युनेस्कोले नेपालका १५ वटा सांस्कृतिक सम्पदालाई विश्व सम्पदाको संभावित सूचीमा राखेको छ । सन् १९९६ मा अद्यावधिक गरिएको संभावित सूचीमा नेपालबाट पनौतीको मध्यकालीन वास्तुकला परिसर, तिलौराकोट दरवारको पुरातात्विक अवशेष, मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला, गोरखाको मध्यकालीन दरबार परिसर, रामग्रामको भगवान बुध्दको अवशेष भएको स्तुप र खोकनाको प्राचीन बस्ती र यसको तोरी/तेलको औद्योगिक सम्पदा समावेश गरिएका छन् । सन् २००८ मा अद्यावधिक गरिएको संभावित सूचीमा नेपालबाट ९ वटा सम्पदाहरु छानिएका छन् । ती हुन् उपल्लो मुस्तांगको लो-मान्थाङको मध्यकालीन माटाका पर्खालले घेरिएको शहर, साँखुको प्राचीन बस्ती र वज्रयोगिनी मन्दिर, कीर्तिपुरको मध्यकालीन बस्ती, पाल्पाको रुरु क्षेत्रको ऋषिकेश परिसर, नुवाकोट दरबार परिसर, जनकपुरको राम जानकी मन्दिर, तानसेनको मध्यकालीन बस्ती, कर्णालीको सिन्जा उपत्यका र दैलेखको भुर्ती मन्दिर परिसर ।
विश्व सम्पदा मान्यताका हकदार कर्णालीका तीन धरोहरहरुलाइ विश्व सम्पदाको मान्यता दिनु पर्ने तर्फ सम्बन्धित सरोकारवाला सबैको ध्यानाकर्षण गर्ने यो आलेखको उद्देश्य रहेको छ ।
सिंजा उपत्यकाः
मध्कालिन खस राज्यको राजधानी सिंजा उपत्यका नेपालको कर्णाली प्रदेशको जुम्ला जिल्लामा अवस्थित छ । खसपर्बते नेपाली भाषाको जन्मस्थल सिंजा उपत्यका ऐतिहासिक रूपमा महत्त्वपूर्ण स्थान मानिन्छ । खस राज्यका संस्थापक नागराजले निर्माण गरेको खस राज्य १४ औं शताब्दी पछि २२ वटा व्यक्तिगत राज्यमा टुक्रिएको हुनाले यस राज्यलाइ बाइसे राज्य पनि भनिन्छ । यहाँको हिमा नदीको छेउमा प्राचीन बौध्द चैत्य र शिलालेखहरू भएका गुफाहरू छन् । आज पनि धेरैजसो ढुङ्गाका देवलहरुमा मष्टोको पुरानो संस्कार अद्यापि चलिरहेको छ ।
सिंजा उपत्यकालाइ युनेस्को विश्व सम्पदा अस्थायी सूचीमा ३० जनवरी २००८ मा सांस्कृतिक श्रेणीमा थपिएको थियो । विश्व सम्पदा मान्यताका लागि युनेस्कोले साँस्कृतिक सम्पदाका लागि ६ वटा र प्राकृतिक सम्पदाका लागि ४ वटा मापदण्डहरु तोकेको छ । ति मध्य कुनै एक मापदण्ड पूरा गरेका सम्पदाहरुलाइ विश्व सम्पदामा राखिन्छ । यि मापदण्डहरु मध्ये मापदण्ड नम्बर २ र ४ लाइ टेकेर पुरातत्व बिभागले सिंजा उपत्यकालाइ विश्व सम्पदा सूचीमा राख्नु पर्ने जिकीर गरेको छ । मापदण्ड नम्बर २ अनुसार सिंजा उपत्यकाले वास्तुकला वा प्रविधि, स्मारक कला, शहर (योजना वा ल्यान्डस्केप डिजाइनको विकासमा, समयको अवधिमा वा विश्वको सांस्कृतिक क्षेत्रभित्र मानव मूल्यहरूको महत्त्वपूर्ण आदानप्रदान प्रदर्शन गरेको छ । त्यस्तै गरी यो उपत्कालेमापदण्ड नम्बर ४ अनुसार मानव इतिहासमा महत्त्वपूर्ण चरणलाई चित्रण गर्ने स्मारक, वास्तुकला वा प्राविधिक समूह वा परिदृश्यको एक उत्कृष्ट उदाहरणहरु प्रस्तुत गरेको छ ।
तत्कालिन खस राज्य अन्तर्गत रहेका सुर्खेत उपत्यका, काँक्रे बिहारको स्थल र डुल्लु जस्ता धेरै ठाउँहरू छन् जहाँ पुरातात्विक महत्वका विभिन्न संरचनाहरू फेला परेका छन् । युनेस्कोका अनुसार थप अनुसन्धान भएमा यस क्षेत्र पश्चिमी तिब्बत र सिल्क रुटसँग जोडिएको सन्दर्भदेखिने संभावना छ ।
दैलेखमा
अवस्थित भूर्ति मन्दिरः
