गण्डकी प्रदेश, म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका, चिमखोला गाउँ धेरै तरिकाले परिचित गाउँ हो । थाली नाचको शुरुवात यही गाउँबाट भयो । यहाँ बुनेको डोको धेरै राम्रो डोको मध्येमा गनिन्छ । साँस्कृतिक रुपमा पनि चिमखोला अगाडि छ । यहाँ चिमखोला मण्डली बजैको थान रहेको कारण मण्डली पुज्न जाने पनि गर्दछन् । साथै यहाँको भुमे पुजाको रौनकनै फरक छ । भुमे पुजेर कालो मोसो लगाउँदै हाँस्ने फरक खालको चलन अझै पनि जीवित छ । भुमे पुजाको बेला जुरेचल्ला खेल, नचिनिने गरि महिलाहरुले टोपा नाच्ने चलन पनि फरक खालको संस्कृति छ— चिमखोलामा ।
जुरे चल्ला, भूमे हँसाउने, टोबा नाच, कलश जुझाउने
ठेला हान्ने, खेलकुद र साँस्कृतिक कार्यक्रमहरु...
(चिम्खोले भूमे पुजा : परदेशीको सम्झनाहरुमा ...)
साथै चिमखोला गाउँ लाहुरेहरुको गाउँ पनि हो । विगतमा यस गाउँदेखि धेरै लाहुरे भए, लाहुरमा समेत चिमखोला गाउँलाई चिनाए । तर अब बिस्तारै चिमखोला गाउँको पहिचान साहित्य क्षेत्रमा पनि हुँदैछ । घरदेश (चिमखोला) बाट परदेश पुगेका ललित तिलिजा पुन मगरले कविता मार्फत आफ्नो भावनाहरु प्रस्फुटन मात्र गरेका छैनन् उनले साहित्य मार्फत गाउँको मेला, पर्म र चिमखोलाका कुना कन्दराहरुमा आफ्नो मनलाई डुलाई रहेका छन् । सिंगो शरीर धेरै टाढा परदेशमा भएतापनि उनको मनको तरेलीहरु सँधै चिमखोला र आफन्तजनहरु माझ घुमिरहेको छ— कविताहरुमा ।
उन्युको फुली उन्युको टपहरुमा सजिएर...
नौ बाजालाई ठाउँ ठाउँमा रोक्दै गाउँदै नाच्दै र फेरी ओराली झर्दै होलान ।
(चिम्खोले भूमे पुजा : परदेशीको सम्झनाहरुमा ...)
समयसँगै गाउँमा जन्मे हुर्केको एउटा ठिटो जति टाढा पुगे पनि आखिर उसको माया गाउँमा नै छ भन्ने ज्वलन्त उदाहरण अमेरिका पुगेका ललितले देखाएका छन् । घरदेशबाट परदेश पुगेर गरेका उनका संघर्षहरु ‘केही सुस्केरा’ कविताहरुमा छताछुल्ल छन् । विरानो देशमा मान्छेनै मान्छेको बीचमा उनले नेपालको चिमखोला खोजिरहेका छन्— जुन कवितामा झल्किरहेको छ ।
नाकको बनावट र छालाको रंग नहेरी व्यवहार गर्छ जो...
विभेदहिन समाजको परिकल्पना गर्ने जाति खोज्दैछु.... !!
(खोजहरु .... )
मान्दिन थे म ‘भगवान छन् भनी...’ विकल्प देखिन अरु
‘प्रभु पाले पुण्य मारे पाप...’ तिम्रै भरमा छन् बा–आमा ।
(बा–आमा)
यसरी ललितका भावनाका तरेलीहरु साहित्यमा छताछुल्ल भईरहँदा पुस्तकारको रुपमा प्रकाशन हुन लाग्दैछ । अझ भावनाहरु छचल्कियोस् । ती भावनाहरुमा गाउँ, नेपाल, परदेशको बसाई र हाम्रो वरपरका रितिथिति/बेथितिका कुराहरु उजागर भईरहोस् । अझ गम्दै कलम चलिरहोस्– साहित्यमा । भन्नै पर्छ— उनले सुन्दर भविष्यको रेखाङ्कन गरेका छन् ।
सोचे जति सुख त हैन... निराश छैन जे होस्
दुःख–सुख जसो तसो चल्दैछ जिन्दगी... !!
(चल्दैछ जिन्दगी... !!)
मेजन
पुनश्च : कविता संग्रह केही सुस्केराहरु... को विमोचनको लागि अमेरिकाबाट कवि नेपाल आएर यही आउँदो चिमखोले भुमेपुजाको बेला चिमखोला गाउँमा नै विमोचन गरिने भएको छ । साथै यो कविता संग्रह विक्री गरेर संकलन भएको रकम सामाजिक क्षेत्रमा नै खर्च गरिने जानकारी ललित तिलिजाले जानकारी गराएका छन् ।