१.१ राम्चे गाविस हाल अन्नपुर्ण गाउँपालिका अन्तर्गत काफलडाँडाको महभीर करबाकेली बाबा अर्थात पुन मगरहरुको कुलको बसोबास स्थलको नाममा प्रचलित छ । यसैकारण काफलडाँडाको रामचन–कुलचन डाँडामा करबाकेली बाबाको राष्ट्रिय स्तरको थान निर्माण भईरहेको छ । र, आख्यान अनुसार करबाकेली बाबाको जेठा छोरा रामचन हिंड्ने/डुल्ने ठाउँ भएको हुँदा रामचनको नामको अपभं्रशबाट राम्चे भई यस गाउँको नाम रहन गएको हो । (करबाकेली अनुसन्धान समितिद्वारा प्रकाशित पुस्तक : करबाकेली, अंक १ र २) अन्य एतिहासिक तथ्य नभएको अवस्थामा र राम्चे गाउँ नामांकन रहन गएको अन्य आधार नपाइएको अवस्था र राम्चे गाउँका अधिकांश पुन मगरहरु आफ्नो कुल करबाकेलीलाई मान्दै कुल पूजा पुज्ने गर्दछन् । यसै तथ्यलाई आधार मानेर यस गाउँको नाम उनै करबाकेली बाबाको जेठा छोरा रामचनको अपभ्रंश नामबाट राम्चे बनेको हो भन्ने आधार दिन सकिन्छ । नेपालमा विभिन्न स्थानको नाम स्थानीय भाषामा राखिएका कतिपय नामहरु परिवर्तन भएका छन् वा गरिएको छ । रामचन देखि राम्चे पनि यसरी नै परिवर्तन भएको हो भन्न सकिन्छ ।
१.२ यस राम्चे गाउँमा कहिलेदेखि मानिसको बसोबास शुरू भयो यकिन गर्न गाह्रो छ । तर करीब ई.स. १७३०–१७४० (२७०–२८० वर्ष) साल अगाडि यस गाउँमा घराम्दीबाट गर्बुजा, खिवाङबाट गर्बुजाको कान्छा छोरा (नाम थाहा नभएको), दग्नाम/दर्मिजाबाट गर्बुजा, शालिजाबाट गर्बुजा, औलोबाट पूर्जा, क्याङबाट पूर्जा, रिमबाट गर्बुजा पतका पुनहरु आएर बसोबास शुरु गरिएको इतिहास बुढापाकाले अहिले पनि भन्ने गरेको पाइन्छ । (बुढापाकाको भनाई अनुसार)
यी माथि उल्लेखित गाउँबाट मानिसहरु आएर बसोबास शुरु गर्नु भन्दा अगाडि यो ठाउँ पुन मगरहरुको कुल– रामचन, कुलचनले मनोरञ्जन गर्ने, आराम गर्ने, फलफूल/खाजा खाने र शिकार खेल्न जानु भन्दा अगाडि आएर पूजा गर्ने थपना अर्थात देउको लागि पूजा गर्ने स्थलको रुपमा प्रचलित रहेको थियो । बनमा शिकार खेल्न जानको लागि यस स्थलमा फुलपाती चढाएर जाँदा लाभ हुने हुँदा यो बिशेष आदार स्थल बन्न गयो जुन कुरा गाउँलेलाई अवगत भएको र यसै तथ्यलाई आधार मानेर माथि उल्लेखित ठाउँबाट आएका मानिसहरुले यस स्थलको नाम राख्ने क्रममा सबैको सल्लाह अनुसार करबाकेलीका जेठा छोरा रामचन राख्ने निर्णय गरे कालान्तरमा रामचनबाट राम्चे रहन आएको हो । धेरै पछि मात्र यस गाउँमा पाक्दारबाट तिलिजा र पाखापानीबाट पाईजा उपथरका पुनहरु आएर बसोबास शुरु गरेको इतिहास छ । यसर्थ यो गाउँ अन्य पुन मगर बसोबास स्थल भन्दा पछि गाउँको रुपमा बसोबास शुरु भएको उच्च स्थलमा बसोबास रहेको गाउँ हो भनेर पनि भन्न सकिन्छ ।
