नेपाल लाङ्घाली परिवार गठन भएको ४२ औं वर्ष लाग्दैछ । २०३८ सालमा रुपन्देहीको बुटवलमा तदर्थ समिति गठन भई २०३९ साल फागुन १४ र १५ मा तनहुँको दमौलीमा लाङघाली परिवार संघको स्थापना भएको अवसरमा स्थापना भएको दिनको सम्झना स्वरुप सम्पुर्ण मगरहरुले संघ स्थापना भएको ४२ औं स्थापना दिवस मनाउन लागेको अवसरमा यसका संस्थापक ईन्सपेक्टर हेमबहादुर पुन मगरको स्मृतिमा वहाँको छोरा उत्तम पुन मगरको संरक्षकत्वमा हेमबहादुर पुन स्मृति प्रतिष्ठान गठन हुन लागेको छ । र, उनै संस्थापक हेमबहादुर पुन मगर बारे केही जानकारी :
गौरवपूर्ण इतिहास
हेमबहादुर पुन मगर
मेजन पुन मगर
पारिवारिक पृष्ठभूमि
वि.सं. १९७५ बैशाख ६ गते म्याग्दीको तत्कालिन शिख गाविस वडा नं. ३ हाल अन्नपुर्ण गाउँपालिका स्वातमा बुवा जंगबहादुर पुर्जा मगर र आमा हुलामाया पुन मगरको दुई छोरी र तीन भाई छोरा मध्ये कान्छा छोराको रुपमा हेमबहादुर पुन मगरले जन्म लिनुभएको थियो ।
हेमबहादुर पुनका एक श्रीमति शर्मादेवी पुन मगरबाट ८ छोरा/बुहारी, नाति ११, नातिनी ७, नातिनी बुहारी ७, पनाति ७ र पनातिनी ५ गरी जम्मा ५३ जनाको परिवारमा ५ जनाको देहान्त भएर हाल ४८ जनाको परिवार छ । उहाँको माहिला छोरा उत्तम पुन मगर भुपु सहायक मन्त्री, पुनर्वास आयोगका अध्यक्ष एवम् कास्की जिल्लाका प्रधानपञ्च समेत बन्नु भएको थियो ।
विश्व युद्धका योद्धा
धौलासिरीको पहाडी भेगमा जन्मनु भएका हेमबहादुर पुन मगरमा भर्ती हुने रहर होइन, बाध्यता थियो र गाउँबाट ठिटाहरुझैं ब्रिटिश आर्मीमा सन् १९३५ मा २/८ गोर्खा राईफल्समा भर्ती हुनुभएको थियो । आर्मी जीवनमा विविध टे«निङहरु लिएर दोश्रो विश्व युद्धमा बर्मामा एक्टिङ जम्दारको पदभार सम्हाल्दै युद्ध मैदानमा होमिनु भएको थियो ।
युद्धमा कति मरे/कति हराए । त्यो नरसंहारयुक्त युद्धदेखि बचेर सन् १९४५ मा कम्पनी फर्कदा उहाँको जम्दार पद नै खोसियो । कति दुःख गरेर लडाई लडेपश्चात पद नरहेपछि त्यसरी चाकडी गर्नुभन्दा आफ्नै देश फर्कन्छु, आफ्नै देशको सेवा गर्छु भन्ने भावना पलाएपछि उहाँ अवकाश लिएर नेपाल फर्कनु भयो ।
शाही नेपाली सेनाका अधिकृत
ब्रिटिश आर्मीबाट अवकाश आएपश्चात हेमबहादुर पुन नेपाल आर्मीमा सेकेण्ड लेफ्टिनेन्टमा भर्ती हुनुभयो । त्यतिबेला सेनामा बन्दुक चलाउन नजान्नेहरु पनि भर्ती हुन्थे तर उहाँ त ब्रिटिश आर्मीमा विविध तालिम लिई विश्वयुद्ध लड्नु भएको व्यक्ति भएका कारण गाह्रो हुने कुरै थिएन, सजिलै नेपाली सेनाको उच्च पदमा भर्ती हुनुभयो । यो कुरा २००६ सालतिरको हो । नेपाली सेनामा ११ महिना कार्य गरेपश्चात राजा श्री ५ त्रिभुवन भारत प्रस्थान गरेको हुँदा आर्मीमा अन्योलता छायो । कसैले श्री ५ ज्ञानेन्द्र राजा भएको हुँदा उनैलाई राजा मान्ने भन्ने कुरा त कसैले राजा श्री ५ त्रिभुवनलाई नै मान्नुपर्छ भन्ने तर्कहरु चलेका कारण उहाँ लगायत आर्मीका २७ जनाले नोकरीलाई माया मारेर श्री ५ त्रिभुवनलाई के कसो गर्ने भनेर बुझ्न दिल्लीतर्फ लाग्नु भयो ।
