३२ जेठ, २०८१ ।
चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको आयोजना तथा आदिवासी जनजाति चलचित्र महासङ्घ, लुम्बिनी प्रदेश समिति र मगर चलचित्रकर्मी सङ्घ, जिल्ला समिति रुपन्देहीको सह(आयोजनामा बुटवलस्थित होटल डार्सीसमा एक दिने विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा मगर चलचित्रकर्मी सङ्घ, केन्द्रीय समिति अध्यक्ष भिम मास्की रानामगरले मातृभाषामा चलचित्र निर्माण गरिरहेका र गर्न चाहनेहरूलाई आजको गोष्ठीले थप हौसला प्रदान गर्ने आशा व्यक्त गरे । त्यस्तै शिक्षासेवी एवम् भाषिक अभियन्ता भिम गुरुङले भाषा र संस्कृतिले नै हाम्रो पहिचान बचाउने भन्दै यसबारेमा सबै सचेततापूर्वक लाग्नुपर्ने औंल्याए ।
मन्तव्यका क्रममा विशिष्ट अतिथि तथा नेपाल मगर सङ्घ, केन्द्रीय समितिका सह(अध्यक्ष दलबहादुर बीरकट्टा मगरले भाषा प्रत्यक्ष अर्थसित पनि जोडिने भएको हुँदा आर्थिक सवलीकरणका लागि भाषा र लिपिलाई चलचित्र र लेखन पठनमा प्राथमिकता दिइनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा आदिवासी जनजाति चलचित्र महासङ्घ, केन्द्रीय समितिका अध्यक्ष पुर्खजित राईले मातृभाषी चलचित्रमा काम गरिरहेका सङ्घ संस्थाहरूसित महासङ्घले सहकार्य गरिरहेको स्पष्ट पारे । आफ्नो मन्तव्य राख्दै अध्यक्ष राईले हामी आदिवासी यहाँको मूलवासी भएका कारण हाम्रो भाषा नेपालको मूल भाषा भएको र मूल भाषामा बनेका चलचित्रहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा पुर्याउने महासङ्घको उद्देश्य भएको पनि बताए ।
कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्देशन, निर्माण र प्रवर्द्धनमा योगदान पुर्याएका विभिन्न चलचित्रकर्मीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा लेखन÷निर्देशन मेजन पुन मगर, नायक÷गायक धनबहादुर गुरुङ र थारु चलचित्र निर्माता छविलाल ‘कोपिला’ चौधरी रहेका छन् ।
अमर लामाको संचालन, आदिवासी जनजाति चलचित्र महासङ्घ, केन्द्रीय समिति अध्यक्ष पुर्खराज राईको प्रमुख आतिथ्यता र आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर चलचित्रकर्मी संघ केन्द्रीय अध्यक्ष भिम मास्की रानामगर, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन न समितिका सदस्य एवम् चलचित्रकर्मी विश्वास आलेमगर, आदिवासी जनजाति चलचित्र महासंघ, लुम्बिनी प्रदेश समिति अध्यक्ष श्याम थापामगर, मगर चलचित्रकर्मी संघ, रुपन्देही जिल्ला अध्यक्ष टीका आलेमगर, प्राज्ञ एवम् मूर्तिकार यमबहादुर थापामगर, चलचित्र निर्माता तुल सारुमगर, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गीता सारुमगर, संघका केन्द्रीय समिति अनुशासन विभाग सदस्य उमेश थापा लाटोमगर, संघकै लुम्बिनी प्रदेश समिति कोषाध्यक्ष तारा पुनमगर, नेपाल मगर महिला संघ, लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुमगर, मगर महिला संघ, रुपन्देही जिल्ला समिति अध्यक्ष निर्मला थापामगर, थारु कल्याणकारिणी सभा, रुपन्देही जिल्ला अध्यक्ष कमल चौधरी, मगर चलचित्रकर्मी संघका पूर्व सचिव एवम् अभियन्ता शंकर गाहामगर, अभिनेत्री विना थापामगर, मरीना बलालमगर, अभियन्ता एवम् समाजसेवी अशोक पुनमगर, यम रानामगर, लोकनेश ढेँगामगर, थर्क बाह्रघरेमगर, ज्ञानसिंह रानामगर, मनोज थापा श्रीसमगर, सूर्यबहादुर श्रीसमगर, नन्दा बुढामगर, राधिका श्रीसमगर, फिल्मकर्मीहरू केशरजङ्ग थापामगर, वसन्त सिंजालीमगर, लेखक साहित्यकारहरू दुर्गा थापामगर, जेबी दर्लामी, जयन्ती मगर सरगम, पारस राहादीमगर लगायतले अन्तरक्रियामा भाग लिएका थिए ।