नेपाल लाङ्घाली परिवार गठन भएको ४२ औं वर्ष लाग्दैछ । २०३८ सालमा रुपन्देहीको बुटवलमा तदर्थ समिति गठन भई २०३९ साल फागुन १४ र १५ मा तनहुँको दमौलीमा लाङघाली परिवार संघको स्थापना भएको अवसरमा स्थापना भएको दिनको सम्झना स्वरुप सम्पुर्ण मगरहरुले संघ स्थापना भएको ४२ औं स्थापना दिवस मनाउने क्रममा छ । सोही अवसर पुर्व यस संस्थाका संस्थापक सचिव जयबहादुर हितान मगर बारे केही जानकारी :
लाङ्घाली परिवार संघका संस्थापक सचिव
जयबहादुर हितान मगर बारे संक्षिप्त जानकारी
विजय हितान मगर
जयबहादुर हितानको जन्म वि.सं. २००२ साउन १२ गते का दिन अरेवा, पाँदीअमराई गाविस, वडा नं. १, गुल्मी नेपालमा भएको थियो । बाबा जम्दार पदमसिंह हितान मगर (एमसी) र आमा हस्तीकुमारी हितान मगरका ६ भाईमा छोराछोरी मध्ये उहाँ माइला छोरा हुनुहुन्थ्यो ।
बाबा पदमसिंहका दुई श्रीमती हस्तीकुमारी र गौरी हुनुहुन्थ्यो । दुईवटै आमा रोगव्याधीका कारण अल्पआयुमै जीवन गुमाउनु पर्दा जयबहादुरले सानैमा टुहुरो हुनुप¥यो । ४/८ गोर्खा रेजिमेन्टबाट दोश्रो विश्वयुद्धमा एमसी (मिलिटरी क्रस) बहादुरी कमाउनु भएका बाबा पदमसिंह वर्षमा दुईपल्ट भारत जाने आउने गर्नुहुन्थ्यो ।
उहाँलाई मे महिनामा पल्टनमा भीसी (भिक्टोरिया क्रस) दिवस मनाउन र अगस्त महिनामा दिल्लीमा भारतको स्वतन्त्रता दिवस मनाउन निमन्त्रणा आउँथ्यो । बाबाको फिरन्ते जीवनर र आमाहरुको अल्पायुमै मृत्युले स-साना भाइबहिनीको हेरचाहको जिम्मेवारी जयबहादुरकै काँधमा थियो ।
पहाडको गाउँले परिवेशमा ढुंगामाटोसँग खेल्दै हुर्किनुभयो जयबहादुर । किशोर अवस्थामा पाइला टेकेपछि गाउँघरको दिनचर्या खेतीपाती, घाँसदाउरा, मेलापात गर्दै मेट्रिक स्तरको पढाई सिध्याएपछि उहाँ बाग्लुङ जिल्ला, ग्वालिचौर गाविस, अदुवाबारी गाउँकी प्रेमकुमारीसँग २०२२ सालमा विवाह बन्धनमा बाँधिनुभयो । यी दम्पत्तिबाट अरेवा गाउँमै तीन छोराहरु विजय हितान, अजय हितान र सञ्जय हितानको जन्म भयो ।
शिक्षा र नोकरी
त्यो जमानामा मगर समुदायको युवायुवतीमा हलोकोदालो गर्ने, भारी बोक्ने र झाम्रे गिदाउने परिवेश थियो । तथापि बाबा पदमसिंह शिक्षाप्रेमी हुनुहुन्थ्यो । सन्तानले हलो छोडेर कलमकापी समाउनुपर्छ भन्ने बाबाको मान्यताले जयबहादुरले आफ्नै गाउँको स्कुलबाट प्राथमिक शिक्षा हासिल गर्नुभयो । त्यसपछि माध्यमिक विद्यालय गाउँमा नभएकाले गुल्मी जिल्लाको सदरमुकामन तम्घासमा बसेर २०२० सालमा मेट्रिक (एसएलसी) उत्तीर्ण गर्नुभयो । भनिन्छ, पौंदीअमराई भेगमा म्याट्रिक पास गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । त्यही शैक्षिक योग्यताले जयबहादुरलाई सर्वोदय उच्च प्राथमिक विद्यालय, अमराईमा छोटो समयका लागि प्रधानाध्यापक भएर शिक्षण सेवा गर्ने मौका पनि प्राप्त भयो । भाइबहिनी हुर्किदै थिए । उहाँ पढाउनुका अलावा घरमा गाईवस्तु पाल्ने, खेतबारीमा अन्न उब्जाउनुपर्ने जस्ता दैनिक नित्य कार्यहरुमा पनि सामेल हुनुहुन्थ्यो । शिक्षित युवा भएको नाताले गाउँको सेवा गर्ने सामाजिक उत्तरदायित्व त छँदै थियो ।
जीवनका पारिवारिक र सामाजिक पक्षमा सन्तुलन कायम गर्दै जयबहादुर २०२३ सालमा लोक सेवाको जाँच दिई भुमिसुधार कार्यालयमा निजामति कर्मचारीको रुपमा प्रवेश गर्नुभयो । जनजाति समुदायको संस्कार लाहुर भर्ती हुने परम्परालाई तोड्दै उहाँ श्री ५ को सरकारको कर्मचारी बनेर दैलेखमा खटिनुभयो । त्यसपछि उहाँले मध्य नेपालको विभिन्न ठाउँहरु प्युठान, बाग्लुङ, पाल्पा, तम्घास र भैरहवामा काम गर्नुभयो ।
खरदार पमा भुमिसुधारमा जागिरे भएको १२ वर्षसम्म पनि शैक्षिक योग्यताका बावजुद पदोन्नति नहुँदा २०३६ सालमा जागिरबाट राजीनामा दिनुपरेको तितो सत्य त उहाँको मनमस्तिष्कमा सँधै बिझिरह्यो । तर, आईए पास गरेपछि तम्घास र पाल्पामा कायममुकायम प्रशासन अधिकृत बनेर दुईचार दिन कार्यालय सञ्चालनको अनुभव भने थियो । जनजातिमध्ये नेवारबाहेक अरु कर्मचारी कार्यालयमा नहुने असमान प्रशासन व्यवस्था देखेर उहाँ सँधै चिन्तित बन्नुहुन्थ्यो । उहाँको नोकरीको दौडानमा लेखिएको दैनिकीका अनुसार उहाँलाई प्रायजसो काजमा गाउँगाउँमा खटाइएको पाइन्छ । सधै बाहिर फिल्डमा मात्रै काम गर्दा घामपानीले रुझाउने, प्रतिकुल मौसमको सामना गर्नुृ पर्ने, उकालोओह्राले हिंड्नुपर्ने, खानपिन र सुत्नका लागि राम्रो व्यवस्था नमिल्ने हुनाले धेरैचोटि अस्वस्थ बनेको पनि उहाँको दैनिकी लेखनमा पाइन्छ ।
२०३६ सालमा नोकरी छोडेपछि सामाजिक सेवा र राजनीतिमा खर्लप्पै होमिनुभयो जयबहादुर । २०४६ सालमा प्रजातन्त्र आएपछि नेपाली काँग्रेसको शासनकालमा २०४८ सालमा लुम्बिनी विकास कोषको सदस्य बनाइनुभयो ।
