि मन्दिरबाट धार्मिक चिनारी कायम गरेको पाइन्छ।
इतिहास अनुसार कास्कीकोटमा पहिले मगरको राज्य रहेछ। मगरलाई गुरुङ जातिले पराजित गरेछ। कास्कीकोटका स्थानीय बलराम त्रिपाठीले बताए अनुसार गुरुङ राजामध्येका एक बर्म घलेका सन्तानले यस ठाउँमा ३०० वर्ष राज्य गरेका थिए। उनै घले राजालाई स्याङ्जा नुवाकोटका जगदीश खाँले कालिका मन्दिरमा पुजारी बनाइदिने शर्तमा मगरको सहयोग लिएर कास्कीकोट राज्य जितेका रहेछन्। जगदीश शाहले स्याङ्जाको नुवाकोटमा कालिका देवीको पूजा गर्ने त्रिपाठीहरूलाई आजभन्दा ९८१ वर्षअघि कास्कीकोटमा पुजारी बनाएर ल्याएछन्।
कास्कीकोटमा कुलमण्डन शाहले ५१ वर्ष शासन गरेका थिए। कुलमण्डनका सात छोरामध्ये कान्छा यशोब्रह्मलाई लमजुङ लगेर राजा बनाइयो। यशोब्रह्मका दुई छोरामध्ये जेठा नरहरि शाहले लमजुङकै राजकाज चलाए भने कान्छा द्रव्य शाहले लिगलिगकोटका मगर राजाको राज्य हत्याए। यसको एक वर्षपछि मानसिंह खड्का मगर राजा रहेको गोरखा राज्यमाथि पनि आक्रमण गरी उनी गोरखाका समेत राजा बने। त्यसपछि पृथ्वीनारायण शाह र उनका सन्तान विशाल नेपाल बनाउने अभियानमा अगाडि बढेको इतिहास त सबैलाई थाहै छ।
कास्कीकोटको वरिपरि राजाहरूले सैनिक र अन्य मानिसलाई श्रद्धाञ्जलि दिन प्रयोग गरेका ढुंगाहरू छन्। त्यहाँ ‘गजल थुम्की’ पनि छ, जहाँ राजाहरूले गजल सुन्थे।
कास्कीकोट दरबार वा गुप्त कालिका मन्दिर परम्परागत र प्राकृतिक सामग्रीबाट बनेको छ। मन्दिरको निर्माणमा इँटाको धूलो र चुनढुंगा मुख्य सामग्रीका रूपमा प्रयोग गरिएको थियो। मन्दिरको छाना ढुंगाले बनेको छ। मन्दिर प्यागोडा शैलीमा पुन:स्थापित गरिएको छ।
मन्दिरमा पूजा र अनुष्ठान
नेपालका शक्तिपीठमध्ये गुप्त कालिका देवीको मन्दिरलाई पनि महत्त्वपूर्ण मानिन्छ। बडादशैं सहितका विभिन्न पर्व र अवसरमा यस क्षेत्रका विभिन्न १३ जातका व्यक्तिले आआफ्नो जिम्मेवारी वहन गर्दै पूजा-अनुष्ठान सम्पन्न गरिन्छ। त्रिपाठी, मगर, बर्काम्ली, बराल, तिमिल्सिना, बास्तोला, अधिकारी, तिवारी, भुजेल, जिसी, ठकुरी, पाडा (परियार, दमाईं) आदि पुजारी मिलेर देवीको पूजा गर्छन्।
गुप्त कालिका मन्दिर बाहिर ठकुरीहरू कर्ता बसेर पूजा गर्छन्। त्रिपाठी, तिवारी, तिमिल्सिना पुजारीले चण्डीपाठ, रुद्रीपाठ, शंखघण्ट, धूपधुवाँर गरी वैदिक तरीकाले अनुष्ठान गर्दछन् भने बराल, बास्तोला, अधिकारीहरूले वेदपाठ, होम गर्छन्। बर्काम्ली, कोतवाले, पाडा एवम् कर्ता भईकन पनि मगर र ठकुरीले कोटमा काटमार गर्छन्।
यस मन्दिरकी देवीलाई ‘गुप्त कालिका’ भनिनुमा स्थानीय किंवदन्ती प्रचलनमा छ। स्याङ्जाको आलमदेवीबाट निस्किएको ठूलो आगो आलम, नुवाकोट, काली रोहिणी हुँदै अन्ततः यस थुम्कोमा पुगेर लुकेर बसेको जनविश्वास छ। यसरी गुप्त रूपमा बसेको कारण कास्कीकोट कालिका मन्दिरकी देवीलाई ‘गुप्त कालिका’ भनिएको कास्कीकोटका बासिन्दा टीकारामप्रसाद त्रिपाठी बताउँछन्।
मगर पुजारीहरूलाई चिलिमडाँडाबाट कास्कीकोटमा पूजाका लागि आउजाउ गर्न टाढा पर्ने भएकाले उनीहरूको भागको पूजा वर्षको एक महीना कास्कीकोट नजीकैका तिवारीहरूले गरिदिंदा रहेछन्। त्यसो गरिदिए बापत मगरहरूले केही रकम उठाएर तिवारीहरूलाई दिन्छन्।