त्यस्तैगरी विश्व सम्पदाको संभावित सूचीमा परेको कर्णालीको अर्को धरोहर दैलेखमा अवस्थित भूर्ति मन्दिर हो । सन् २००८ मा अद्यवधिक गरिएको सिंजा उपत्यकालाइ जस्तै मुर्ती मन्दिरलाइ पनि मापदण्ड नम्बर २ र ४ लाइ टेकेर पुरातत्व बिभागले सिंजा उपत्यकालाइ विश्व सम्पदा सूचीमा राख्नु पर्ने जिकीर गरेको छ । पश्चिमी नेपालको दैलेख जिल्लामा रहेको भूर्ति मन्दिर परिसरमा २२ वटा स्मारकहरू छन् । यस मन्दिर परिसरको स्थापना र निर्माण कहिले र कसले गरेको हो यकिन जानकारी छैन । मन्दिरहरू पश्चिमी मल्ल वास्तुकलाको विशिष्ट शैलीमा निर्माण गरिएका छन् । खस राज्यको प्रचलन अनुसार शिखर शैलीमा पञ्चदेवल सुक्खा ढुङ्गाको चुनाईमा निर्माण गरिएका छन् । मन्दिर परिसरमा शिलालेखहरु भेटिएका छन । किम्वदन्ती अनुसार महाभारत कालमा पाण्डवहरुले १३ वर्ष वनवास लिनु परेको बेला उनीहरूले यस क्षेत्रमा एक वर्ष बिताएका थिए ।
मुर्ती मन्दिर परिसर दैलेख जिल्ला सदरमुकाम नारायणबाट तीन किलोमिटर उत्तरमा अवस्थित छ। यसमा २२ शिखार शैलीका मन्दिरहरु र एक ढुङ्गाको फोहरा मिलेर बनेको छ ।
मुर्ती देवललाई विभिन्न समूहहरूमा निर्माण गरिएका छन्स् एउटै सिंगो देवल, जोडीहरू दुई देवलाको र पाँचको समूहमा पंचदेवल । मुर्तीका मन्दिरहरूले कुनै धार्मिक सम्बद्धता देखाउँदैनन् । खस मल्ल साम्राज्यको उत्तरार्ध र रास्कोटी वंशको प्रारम्भिक चरणसँग सम्बन्धित अवधिमा यी मन्दिरहरूको निर्माण १३ औं र १५ औं शताब्दीको बीचमा भएको थियो ।
काक्रेबिहारः
सबै दृष्टिकोणबाट विश्व सम्पदा मान्यताको हकदार भए तापनि अहिले सम्म काक्रेबिहारलाइ सिंजा उपत्यका र भुर्ती मन्दिर जस्तै बिश्व सम्पदाको संभावित सूचिमा राखेको छैन । यस सन्दर्भमा कर्णाली प्रदेश सरकारका साथै अन्य सम्बन्धित निकायले अबिलम्ब पहल गर्नु पर्छ ।
नेपालको कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित राजधानी वीरेन्द्रनगरबाट करिब तीन किलोमिटर टाढा सुर्खेत उपत्यकाको दक्षिणी छेउमा अवस्थित छ । काक्रेबिहारको भग्नावशेष स्थल हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित वास्तुकलाका अवशेषहरूको समूहको लागि परिचित छ । काक्रेविहारको समृध्द कलाले यस क्षेत्रमा लामो समयदेखि बौध्द धर्म र सभ्यताको प्रतिनिधित्व गर्नुका साथै सुर्खेत उपत्यका मध्ययुगीन कालमा व्यापारको केन्द्रविन्दुको रूपमा परिचित छ । यो उपत्यकाले उत्तरी हिमाली क्षेत्रलाइ नेपालगन्जको दक्षिणी मैदानमा भारतसँग सीमा जोडेको छ ।
सन् २००३ मा नेपाल पुरातत्व विभागले काँक्रविहार क्षेत्रको उत्खनन गरेको बेला ढुङ्गाको मन्दिरको भग्नावशेष संरचनाको भग्नावशेष सफलतापूर्वक पत्ता लगायो । योगी नरहरीनाथले सन् १९५६ मा आफ्नो अनुसंधानमा काक्रेबिहारका बारेमा संक्षिप्त रूपमा रिपोर्ट तयार पारेका थिए । योगीका अनुसार यो क्षेत्र १२ शताब्दी ईस्वीको समयमा खस मल्ल वंशका शासक अशोक चल्लसँग जोडिएको हुन सक्छ । काक्रेबिहारको शाब्दिक अर्थले विहार जनाउँछ, जहाँ बौध्द मान्यता अनुसार ध्यान उपासनाहरु गरिने थलो भएको बुझ्न सकिन्छ । यस्ता धेरै मूर्तिहरू अहिले नेपाल सरकारको वीरेन्द्रनगर क्षेत्रीय संग्रहालयमा सुरक्षित छन् । काक्रेबिहारले पश्चिमी नेपालमा बौध्द सभ्यताको बिस्तारलाई संकेत गर्दछ ।
शाहकालमा उपेक्षित रहेको कर्णाली प्रदेशको सम्पदा र सभ्यतालाइ विश्वसामु चिनाएर यस क्षेत्रको समग्र बिकासकार्यलाइ तिब्रता दिन सम्वन्धित सरोकारवालाहरुले ढिलो गर्नु भएन ।