क्रान्तिका सेना
दिल्लीमा राजा श्री ५ त्रिभुवनसँग दर्शनभेट गरेपश्चात राणा शासनविरुद्ध हेमबहादुर पुन जनक्राान्तिमा वीरगञ्जको मोर्चामा संलग्न हुनुभयो । क्रान्तिमा जीबी याक्थुम्बा, पुर्णसिंह खवास, बीपी कोइराला, हिलमानसिंह थापा, सुवर्ण शम्शेर आदिव नेताहरुसँग उहाँको भेट भइरहन्थ्यो भने विराटनगर गोश्वारा हुलाकमा आफ्नो कमाण्डिङमा १४ दिनसम्म आक्रमण गरी अन्त्यमा सो ठाउँ कब्जा गर्न सफल हुनुभयो ।
२००७ सालको प्रजातन्त्र पश्चात राजा श्री ५ त्रिभुवनको पहिलेदेखि काम गरिरहेका सबैलाई सोही पदमा पुनर्वहाल गरे । यसरी मुक्ति सेनामा संलग्न हेमबहादुर पुन मगर २००८ सालमा क्याप्टेन पदमा पदोन्नति हुनुभयो ।
नेपाल प्रहरीका इन्सपेक्टर
२०१२ सालमा श्री ५ को सरकारले आर्मीमा रहेकाहरु पुलिसतर्फ र पुलिसमा रहेकाहरुलाई आर्मीतर्फ जान सकिन्छ भन्ने नियम ल्याएपश्चात आर्मीमा भन्दा पुलिसतर्फ गई कार्य गर्न इच्छुक रहेको हुँदा हेमबहादुर पुनले पुलिसतर्फ स्थानान्तरण भई इन्सपेक्टर पदभार सम्हाल्नु भयो ।
प्रहरीको काम राम्रो हुन्छ भन्ने लागेको उहाँले वास्तवमा त्यस्तो नहुँदो रहेछ भन्ने कुुराको अनुभव गर्नुभयो । उहाँलाई पुलिसको काम धेरै फोहोरी रहेछ भन्ने लाग्यो । नेपाल प्रहरीमा जसले चाकडी गर्न सक्यो, उसैको प्रमोशन हुने वातावरण थियो । यो प्रथा अहिले झन मौलाएको छ । र, यो सबैभन्दा ठुलो मन्त्र पनि थियो तर आफु लाटो, यो मन्त्रदेखि अनभिज्ञ प्रमोशन कसरी हुन्छ, कुनै मतलब पनि भएन । उहाँ आफ्नै कार्यमा व्यस्त हुनुभयो । त्यही मन्त्र प्रयोग गरी उहाँभन्दा जुनियरहरु एसपी, एसएसपी बने उहाँ चाहिं जिल्ला जिल्ला चहार्नमै व्यस्त हुनुभयो ।
जिल्ला जिल्लामा सरुवा गरिदिँदा अरु चाहिं कसैले श्रीमती डेलिभरीको बेला, कसैले मेरो छोरा अस्पतालमा भर्ना छ भन्दै सरुवा टार्ने गर्थे । उहाँ सोझो मान्छे, डुल्दा अरुको छोराछोरीले एम, पीएचडी गर्दा उहाँका छोराहरुले राम्रोसँग वातावरण नै पाएनन् ।
प्रहरीमा कार्य गर्ने क्रममा घुस लिनेदिने, चाकडी गर्नेदेखि आफ्नो मान्छे भएपछि जागिरसमेत पाउँथे । त्यो वातावरणदेखि वाक्क भई आफ्नो जागिरदेखि धिक्कार लागेको कुरा हेमबहादुर पुनले बताउनुभएको थियो । आफ्नो कामप्रति कर्तव्यनिष्ठ भई आखिरमा वि.सं.२०३१ सालमा इन्सपेक्टर पदबाट नै उहाँले अवकाश लिनुभयो ।
लाङ्घाली परिवार संघमा संलग्नता
