पोखराबाट साढे एक घण्टामा पातिचौर र पातिचौरदेखि २ घण्टामा बाजुङ हुँदै खुईजेरी पुग्न सकिने रहेछ । रुप जीको भाईले व्यवस्था गरि राखेको गाडीले हामीलाई नै पर्खिबसेको रहेछ । राजेन्द्र जी गाडी भित्र बस्नु भयो । रुप जी र म गाडीको हुटमा बस्ने निधो गरि गाडी उकालो लाग्यो । आकाशमा कालो बादल मडारिरहेको थियो । पानी परे हामी भिज्ने निश्चित थियो तर सिमसिम गरि केही बेर पानी त प¥यो तर त्यो सिमसिम पानीले झन आनन्द आईरहेको थियो ।
बाटोमा पर्ने ठुलोपाखा, शिवालय, पातलपानी, गैरीगाउँका मनोरम सुन्दर दृश्यहरुमा लोभिंदै हामी मोदी गाउँपालिका ४, खुईजेरी गाउँमा गाडीबाट झ¥यौं । १ सय ३६ घर धुरी रहेको खुईजेरीको उत्तरमा घुरुङा, पुर्वमा बाजुङ, दक्षिणमा हलहले र पश्चिममा बनौं गाउँ पर्दो रहेछ ।
४ वर्ष अगाडि ८ घरबाट शुरु गरिएको सामुदायिक होमस्टे खुईजेरीका अध्यक्ष यामकुमारी तिलिजा पुन मगरले हामीलाई ज्ञानबहादुर तिलिजाले सञ्चालन गर्नुभएको होमस्टे घरतिर पठाई दिनु भयो । ठुलो ढुङा ओछ्याईएको घरको आँगनमा पुग्दा हामीलाई ज्ञानबहादुर तिलिजाले स्वागत गर्नु भयो ।
खुईजेरी पुन मगरहरुको थर फगामी, खोरजा, तिलिजा, पुन, पुर्जा, चोचाङी र रोका मगरहरु बसोबास भएको गाउँ रहेछ । गाउँको नजिक २०१९ सालमा स्थापना भएको गुरुङ गाउँ प्रावि स्कुल रहेछ जहाँ यस गाउँका केटाकेटीहरुले शिक्षाको ज्ञान हासिल गर्दा रहेछन् । एसएलसी दिन नाङी गाउँ, बाजुङ र शहर झर्ने गर्दा रहेछन् ।
खुईजेरी होमस्टे : गाउँमा उत्पादन भएका सागसब्जी, वनको च्याउ, सिस्नु, ढिंडो पकाएर पाहुनालाई सत्कार गरिने रहेछ । कहिले काही पाहुनाहरु काम गर्ने उद्देश्य लिएर पनि होमस्टेमा आउँछन् होमस्टेका संचालक लेखबहादुर सुनाउँछन् । आफैले पकाएर खाने ग्रुप पनि आउने गर्दछ होमस्टेका अध्यक्ष यामकुमारी विगतको कुरा सुनाउँछन् । गाउँमा आएका ३२ जनालाई व्यवस्था गर्न सकिन्छ होमस्टेका सचिव प्रतबहादुर खोरजा भन्छन् ।
रुप जी आफ्नो गाउँ भएको कारण आज के खाने भनेर हामीलाई सोधेर त्यही अनुरुप व्यवस्थापन गर्न भन्दछन् । अलि कति ढिंडो र अलि कति भातले छपनी लगाउने निधो गरि त्यही अनुरुप खाना बनाउने जिम्मा लगाएर हामी गाउँ ढुल्न लाग्यौं । सानो चिटिक्क परेको ढुंगाले बनाएको गाउँ भित्र हामी पसेका थियौं । हामी अझ गाउँ चहार्न लाग्यौं । गाउँमा गाईवस्तु बधुवा गरिएको रहेछ । गाई, बाख्रा सबै बधुवा रहेछ । घर नजिक बाख्रा बाँधेर राखेको देखियो । यो गाउँका मानिसहरुलाई पनि शहर पस्ने रोग लागेको रहेछ । केही घरहरु खाली थिए । केही छरछिमेकीले हेरेर राखेका रहेछन् । तर पनि शहर पसेकाहरु बिस्तारै गाउँ फर्कने क्रमको शुरुवात पनि भईरहेको छ । गाउँको खान्की, गाउँको रहनसहन बुझ्न गाउँ आउने र गाउँमा बस्नेको व्यवस्था भएको कारण भविष्यमा अझ गाउँ आउने नै छ । अझ प्रगति होस् ।