विजयादशमीको वेला वैदिक र तान्त्रिक दुई विधिबाट देवीको पूजा गरिन्छ। मन्दिरभित्र मालश्री धुन बजाएर तान्त्रिक अनुष्ठान गरी पूजा गरिन्छ। कास्कीकोट चिलिमडाँडाकी बासिन्दा पवित्रा थापा (राना) मगरका अनुसार घटस्थापनाको दिन दियो बालेर अन्तिम दिनसम्म फेवाली राना मगरले दियो कुर्नुपर्छ। उनको सम्झना अनुसार उनका बाबा पूजा गर्न कास्कीकोट पुग्थे र फूलपाती सेलाएर चिलिमकोटमा फर्केपछि मात्रै परिवारले बडादशैंको टीका लगाउँथ्यो।
दशैंको फूलपातीमा विभिन्न बाजा बजाएर कुमार गाउँबाट कुलमण्डन पार्कमा ‘सरुन’ नामक दक्ष सैनिकको परम्परागत युद्धकला प्रदर्शन गर्न आउँछन्। उक्त दिन प्राचीन समयमा सैनिकहरूले प्रयोग गरेका तरबार, ढाल प्रयोग गरेर युद्धकौशल प्रदर्शन गर्ने कास्कीकोटकी शर्मिला परियार बताउँछिन्।
पुरुष समूहले ढाल-तरबार लिएर गरिने युद्ध अभिनय नै सरायँ नृत्य हो। सरायँको शुरूआतबारे विभिन्न अनुमान र मत पाइन्छन्। बाइसे-चौबीसे राज्यकालका कुनै राजाले युद्ध जितेको खुशियालीमा सरायँ नृत्यको शुरूआत भएको एउटा मत छ भने पहिलेका योद्धाहरूले दशैंको कालरात्रिमा कालिका मन्दिरमा गई युद्ध जिताइदिन भाकल सहित यस्तो युद्ध अभ्यास गरेकाले यसको परम्परा बसेको हो कि भन्ने अनुमान गरिन्छ (मुकुन्दराज शर्मा, त्रिवेणीदेखि मुक्तिनाथसम्मका लोकनृत्यहरू, २०७८)।
अर्को मत अनुसार बाइसे-चौबीसे राज्यकालमा निरन्तर चल्ने आपसी द्वन्द्वका कारण वर्षातपछिको मौसममा भुरेटाकुरे राज्यहरूले पितृ र प्रकृतिको पूजा-आराधना गर्दै शत्रुमाथि विजय प्राप्तिको कामना सहित तत्कालीन समयको सैनिक हतियार ढाल, तरबार, खुँडा, खुकुरी आदिको प्रदर्शन गर्ने चलनको विकास हुन गयो। हातहतियार प्रदर्शनी नै कालान्तरमा सरायँ नाचको संस्कृति बन्न पुगेको भनाइ पाइन्छ (मिन श्रीस मगर, अमूर्त संस्कृति प्रदर्शनी कला, परम्परागत संस्था र ज्ञान, (२०७९)।
रुकुम र रोल्पातिरका मगर बस्तीमा पनि दशैंतिर सरङङ्या प्रदर्शन गर्ने चलन छ। सरङङ्या पनि सरायँ झैं युद्धकला नक्कल गरिने प्रदर्शनी हो। हातमा अलगा (लट्ठी) र फरी (ढालको प्रतीक) लिएका कम्मरमा घोङ्रा तथा खुट्टामा पैजल लगाएका युवाहरूले पक्ष-विपक्ष जस्तो दुई समूहमा विभाजित भएर मादल र दुन्दीको तालमा युद्धकलाको देखाउँछन्। मगर खाम भाषामा सरङको अर्थ नक्कले हुन्छ भने सरङङ्याले युद्धकलाको नक्कल गरेर नाचिने नाचको भाव दिन्छ (गोविन्द आचार्य र दुर्गा रायमाझी, मगर जातिको लोकगीत तथा लोकसंगीत, २०७४)।
दशैंको फूलपातीमा धुपीचौर कुलमण्डन पार्कमा ५४ प्रकारका युद्धकला प्रदर्शन गरिन्छ। सोही दिन युवा तथा वृद्धवृद्धाले मालश्री गाउँछन्। महानवमीमा पञ्चबलि दिइन्छ। विजयादशमीमा फूलपाती विसर्जनपछि मात्र टीका लगाउन पाइन्छ।
चैते दशैंमा नेपालको सबैभन्दा ठूलो वाद्य ‘धुप’ पूजा गर्ने क्रममा बजाइन्छ। साउने संक्रान्तिमा पञ्चपर्व पूजा गरिन्छ।
कास्कीकोटका मगर पुजारी
कास्कीकोट दरबारको भित्रपट्टि गुप्त ठाउँमा कर्ताका रूपमा रहेर पूजा गर्ने पुजारीहरू फेवाली राना मगर छन्। पहिले फेवाली राना मगरहरूको तालबाराही नजीकै बस्ती थियो रे। ताल पहिले माथि रहेछ। त्यस ठाउँको ताल फुटेर हालको फेवा ताल बन्न थालेपछि त्यस ठाउँबाट फेवाली राना मगर विभिन्न समयमा विस्थापित भई कोही चिलिमडाँडा, कोही स्याङ्जा पुगेको इतिहास पाइन्छ। चिलिमडाँडामा खड्का मगर, अस्लामी र फेवाली राना मगर गरी तीन थरी मगरको बसोबास रहेछ। त्यहाँ बेसी र चिलिमडाँडामा गरी ३८ घर कुरिया मगरको बसोबास छ।