शाही नेपाली सेनामा रहँदादेखि ढलकप्रताप राना मगरको घरमा अफिस राखेर मगरहरुको हकहितका लागि एकजुट गर्ने प्रयास गरिरहनुभएको थियो । त्यतिबेला क्याप्टेनले ५ रुपैयाँ, लेफ्टिनेन्टले ५ मोहर, सुवेदारले १ रुपैयाँ र सिपाहीले ४ आना आर्थिक संकलन गरी ढलकप्रताप राना मगरलाई सचिव बनाई कार्यालय चलाउने व्यवस्था मिलाएका थिए ।
त्यसरी मगरहरुलाई एकत्रित गर्न शुरु गर्ने क्रममा आर्मीमा भएका मगरहरुले पनि एकतन्त्रीय राणा शासन देखिनसक्नुभएको थियो र जमघट हुन डराउनुहुन्थयो । यसबाट उहाँले आफुलाई अप्ठ्यारो भएको कुरा बताउनुभएको थियो । जमघट गर्न डराउने मगरहरुलाई जागृत गर्न गाह्रो परेको कुरा पनि उहाँले स्वीकार्नुभएको थियो । र, नेपाल प्रहरीबाट जिल्ला जिल्ला सेवा गर्ने क्रममा पनि सम्बन्धीत जिल्लामा रहेका मगरहरुलाई उहाँले चेतनशील बनाउने प्रयास गरेको कुरा बताउनु भएको थियो ।
वि.सं. २०३१ मा अवकाशपश्चात मगरहरुलाई जागृत बनाउने कार्यमा झन् तिव्रा दिन था(ल्नुभयो । सोही कारण अञ्चलाधीशहरुले बेलाबखत बोलाएर पेन्सन रोक्का गरिदिनेसम्मका कुरा सुनाउँदै हप्काउँथे । यसरी संगठन खोल्दै हिंड्ने अधिकार तपाईलाई कसले दियो ? भन्ने प्रश्नको उत्तरमा भन्नुहुन्थ्यो ‘यसो गर्नलाई श्री ५ को सरकारको स्वीकृति छ ।’ जेजस्ता स्पष्टीकरण सोध्ने काम भएतापनि ‘आफ्नो जातिका भाषा, भेषभुषा, संस्कृति हराउँदै गएको हुँदा जातिको अस्तित्वका लागि खोजीनीति गर्न यसरी संगठन गरेको हो । म स्यवम श्री ५ को सरकारको उच्च पदस्थ इन्स्पेक्टर पदजस्तो गरिमामय पदबाट अवकाश आएको व्यक्तिले पञ्चायत व्यवस्था विरुद्ध किने संगठन गर्ने ?’ भन्दै उनीहरुलाई गरेको प्रतिप्रश्नले चित्त बुझ्दा उहाँलाई यस्ता काम गर्न छाडिदिन्थे । यसरी हिंड्ने क्रममा पेन्सन थापेको पैसा १५÷२० हजार रुपैयाँ नै समाप्त हुन्थ्यो र खाली हात घर फर्कदा धेरै पटक श्रीमतीको हप्काई खाएको कुरा पनि सुनाउनुहुन्थ्यो ।
वि.सं. २०३८ सालमा बुटवलमा आयोजित नेपाल लाङ्घाली परिवार संघको प्रथम केन्द्रीय तदर्थ समितिको अध्यक्ष र २०३९ मा तनहुँमा आयोजित प्रथम राष्ट्रिय महाधिवेशनपछि प्रथम केन्द्रीय अध्यक्ष भई वि.सं. २०४२ साल सम्म नेतृत्वदायी भुमिकामा रहेर हेमबहादुर पुन मगर समाजसेवामा जुट्नु भएको थियो ।
नेपाल लाङ्घाली परिवार संघ खोल्नुको कारण
ब्रिटिश आर्मीमा गुरुङ, मगरको १६ पल्टन र राई, लिम्बु, क्षेत्रीहरुको ४ पल्टन हुँदो रहेछ । १६ पल्टनमा गुरुङ र मगरलाई बराबर मात्रामा भर्ती गरिंदो रहेछ । गुरुङहरु एक जात मात्र भए भने मगरहरु आले, राना, थापा र पुन गरी चार प्रकारका हुने भए । त्यसरी मगरहरु धेरै हुँदा गुरुङहरुले मगरहरुलाई फुटाउन राना, थापा र आलेहरुसँग ‘पुनहरु मगर जातका होइनन् ।’ भनिदिन्थे । अन्य मगरहरु मगर भाषा बोल्थे तर पुन मगरहरु मगर भाषा बोल्न जान्दैनथे । उनीहरुले ‘पुनले पुनलाई नै विहे गर्छन् त्यसैले उनीहरु पानी नचल्ने जातका हुन् ।’ भन्दै कम्पनीभरि पुन मगरहरुको मोरल डाउन समेत गरिदिएका थिए ।
