अर्जुन तिलिजा मगर
बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता तुलबहादुर तिलिजा पुन मगरको जन्म म्याग्दी जिल्ला तत्कालिन बेगखोला गाबिस हाल रघुगंगा गाउँपालिका वडा नम्बर १ बेगखोला अन्तर्गत बाँदुक गाउँमा बाबा कविराम तिलिजा र आमा तनिसा तिलिजा को ज्येष्ठ सुपुत्रको रुपमा २३ मार्च १९२३ मा भएको हो । भेडा बाख्रा चराउने खेती किसानी गर्ने लोर्के ठिटो तुलबहादुर तिलिजा पुन मगर २० बर्षको उमेरमा १९४० अक्टोबर १८ मा आफ्नै गाउँका गल्लावालासँग भर्ती हुन तत्कालिन बेलायती साम्राज्यको उपनिबेशमा रहेको ईन्डियाको गोरखपुर कुनाघाट जानु भयो र गोर्खा पल्टनमा भर्ती हुनुभयो । भर्ती भएपछि रेल, मोटर र पैदल हुँदै हालको पाकिस्तान अहोदाबादमा ३/६ बटालीयनमा रही सैनिक तालिम सम्पन्न गर्नुभयो ।
दोस्रो विश्वयुद्ध चर्कदै गएको हुँदा तालिम सम्पन्न भएपछि पुर्व बर्मामा जापानीजहरुसँग युद्ध गर्न खटिनु भयो । बर्मामा भएको घमासान युद्धमा वहाँले साहसिक बहादुरी प्रदर्शन गरेबापत भिक्टोरिया क्रस पाउनु भएको थियो । पछि बेलायती उपनिबेशबाट ईन्डिया स्वतन्त्र भयो र गोर्खा पल्टन पनि विभाजन भएर कोही पल्टन ईन्डियामा र कोही पल्टन बेलायतसँग रह्यो । वहाँ बेलायती गोर्खा पल्टनमा रहनु भयो । भर्ती हुँदा वहाँको सैनिक नम्बर १०११९ र पछि पल्टन बिभाजन भए पछि २११४५०१७ भएको थियो ।
भिक्टोरिया क्रसको : संक्षिप्त जानकारी
युद्ध मैदानमा दुश्मनको अगाडि अदित्य पराक्रम, साहस वा नेतृत्व प्रदान गरे बापत प्रदान गरिने बेलायतको सबैभन्दा उच्च युद्ध पदक भिक्टोरिया क्रस हो । यो पदक १८५६ जनवरी २९ मा महारानी भिक्टोरियाको नामबाट स्थापना भएको हो । महारानी भिक्टोरियाले सन १८३७ देखी १९०१ सम्म ६४ बर्ष बेलायतको शासन सम्हालेकी थिइन । यो पदकको स्थापना कुनै धर्म, जाति, लिङ्ग वा कुनै सानो ठुलो दर्जा नभएर युद्धको समयमा साहसिक र बहादुर प्रदर्शन गर्ने योद्धालाई प्रदान गरिन्छ । भिक्टोरिया क्रस ३.६ सेन्टीमिटर फराकिलो हुन्छ । पदकको बीचमा महारानी भिक्टोरियाको राजकीय चिन्ह अंकित छ ।
यो पदक ३.७५ सेन्टीमिटर फराकिलो रातो रिबनसँग झुण्डिएको हुन्छ । यो पदकको पछाडि पट्टि लडाईं भएको मिति, स्थान र ब्यक्तिको नाम अनि सैनिक नम्बर लेखिएको हुन्छ । यो पदक क्रिमिया युद्धको समयमा सेवास्तुपुल युद्ध भुमिमा कब्जा गरिएको रसियन तोपको गोली काँसको धातुबाट निर्माण गरिएको हुन्छ र यो बेलायतसँग मात्र रहेको छ । रसियाको क्रिमिया युद्धदेखि प्रथम अनि दोश्रो विश्वयुद्ध हुँदै अफगानिस्तान युद्ध सम्ममा १ हजार ३ सय ६४ वटा भिक्टोरिया क्रस प्रदान भईसकेको छ भने अहिले सम्म १३ जना गोर्खाहरुले मात्र यो पदक पाउने सौभाग्य पाएका छन ।
लण्डन राजपत्रमा प्रकाशित बहादुरीको गाथा
बर्माको मोगाउँ भन्ने ठाउँको रेल दौड्ने पुलनेर १९४४ जुन २३ मा छैठौ गोर्खा राइफल्सको तेस्रो बटालियनलाई जापानीहरुको बलियो अखडा माथि हमला गर्ने आदेश आयो । जब हमलाको तयारी हुँदै थियो अकस्मात लगभग २०० गजको बाँया तर्फको पोजिशनबाट दुश्मनहरुले चारैतिरबाट फायर खोलिहाले ।