वनतिर कुनै काम गर्न जाँदा वा शिकार खेल्न जाँदा कुनै स्थान, थपना वा दरदेउतालाई राम्रो फलको लागि सम्झना स्वरुप ध्वजा, फुल, फुलपाती चढाएर वन पस्ने चलन राम्चे गाउँमा मात्र होइन पुन मगरहरु बसोबास गर्ने सबै गाउँहरुमा अझै पनि गर्ने गरिन्छ । भीर मह काढ्न शुरु गर्दा पनि त्यस स्थानको छेउनेभेउने, दरदेउताहरुलाई धुपदिप हालेर सस्मरण गरेर मात्र मह काढ्ने कामको शुरुवात गर्ने गरिन्छ । यसको अर्थ दरदेउताहरुले राम्रो गरिदेऊ भन्नु नै हो । साथै कुनै स्थानमा केही काम गर्दा सम्झना गरिएन भने त्यस स्थानले पिरोल्ने गर्दछ । यदि पिरोल्यो (नराम्रो) भने सम्झना गरे पुग्दछ ।
१.३ राम्चे गाउँलाई चारैतिरबाट दरदेउताका थानहरुले घेरेर राखेको ठाउँको रुपमा पनि हेर्ने गरिन्छ । पूर्वमा गरेपको थान, पश्चिममा देउरालीको थान, उत्तरमा डाँडाको भुमे–भुमेनी/कमलजैसी थान र दक्षिणमा गाममुनीको भुमे–भुमेनी/छहरेको थान गरि गाउँलाई देउताले चार किल्लाले घेरेर राखेको एक पवित्र स्थलको रुपमा रहेको पाउन सकिन्छ ।
२. राम्चे गाउँको क्षेत्रफल र जनसंख्या
राम्चे गा.वि.स. उच्च पहाडी क्षेत्रमा अवस्थित छ । यस गाविस अन्तर्गत राम्चे गाउँ ९ सय हेक्टर क्षेत्रफलमा फैलिएर रहेको छ । यो गाउँ २२४८ मिटर देखि ३२५८ मिटर उचाई सम्म फैलिएर रहेको छ । यस गाउँको सिरानमा रहेको मोहरे डाँडा भाल्से अर्थात ल्य mभल बिलम अन्तर्गत पर्दछ । अर्थात मोहरे डाँडा अन्य गाउँसँगको सिमाना अन्तर्गत पर्छ । यो सदरमुकाम बेनीदेखि ६ कोश उत्तर दिशामा पर्दछ । मेङ्डी वा म्याग्दीको सदरमुकाम बेनी बजारदेखि हिंडेर ६ देखि ८ घण्टामा राम्चे गाउँ पुग्न सकिन्छ भने नाङ्गी पुग्नको लागि महभीर गाउँ, बाँसखर्कदेखि महभीर वा लोप्रे अथवा फलामे डाँडा हुँदै जान सकिन्छ । अहिले मोटर बाटो पुगेको हुँदा फलामे डाँडा हुँदै ५–६ घण्टामा राम्चे गाउँ पुग्न सकिन्छ । हिंड्ने मान्छेहरू कालीगण्डकीको तिर बैसरी र रिठाबोटदेखि हिंड्ने मान्छेहरु ३–४ घण्टामा गाउँ पुग्न सक्छन् । यस गा.वि.स. अन्तर्गत नाङ्गी, राम्चे, काफलडाँडा, थपना, थाबन, बैंसरी, धारापानी, औलो, महभीर गरि विभिन्न नामांकन भएको ठाउँमा मानिसहरुको बसोबास स्थल रहेको छ ।
उहिले उहिले यातायातको अभावको कारण शहरी क्षेत्र पोखरा, बटौली पुग्न गाउँदेखि निकै हिंडेर जानु पर्दथ्यो । हाल यातायातको सुविधा पुगेको भए पनि उच्च पहाडी भेगतिर वर्षा याममा यातायात शुन्य नै हुन्छ । यो गाविसमा अधिकांश मगरको बसोबास रहेको छ । मगरहरू उच्च पहाडी क्षेत्र जहाँ चोखो खानेकुरा र चोखो पानी सबैभन्दा पहिले खान पाइन्छ भन्ने सोंचाईले त्यस्तै ठाउँ रोज्दै/खोज्दै पुगेका हुन् भन्ने कुरा सत्यताको धेरै नजिक मगर बसोबास भएको स्थानहरुलाई हेरे पुग्दछ । यो सबै मगर बसोबास गरिरहेका स्थानहरुलाई हेर्दा महसुस पनि गराउँदछ । यस गाउँमा मगर जाति अन्तर्गत पुन मगर भित्रको उपथर (पत) पूर्जा, गर्बुजा, तिलिजा, पाईजा र पुन (पहरे) जातिको बसोबास रहेको छ । यस गाउँको १ सय २८ घरधुरीबाट कुल जनसंख्या ६ सय १५ मध्ये महिला ३ सय १९ र पुरुषको जनसंख्या २ सय ९६ रहेको छ । यस गाउँमा बसोबास गर्ने व्यक्तिहरुको पेशा कृषि, पशुपालन र विदेशमा नोकरी गर्न जाने रहेको छ ।
