म्याग्दी/२०३४ साल अगाडि बेनी बजारको ठाँटीतिर र घरमा कसैको मृत्यु भए सम्बन्धीत घरबेटीले नै मृतकको लासलाई डोकोमा बोकेर घाटमा पु¥याएर सतगत गर्नुपर्दथ्यो । मगरको लास ३/४ दिनदेखि लावारिस अवस्था रहन्थ्यो । गाउँमा अनिकाल लाग्दा अधिया मकै, चामल र नुन लिन लाम लागेर बस्नु पर्दथ्यो । गाउँबाट मगर चेलीहरु शहर आएको बेला मौका छोपेर पञ्चायतका नेता, कर्मचारीहरुले हाम्रा मगर चेलीहरुलाई थुनेर राख्ने, दिनमै गीत गाउन लगाउने र इज्जत लुट्ने काम समेत गर्दथे । बजारमा भईरहने यो क्रियाकलाप सहन नसक्ने अवस्थामा पुगेपछि २०३४–०३७ सालसम्म भुमिगत रुपमा बेनीमा मगर समाज सञ्चालन गरिएको रहेछ । १० सदस्यीय समिति गठन भएकोमा यसको अध्यक्षता बेग गाउँका फक्तबहादुर गर्बुजा मगरले गर्नु भएको रहेछ । प्रस्तुत छः बेलायत जान तयारी गरिरहनु भएका पक्तबहादुर गर्बुजा र उनको श्रीमति देवी गर्बुजासँग विगतका केही तितामिठा कुराकानी ।
तत्कालिन बेगखोला ४ बेगमा बाबा बलवीर गर्बुजा मगर र आमा हिरामति गर्बुजा मगरको ३ छोरी र ८ भाई छोराहरु मध्ये कान्छा फत्तबहादुर वि.सं. २००१ सालमा जन्मनु भएको रहेछ । त्यो समय ठुलो परिवार स्कुल पढने जमाना थिएन । कपडाको नाममा आङ ढाक्न पाए पुग्थ्यो । गाउँको अरु लाहुर गए जस्तो मेरो बाबा लाहुरे बन्नु भएको थिएन । गाउँघरमै खेतीबाली कुटो कोदालो गरि जीविका चलाउनु भएको थियो । आम्दानी भनेको नै भैसी पालेर बेचविखन गरे मात्र पैसा देख्न पाउथ्यो ।
बाबाको मृत्यु हुँदा मेरो उमेर मात्र ४ वर्षको थियो । सानै उमेरमा बाबाको मृत्युु भएको कारण मेरो बाल्यकाल दिदी र ठुलोकान्छा दाईहरुसँग वन जंगलमा गई भैसी गोठमा बसेर बित्यो । काईला, थाईला र राईला दाईहरु सानै उमेरमा बितेको कारण जेठी दिदी र आमाले खेतीबाली लगाउने, माईली दिदी र कान्छी दिदीले गोठमा भैसीलाई घाँस र गोठको स्याहार गर्दथे । ठुलो कान्छा दाई र म गोठ हेर्ने र भैसीको पछि दौड्ने काम गर्दथियौं । वर्षायामको झरि पानीले शरीरमा लगाएको कपडा शरीरमा नै सुक्दथ्यो । वर्षाको जुकाको टोकाईको पिडा उतिकै थियो । हाम्रो भैसी धेरै भएको कारण माइत बाजेले स्याहार्न ल्याउनु भयो । तब ठुलो कान्छा दाई र मलाई अलि हल्का भयो । र, हामी चराचुरुङी मार्न माला थाप्ने गर्न पायौं ।
समयसँग युवाअवस्थामा लाहुरे भएर पल्टन पुगियो । त्यहाँको व्यथा आफ्नै ठाउँमा छ । अवकाश पश्चात बेनी बजारमा बस्ने क्रममा सानोतिनो व्यापार गरियो । बेनी बजारमा बस्ने क्रममा मगरहरुले पाएको दुःख एवम् मर्दा पर्दा समाज चाहिने रहेछ भन्ने महसुस भएको कारण समाजमा रहेका कुरीतिहरुलाई पन्छाउँदै पिछडिएको समाजलाई सुधारको अभियान अनुरुप लाङ्घाली परिवार संघ (मगर समाज) गठन गरि सामाजिक काम गरियो ।
२०३६ सालको जनमत संग्रह पश्चात झन कडाईको साथ पञ्चायतको विरुद्ध बोल्न नपाउने भयो । तर मगर समाजको उत्थानको लागि गठन समाज राजनैतिक भन्दा पनि सामाजिक क्रियाकलाप भएको कारण हामी मल्लाजको खोला, जंगलमा वनभोज खाने बाहानामा मगरहरुलाई जम्मा गरेर बैठक बस्न बाध्य थियौं । कहिल रातको समयमा टुकी बालेर बस्नु पर्दथ्यो । समस्या शहर बजारमा बस्ने मगरको मात्र होइन गाउँगाउँबाट आएका मगरहरुको पनि थियो । विभिन्न कामको लागि समस्या लिएर सदरमुकाम आएका सोझा मगरहरुलाई कार्यालयमा विभिन्न झन्झट गरिदिंदा हामीले सहयोग गरिदिन्थ्यो । विरामी भएर अस्पतालमा उपचार गर्दागर्दैै मृत्यु भएमा, मृतकको आफन्त कोही नभएमा सतगत गरिदिनु जिम्मा हामी बेनीमा बसोबास गरेका मगरहरुको जिम्मा थियो । मृतकको आफन्त गाउँदेखि ढिलो आएमा लासलाई दिन, रातमा कुरेर बस्नु पर्दथ्यो । एकदिनमा तीन पटकसम्म मरेका लास बोकेर कालीको तिरमा लगेर लास जलाउने, गाड्ने गर्नुपर्दथ्यो । यसरी बेनीमा २०३४ सालमा मगर समाज गठन गरेका थियौं । अहिले पुन मगर होइन, पुन जात हो भन्छन् । अचम्म पर्छु ।
चुनावको ताका शिखमा गोली काण्ड भयो । त्यसको फोटो लुकेर दुलादेखि खिचेर काठमाडौं पठायौं । यो फोटो कसले खिच्यो भनेर हैलाखैला मचियो । दरबाङ तातोपानीदेखि अलि तल अप्ठ्यारो बाटो मुनी म्याग्दी खोलाको ठुलो दह थियो । चुनावमा मतपेटिका बोकेर आउनेलाई त्यही दहमा फाल्ने काम पनि भयो । खोलामा अट्किएर रहेको दुई जनाको लासलाई डोरीले बाँधेर खोलाबाट झिक्ने काम समेत गरियो । अन्याय भएको थियो । हामीले संस्थागत बोल्ने काम गरेका थियौं । बेनीबजारमा मगर समाज छ भनेर गाउँ गाउँमा समेत खबर भएको थियो । हाम्रो संलग्नतामा वि.सं. २०४२ सालमा नेपाल लाङ्घाली परिवार संघको राष्ट्रिय सम्मेलन म्याग्दीको सिंह तातोपानीमा सम्पन्न गर्न हामी सफल भयौं ।