म्याग्दी/९ र १० को विद्यार्थीहरु कमजोर नहुन् भनेर नागीमा सबैलाई होस्टलमा राखेर पढाउने गरेको सुनेको थिएँ । यो गर्ने उही महाविर पुन नै थिए । काठको डब्बामा कम्प्युटर फिट गरेर कम्प्युटर संचालन गरेर पढाउने गरेको पनि उही महाविर पुन नै थिए । पत्रपत्रिकामा प्रकाशन हुँदा पनि अचम्म लाग्थ्यो त्यो बेला र त्यहाँ पुग्ने चाहना थियो । र, साथीहरुसँग मिलेर पहिलो पटक यस्तै ०५९/०६० सालतिर होला हामी नागी गाउँमा घुम्दै पुग्ने अवसर जुट्यो । स्कुल, काठमा जडान गरिएको कम्प्युटर, विद्यार्थी छात्राबास र महाविर पुनसँग पनि भेट्ने अवसर थियो त्यो । नागीमा पुगेर महाविर पुनसँग भेट भो, केही गफ गरियो । कम्प्युटर कक्षतिर लिएर जानु भो, इन्टरनेट जडान गरि ईमेल चेक गर्दै थिए केही विद्यार्थी । हामी पनि एकक्षण वायरलेस माध्यमबाट चलिरहेको ईन्टरनेट चलायौं नागीमा ।
अर्को विहान नजिकैको वनभित्र रहेको नागी बराहा थान घुम्न पुगिम र दर्शन गरि फर्कियौं । स्कुल हातामा रहेको पसलमा चिया, गाउँले रोटी खाएर छात्राबास तिर डुल्न पुगिम । त्यो सुविधा सम्पन्न छात्राबास भन्दा पनि आफै गाउँलेहरुले मिलेर बनाइएको भकारीको ससानो कटेरो थियो । २ जना मिलेर बस्न मिल्ने साथै त्यही पकाएर खान मिल्ने गरि बनाइएको रहेछ । छात्रहरुको छुट्टै र छात्राहरुको छुट्टै ठाउँमा उस्तै कटेरो बनाइएको थियो । त्यो कटेरोलाई त्यतिबेला विद्यार्थी बस्ने गोठ भन्दा रहेछन् । देखिन पनि त्यस्तै थियो । छात्रा बस्ने ठाउँमा अनुमति नभएको कारण हामी छात्र बस्ने ठाउँतिर पुगियौं । केही विद्यार्थीहरु पकाउन थाल्दै थिए केही पढिरहेका थिए । विद्यार्थीहरुलाई डिस्टर्भ पनि गर्न भएन यसैले हामी फेरि हामी बसेको ठाउँतिर गयौं ।