२०२५ साल माघ २५ गते म्याग्दी जिल्ला, मराङ गाविस ७ म बुवा भीमबहादुर गर्बुजा र आमा उलमति गर्बुजाको २ छोरा र ३ छोरी मध्ये कान्छा खड्ग गर्बुजालाई भाग्यले ठगे पनि स्वरकै कारण सफल लोक गायक बनाई सालेजो किङको रुपमा संगीत क्षेत्रमा चिनाएका छन् ।
पढ्न छाडेर बसेका खड्ग— भारतीय सैनिकमा भर्ती हुन २०४२ सालतिर गएर फाइनल चरणसम्म पुग्दा छनोट हुन सकेनन् । एक वर्ष त्यतै सर्कसतिर काम गर्दै बिताए । १६ वर्षको उमेरमा गाउँ फर्केर दरबाङ हाईस्कुलमा पढ्न बागलुङ गई ९ कक्षाको किताब किनेर ल्याएछन् । भारतीय सैनिकमा फालिएको मान्छे गाउँमा गल्ला आएको बेला नापिंदा लिएछ । एरोमा देखिन जान १ महिना बाँकी हुँदा पुष महिना गाउँमा भीर बार्ने, घाँस फुकाउने, खर काट्ने चलन अनुसार भीरमा खर काट्न जाँदा अप्ठ्यारो भीरमा लगभग २ सय मिटर तल खसेर दुर्घटना भयो । भीरमा रहेको फिरफिरेको रुखले नअडाएको भए नौलिस्ने खोलामा खसेर शरीर टुक्रा टुक्रा हुन्थ्यो । यो दुर्घटना २०४३ साल पुष ८ गते भएको रहेछ । जुन दुर्घटनाको कारण उनको दुवै खुट्टा चल्न नसक्ने भयो ।
दुर्घटना भएपछि परिवारका सदस्यहरु मलाई आँगनमा पल्टाएर मेलापात गर्न जान्थे । कान्छा बाले मेरो साथी हुन्छ भनेर रेडियो सुन्न दिएका थिए । त्यही रेडियो दिनभरि सुन्दै बस्थें । रेडियो सुन्ने, रेडियोसँगै आँगनमा बसेर गीत गाउने/कराउने गर्दथें— म । रेडियो मेरो साथी बनेको थियो ।त्यसरी गीत गाएको गाउँका मान्छेहरुले सुनेर यो अब पागल हुन्छ तेरो छोरालाई अब धेरै गीत गाउन नलगाई त्यो बहुलाउँछ भनेका रहेछन् । एक दिन बाबा मेरो छेउमा आएर— छोरा भाग्यले भए पनि जेले भए पनि यस्तो भयो । अब चित्त बुझाई धेरै बैरागी नभई भनेर सम्झाउनु भो । तर बरालिएको मन किन मान्थ्यो र । गीत गाउन छाडेन यो मन ।
निगलाबाट माहुरी बाजा बनाएर गीतको साथ त्यो बाजा बजाउँदा राम्रो सुनिने हुँदा गाउँमा रमाईलो गर्नु पर्दा या गीत गाउनु पर्दा मलाई बोकेर लैजान थाले । अलि पछि त मेला, पर्व लाग्नै नहुने त्यता पनि बोक्दै लैजान थाले । गाउँमा तरुनी थुन्ने चलन थियो । तरुनी थुन्दा गीत गाउनु पर्ने, साथीहरुलाई चाहिं गीत गाउन नआउने हुँदा मलाई नै लैजान्थे । गीत गाउँदा कस्तो राम्रो गीत गाएको भनेर रुन्थे पनि । मैले लय रेडियो नेपालबाट सिकेर शब्द आफैले बनाएर गाउने गर्थे । त्यो सुनेर बुढाबुढीहरु धरधर्ती रुन्थे । उनीहरु रुँदा गीत गाउन मलाई अझ हौसला मिल्थ्यो । आफ्नो प्रतिभाले कसैलाई रुवाउँछ/हसाउँछ भने त्यो नै एउटा कलाकारको सफलता नै त हो ।
यसरी हौसला बढ्दै जाँदा आफुलाई पनि रेडियो नेपालमा गएर गीत गाउने चाहना जागेर आयो । पञ्चायतकालीन अवस्थामा अञ्चलाधीश, राष्ट्रिय पञ्चायत सदस्यहरु सबैलाई भेटेर काठमाडौं कुनै संघ, संस्थामा मलाई रोजगारको व्यवस्था मिलाई दिन निवेदन गरे । तर उनीहरुले व्यवस्था मिलाउन सकेनन् । संगीतप्रतिको मोह र रेडियो नेपालमा गाउने चाहनाले गर्दा गाउँले साथीभाई र बाबाले जान नदिंदा नदिंदै पनि म गाउँकै एकजना दाईलाई बोक्न अनुरोध गरि २०४६ सालतिर गाउँबाट विदा भएँ ।
काठमाडौंमा तँ जस्तो अपाङ कति छन् कति, सबैले मागेर खाएका छन् । तँ पनि मागेर खानुपर्छ, दुःख पाउँछस् भो नजा भनेर बाबाले सम्झाउनु भएका ती कुराहरु संगीतको तीव्र मोहको अगाडि केही लागेन । म भीरबाट खसेर अपाङ भएको अर्को वर्ष आमालाई पनि प्यारालाईसिस भयो । घरमा २/२ जना अपाङ भएर बस्दा मेरो परिवार साह्रै विरक्त लाग्दो भयो । त्यसैले पनि प्यारालाईसिस भएको आमालाई धुरुधुरु रुवाउँदै म गाउँबाट हिंडे ।
त्यतिबेलासम्म वरिपरिका गाउँमा म माहुरी बाजा बजाउने/राम्रो गाउने मान्छे भनेर परिचित भईसकेको थिएँ । एक जना दाईले बोकेर दरबाङ आउँदा त्यहाँको हेडमास्टरले मेरो सहयोगको लागि एउटा कार्यक्रम राख्नु भएको रहेछ । बेलुकी खाना खाईसकेपछि कार्यक्रम ग¥यौं । भोलि बिहान हेडमास्टरले ६ हजार हातमा थमाई दिनु भयो । सिंह तातोपानीमा आउँदा त्यहाँ पनि (रेडियो नेपालको पुरानो कलाकार नरबहादुर) कार्यक्रम रहेछ । त्यहाँ पनि रातभरि गीत गाउँदै बस्यांै । भोलि बिहान वहाँहरुले मेरो हातमा ५ हजार थमाईदिनु भयो ।
यसरी सदरमुकाम आएपछि अञ्चलाधीश, सभापतिहरुसँग भेटगरि बिन्ति गर्दा श्री ५ सरकारको सवारी हुन थालेको रहेछ । हतार छ, पछि भेट्न आउनु भनी मलाई झन घरतिर फर्कन लगाए । श्री ५ को सरकार समक्ष वहाँहरु मार्फत बिन्तिपत्र चढाउने मेरो रहर पुरा भएन । एक महिना गाउँ फर्केर बसेपछि पुनः बेनी फर्केर वहाँहरु समक्ष बिन्ति गर्दा वहाँहरुले मलाई कुनै व्यवस्था मिलाई दिनसक्नु भएन ।
Fimala Digital Media