पदोन्नतिका क्रममा पनि बाठा गुरुङहरु आफ्नाआफ्ना मान्छेहरुको पदोन्नतिमा ध्यान दिन्थे भने धरै कम मात्रामा मात्रै मगरहरुको पदोन्नति गरिन्थ्यो । त्यही पनि बक्सिङ, फुटबलजस्ता खेलमा राम्रो खेल खेलेवापत ।
पुनले पुनलाई नै विवाह गर्ने विषय अगाडि आउँदा पुनभित्रको उपथर बेग्लाबेग्लै भएपछि मात्र विहे हुन्छ भन्ने कुरा कम्पनी कमाण्डरलाई समेत भन्नु परेको थियो । त्यसरी असत्यले सत्यलाई कहिल्यै छेकेर राख्न सक्दैन । सत्यको एकपटक अवश्य जीत हुन्छ । कम्पनीमा फैलिएको भ्रम हटाउन रिपोर्टिङ गर्दा सत्य कुरा त सामुन्ने आयो तर हेमबहादुर पुनले आफ्नो बिल्ला गुमाउनुप¥यो ।
लाहुरदेखि नै मगरहरु एक हुनुपर्दो रहेछ भन्ने कुराले उहाँलाई घचघच्याएको हुँदा शाही नेपाली सेनामा सेवारत रहँदादेखि नै उहाँले मगरहरुलाई एकत्रित गर्न पहल गर्नुभएको थियो । त्यसैको प्रतिफल हो नेपाल लाङ्घाली परिवार संघ ।
मुक्ति प्रक्रियाहेमबहादुर पुनले भन्नुभएको थियो— ‘धेरै लामो छ तर असम्भव चाहिं छैन । आन्दोलनकर्ताहरु निरन्तर रुपमा सकारात्मक बाटोतर्फ अग्रसर रहनुपर्छ । हामीमा चेतना हुनु जरुरी छ, साथमा योग्यता पनि । योग्यता मात्र भएर केही हुँदैन । पढेर ज्ञान हासिल गरेपश्चात गहिरिएर समाजका लागि केही समय दिन सक्यौं भने हाम्रो जातिको विकास अवश्य हुन्छ । यसलाई कसैले रोक्न सक्दैन ।’ उहाँ मगर जातिका विषयमा थप्नुहुन्थ्यो, ‘आखिरमा समाज भन्नु नै तपाई हाम्रो समुह नै हो । भावी पिढीका लागि हामीले नै केही समय आवश्य छुट्याउनुपर्छ । यति गरे मात्र भविष्यमा मगर पनि यो देशको प्रधानमन्त्री बन्न सक्छ ।’ उहाँका यिनै विचार र कार्यहरुबाट नै मगर जातिको मुक्ति प्रक्रिया अङ्कुराएको हो ।
कालरात्रीका जोखमपूर्ण बाटाहरुमा समेत मार्गदर्शन गर्दै मगरहरुको हितका लागि एक सच्चा मार्गदर्शन गर्दै मगरहरुको हितका लागि एक सच्चा पथप्रदर्शक बन्नु भएका अग्रज समाजसेवी हेमबहादुर पुन मगरका योगदानहरुको कदर गर्दै समाजले उचित सम्मान दिनुपर्छ । समाजप्रति मरिमेटेर लाग्ने उहाँहरुजस्तो त्यागी व्यक्तित्वहरुको कार्यहरुकै प्रतिफलस्वरुप अहिलेका मगर संघले प्रष्फुटन हुने मौका पाएको हो । यो कुरा हामीहरुले बुझ्नुपर्दछ । जस मगर ।
सन्दर्भ सामाग्री
१. फिमला पत्रिका, अंक ३, २०५९ (पुष–फागुन)
२. कानुङ् लाङ्घा, मगर संघ युके, सन २०२२, अंक १७, पेज : ५२–५५