यो दोहोरो क्रस फायरिङ भिडन्त यती गम्भीर थियो की अगाडि बढ्दै गरेको बी कम्पनीका दुई प्लाटुनहरु आफ्नो गन्तब्यमा पुग्न सकेनन् । त्यसमध्ये एउटा प्लाटुनमा तुलबहादुर तिलिजा पुन मगरको पनि थियो । युद्धको परिस्थिति यति गम्भीर थियो कि उनी आँफै उनको सेक्सन कमाण्डर र अर्को १ जना जवान बाहेक दुश्मनका फायरिङले अरु सबै सखाप भैसकेका थिए र उनको सेक्सन कमाण्डर पनि गम्भीर घाइते भए । सेक्सन कमाण्डरको नेतृत्व पनि स्वयम् आफुले नै सम्हाल्नु पर्ने बाध्यता प¥यो । त्यसैबेला उनले बाँकी रहेका आफ्ना २ जना साथीहरुको साथ रातो घर हमला गर्न कुदिहाले ।
तुलबहादुर पुनले सोझै आफै माथि आइरहेको गोली बम बर्षाको पर्वाह नगरी घाइते सेक्सन कमाण्डरको ब्रेनगन समातेर दुश्मनको बंकर तर्फ एकलै छिटो भन्दा छिटो फायरिङ गर्दै अगाडि बढ्न थाले । यो बिहानको उज्यालोमा जापानी सेनामाथि भएको खुल्ला हमला थियो । त्यसबेलामा खुला मैदान जहाँ दुश्मनहरुले सोझै देख्न सक्ने थियो । छिपछिपे पानी र हिलो भएको जमीन थियो । वरिपरि गोला बारुदले गर्दा ठुला ठुला खाडलहरु थिए भने बमबर्षाको कारणले रुखहरु ढलिरहेका थिए ।
यसप्रकारको प्रतिकुल समयमा पनि तुलबहादुर पुनले जापानीहरुले कब्जामा राखेको रातो घर घेर्न पुगे । उनले ३ जना दुश्मनहरुलाई त्यहि नै मारीदिए, पाँच जना भागे । त्यसपछि दुश्मनका दुई वटा मेशिनगन र गोलाबारुदहरु आफ्नो कब्जामा लिए । त्यसैबेला उनले फेरी बंकर भित्र लुकेर बसेका दुश्मन माथि फायरिङ् गर्न थाले बंकर भित्रका थुप्रै दुश्मनहरु मारिए कोही भागे र सो ठाउँ कब्जा गर्न सफल भए । लडाईंको त्यस बिन्दुमा कुनै पनि हालतमा मरिने परिस्थितिमा पनि आफ्नो ज्यानको बाजी लगाई दुश्मनले कब्जा जमाई राखेको रातो घर लाई आफ्नो नियन्त्रणमा लिन सफल भए ।
तुल बहादुर पुनले १९४५ मार्च ३ मा भायसराय लर्ड वेभेलको बाहुलीबाट दिल्लीमा भएको बिशेष समारोहमा भिक्टोरिया क्रसको पदक ग्रहण गरेका थिए । सो युद्धमा एउटै प्लाटुन र एकै सेक्सनका तुल बहादुर पुन र क्याप्टेन अलमाण्ड दुई जनाले भिक्टोरिया क्रस पाएका थिए । क्याप्टेन अल्माण्ड युद्धको समयमा बहादुरी प्रदर्शन गर्दागर्दै दुश्मनको गोली लागेर मृत्यु भएका थिए । वहाँको बहादुरीको कदर गर्दै वहाँलाई मरणोप्रान्त भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।
सैनिक जीवनबाट अवकाश
भी.सी. तुलबहादुर पुन २० बर्ष बेलायती सेनामा रहेर काम गरेपछि अवकाश भई आफ्नै गाउँ बाँदुक फर्किनु भयो । बाँदुक गाउँ त्यतिबेला मुस्ताङ जिल्लामा पर्दथ्यो भने सदरमुकाम दानामा रहेको थियो । अवकाश पछि सदरमुकाम दानामा गोर्खा वेल्फेयर अफिसर भएर काम गर्नु भयो । त्यसबेला त्यस क्षेत्रका अधिकांश गाउँहरुमा स्कुल र खानेपानीको राम्रो बन्दोवस्त थिएन । त्यस क्षेत्रका धेरै जसो स्कुल र खानेपानीका योजनाहरु वहाँको सकृयता र पहलमा भएका हुन् । त्यसपछि पछि वहाँ मुस्ताङ जिल्ला सदस्य र त्यसपछि धौलागिरी अञ्चल सदस्य भएर बिभिन्न सामाजिक कार्यहरु गर्नु भएको थियो । त्यस्तै नेपाली कांग्रेसका विश्वेशर प्रसाद कोईरालासंग वहाँको राम्रो सम्बन्ध थियो । नेपाली कांग्रेस धौलागिरी अञ्चल