नेपाल लाङ्घाली परिवार पछि नेपाल मगर सं३मा परिणत भयो । त्यसको स्थापनाका लागि बुद्धिजीवी मगरहरुसँग समन्वय तथा परामर्शको कार्य उहाँले नै अगाडि बढाउनुभएको थियो । २०२८/०२९ सालतिर पाल्पाका तत्कालिन सभापति दुर्गाबहादुर राना मगर र बुटवलको मंगलापुरमा बस्नुहुने राजपरिषद सदस्य कविराज पुन मगरसँग उहाँहरुकै निवासस्थानमा गई लाङ्घाली परिवारको स्थापनाका बारेमा छलफल गर्नुभयो । २०३० सालमा काठमाडौं गएर तत्कालिन कर्णेल श्रीप्रसाद बुढाथोकी मगर र माननीय भीमबहादुर बुढाथोकी मगरसँग लाङ्घाली परिवार गठनको सन्दर्भमा वार्तालाप गर्नुभयो । २०३१ मा पाल्पामा मगर विद्यार्थी तथा अन्य बुद्धिजीवीहरुलाई एक जलपान कार्यक्रम भेला गरेर मगरहरुलाई एकताका सुत्रमा बाँध्न अन्तरक्रिया आयोजना गर्नुभयो ।
जयबहादुर हितानले २०३२ सालमा भैरहवा सरुवा भएपछि लाङ्घाली परिवार स्थापनाको जग बसाल्न गृहकार्य तथा पुर्वतयारीलाई दु्रत गतिले अगाडि बढाएको देखिन्छ । भैरहवा निवासी शेरजंग थापा मगर, बुँद राना मगर, अमरबहादुर थापा मगर आदि मगर बुज्रुकहरुसँग क्रमिक कोठे छलफल चलाउनुभयो । जतिबेला जातीय संगठनका बारेमा कुरा गर्दा नै सरकारले साम्प्रदायिकताको आक्षेप लगाएर कानुनी कारवाही गथ्र्यो । यद्यपि आफु सरकारी जागिरे भईकन पनि जानीय संगठनको आवश्यकता अपरिहार्य देखेर २०३२ असार महिनामा कानुङ लाङ्घाली मगराती भाषाको नामले एक संस्थाको गठन गर्नमा उहाँले ठुलो भुमिका निभाउनुभयो । उहाँ पर्दापछाडि बस्नुभयो । उक्त संस्थामा अमरबहादुर थापा मगर अध्यक्ष र बुँद राना मगर उपाध्यक्ष सहितको एउटा कार्यसमिति गठन भयो । कानुनको ज्ञाता भएकोले उहाँले संस्थाको विधानसमेत लेखिदिनुभयो ।
कानुङ लाङ्घाली मगराती भाषालाई २०३७ सालमा कानुङ लाङ्घाली परिवार, रुपन्देही नामाकरण गरियो । जयबहादुर हितान त्यसको सचिव हुनुभयो । उहाँले अध्यक्ष बाबुराम राना मगर, कोषाध्यक्ष मनवीर गर्बुजा मगर इतयादिसँग सहकार्य गर्दै लाङ्घाली परिवारलाई अगाडि बढाउनुभयो । २०३८ सालमा बुटवलमा मगरहरुको पहिलो ऐतिहासिक राष्ट्रिय भेला भयो । त्यसैले लाङ्घाली परिवार संघ तदर्थ समित गठन ग¥यो ।
२०३९ सालमा नेपाल लाङ्घाली परिवार संघ विधिवत स्थापना भयो । त्यसको लगातार तीन कार्यकाल सचिव भएर उहाँ संगठन विस्तारमा खटिनुभयो । हेमबहादुर पुन मगर, सुरेश आले मगर, एमएस थापा मगर, गोरेबहादुर खपाङ्गी मगर, दिलिपसिंह आले मगर, दुर्गाबहादुर राना मगर, बाबुराम राना मगर, मनवीर गर्बुजा मगर, यामबहादुर बुढाथोकी मगर, केशरजंग बराल मगर, डा. हर्षबहादुर बुढा मगर जस्ता राष्ट्रिय स्तरको मगर अग्रजहरुसँग हातेमालो गर्दै उहाँले आफ्नो समाज उत्थानको लागि तन, मन र धन अर्पिनुभयो ।
सन्दर्भ सामाग्री
१) मगर रिन्हाक, हितान विजय, नेपाल मगर लेखक संघ, के.स., काठमाडौं, पृ. ७–२२