३. भैगोलिक स्थिति
राम्चे गा.वि.स.को दक्षिणतर्फ पर्वतको वनभरे गाउँ, पूर्वतर्फ नाङी, पश्चिमतर्फ काफलडाँडा गाउँ र उत्तर तर्फ घोरेपानी गाउँको सिमाना रहेको छ । यस गाउँको शिरमा रहेको डाँडाबाट धौलागिरी हिमश्रृखलाहरु धेरै राम्रोसँग देख्न सकिन्छ ।
यो गाउँको सिरानतिर अधिक वनजंगल र खुला चौरहरू छन् । तीन पोखरी, बाछा चरण, टोट्ने, चल्लेको खर्क, सिटेनी खर्क, हाम्रो मेला खर्क, थार्काराको खर्क, डाँडा खर्क र ढुङा गारेको खर्क यस गाउँको मुख्य खर्कहरू हुन् । यस गाउँभित्र काली ताल नाम गरेको रमणीय ताल अवस्थित छ । यो गाउँ भित्र छहरेको छहरा, भगुवा खसे छहरा, गुन्थली छहरा र उडाउने छहरा नाम गरेको छहरा बग्ने गर्दछ । राम्चे गा.वि.स. र हिस्तान गा.वि.स. बाट बग्ने खोला पुङ्दीबाट विद्युत उत्पादनको सम्भावनालाई नकार्न सकिन्न ।
पर्यटकलाई आर्कषण गर्ने स्थलको रुपमा यस गाउँलाई विकास गर्न सकिने देखिन्छ । मोहरे डाँडालाई पर्यटकीय स्थलको रुपमा मागासेसे पुरस्कार प्राप्त समाजसेवी महाविर फगामीले विकास गरिरहेका छन् । अझ खान–बस्न राम्रो व्यवस्था मिलाउन सक्ने हो भने यो गा.वि.स. को सम्भावना अझै देखिन्छ । यसो गर्न सके पर्यटकहरू गाउँको परिवेशमा रमाउनुको साथै लालीगुराँसनै लालीगुराँसको वनमा रमाउँदै धौलागिरी हिमश्रृखलाको आवलोकन गरि एक्याप अन्तर्गतका पर्यटकीय स्थलमा पुग्न सक्ने ढोका बन्न सक्छ ।
४. गाउँको बनावट
मानिस सामाजिक प्राणी भएको हुँदा ऊ समाजमा एक अर्काको सद्भाव र सहयागमा बाँचेको हुन्छ । राम्चे गाउँ भित्र घरहरु प्रायः नजिक नजिक बनाइएको छ । मानिस चेतनशिल सामाजिक प्राणी भएको हुँदा एक आपसमा सहयोग आदान प्रदान गर्न र मिलेर बाँच्ने चाहनाले घरहरु नजिक–नजिक निर्माण भएका हुन् । आज भोलि जनसंख्या बढ्दै गएर गाउँदेखि अलि टाढा घरहरु निर्माण हुन थालेको छ । राम्चे गाविस कालिगण्डकीको फेददेखि मोहरे डाँडा, हिस्तान गाविसको सिमाना र पर्वत जिल्लाको वनभरे गाउँको सिमानासम्म फैलिएर रहेको छ ।
५. घरको बनावट
पहिले माटोले लिपेको घरहरू निर्माण गरिएको हुन्थ्यो । तर हाल धौलागिरीमा बसोबास गर्ने प्रायः सबैको घर ढुङाद्वारा निर्माण गरिएको हेर्दै लोभ लाग्दो प्रकारले बनाइएको पाइन्छ । धौलागिरीमा ढुङाको घरले काठ र माटोको घरलाई प्रतिस्थापन गरिदिएको छ । जसले गर्दा प्रायः सबैको घर एकैनासको ढुङाले निर्माण गरिएको पाइन्छ । जसको भित्र पट्टि माटोले पोतिएको हुन्छ । आजभोलि सिमेन्ट र जस्ता पाताहरू प्रयोग गरि ढुङाको घरलाई प्रतिस्थापन पनि गरिरहेको छ । तर मगरहरूको परम्परागत घर भनेको माटोद्वारा निर्माण गरिएको गोलो घर नै हो । गोलो घर पनि गरेङले बारेको (निगालालाई दुई कोप्टेरो पारेर च्याप्टो बनाई माटो लिपेर बनाएको झ्याल नभएको एकताले डल्ले वा घुमाउने घर) हुन्थ्यो ।
क्या. भक्तसिंह गर्बुजा मगरद्वारा तयार गरिएको राम्चे गाउँको चिनारी पुस्तकबाट