अन्तर्गत क्षेत्रीय अध्यक्ष हुनु भएको थियो । वहाँलाई नेपाली कांग्रेस धौलागिरि अञ्चलको तर्फदेखि सांसदको लागि विश्वेशर प्रसाद कोइरालाले अनुरोध गर्नु भएको तर वहाँले ओमकार गौचनलाई छोडिदिएको कुरा बताउनु भएको थियो । वहाँ भर्ताी हुँदाको समयमा गाउँमा स्कुलहरु थिएनन् । अनौपचारिक शिक्षा भर्ती भएर मात्रै लिनु भएको थियो । त्यसैले अवकाश भई गाउँ फर्किएपछि बिशेष गरेर शिक्षामा जोड दिनु भयो । आफ्नै बाँदुक गाउँमा २०२२ सालमा श्री कृष्ण प्राथमिक विद्यालयको स्थापना गर्नु भयो र नेपाल सरकारबाट मान्यता प्राप्त भयो ।
त्यसपछि २०३८ सालमा श्री कालिका प्राथमिक विद्यालयको स्थापना तिप्ल्याङ गाउँमा गर्नु भयो र नेपाल सरकारबाट मान्यता प्राप्त भयो । अहिले श्री कृष्ण प्राथमिक बिद्यालय आधारभुत विद्यालय र श्री कालिका विद्यालय माध्यामिक विद्यालय भएको छ । पुन भी.सी. फाउन्डेसनको पहल र जोवाना लुम्लेको सहयोगमा गोर्खा वेल्फेयर ट्रस्टले सुबिधा सम्पन्न भवनहरु बनाई दिएका छन् । दुबै बिद्यालयहरुमा शिक्षाको गुणस्तर बृद्धिको लागि तुलबहादुर पुन भी.सी.का परिवारहरु, वहाँको सहयोद्धा तथा मरणोप्रान्त भी.सी. विजेता क्याप्टेन अल्माण्ड भी.सि.को परिवार र जोवाना लुम्ले र जोवाना लुम्लेको सहयोगीहरु मार्फत निशुल्क खाजा व्यवस्थापन, निजी शिक्षकहरुको तलव भत्तामा सहयोग लगायत बिभिन्न सहयोगहरु रहदै आएको छ ।
देहवसान
गोर्खा आवासीय अधिकारको सफलता पछि वहाँ सपरिवार बेलायत बस्दै आउनु भएको थियो । बेलायत बसे पनि वहाँ हरेक बर्ष आफ्नो जन्म गाउँ बाँदुक तिप्ल्याङ जाने गर्नु हुन्थ्यो । बेलायत आउनुको आफ्नो मुख्य उद्देश्य सबै गोर्खाहरुलाई बेलायती समानताको अधिकार दिलाउनु पुरा भएको भएता पनि स्वास्थ्यको कारणले गर्दा बेलायत बस्नु पर्दा गाउँको बारेमा र वहाँले स्थापना गर्नु भएको स्कुलहरुको खबरहरु सोधिरहने गर्नुहुन्थ्यो । अब एकपटक बेलायती महारानीलाई भेट्ने र बाँकी जीवन आफ्नो जन्म गाउँ गएर बस्ने साथै मर्नु परे आफ्नै जन्म माटोमा मर्ने आफ्नो अन्तिम ईच्छा रहेको आफ्नो परिवारलाई बताउनु भएको थियो । त्यसैबेला २०१० मे महिनामा बेलायती महारानीबाट दर्शन भेटको लागि बकिङघम राजदरबारबाट निम्तो आयो । महारानीसँगको सो भेटमा तुल बहादुर पुन भिसीले गोर्खाहरुले बेलायती जनता देश र बेलायती राजमुकुटको लागि सदियौ देखि बलिदान सहित सेवा गर्दै आएको छन् ।
गोर्खाहरुलाई अहिले पहिला भन्दा राम्रो भएको छ सबै गोर्खाहरुलाई सधैं समान अधिकार होस् भनेर अनुरोध गर्नु भयो । अन्तत वहाँ २०११ फेब्रअरीमा नेपाल फर्किनु भयो । आफ्नो जन्म ठाउँ बाँदुक स्थित तिप्ल्याङमा कुलायन पूजा गर्ने अनि सबै गाउँले ईस्टमित्रहरुलाई बोलाएर भेट्ने खाना खुवाउने ईच्छा राख्नु भयो । २०११ अप्रिल १८ मा कुलायन पूजा भयो वहाँको नातेदार ईस्टमित्रहरु लगायत धेरै गाउँलेहरु आएर वहाँसँग भेट गर्नु भयो दुःख, सुखका भलाकुसारीहरु भयो । अन्तत कुलायन पूजा सकेर सबैसँग भेटघाट गरेर आफ्नै जन्मथलो बादुक तिप्ल्याङमा २० अप्रिल २०११ मा ९० बर्षको उमेरमा वहाँको देहवसान भयो । वहाँको दुई छोरा र आठ छोरीहरु छन् ।