Fimala Digital Media
एउटा सानो राज्य गोरखाबाट सन १७४३ (वि.सं. १७९९) देखि गोरखाका राजा पृथ्वीनारायण शाहले शुरु गरेको राज्य बिस्तार अभियान अन्तर्गत सन १७६९ ((वि.सं. १८२५) मा नेपाल खाल्डो विजय गरे पछि गोरखाबाट राजधानी काठमाडौं सारेर नयाँ बिस्तारित राज्यलाई नेपाल भन्न थालेतापनि राज्य बिस्तार गर्नको लागि विभिन्न जातजातिको संगठित गोरखाको विजयी फौजलाई गोरखाली नै भनियो । यो गोरखाली फौजले सन् १८१४ (वि.सं. १८७०) सम्म पुर्वमा टिस्टा नाघेर सिक्किमसम्म राज्य बिस्तार गरि चीनसँग र पश्चिमतिर सतलज नदी तरेर पञ्जाबका महाराज रणजित सिंहको सिख फौजसित भिड्ने भैसकेका थिए । गोरखालीहरुले यो राज्य बिस्तार अभियान अन्तर्गत देखाएको पराक्रम र रणकौशलकै कारण ईष्ट ईण्डिया कम्पनीको अंग्रेज साम्राज्य बिस्तार गर्ने योजनालाई असर पारेको थियो । यसर्थ सन् १८१४ मा विभिन्न बहाना बनाई झगडा गर्ने नीति अवलम्बन गर्न थाले । अन्ततः नेपाल र अंग्रेजको युद्ध भयो । यस युद्धमा नेपाली फौजतिर १६ हजार भन्दा कम संख्या थियो भने अंग्रेजतिर ४६ हजार ६ सय २९ थियो । जसमा नेपालको हार भयो । सन् १८१६ (वि.सं. १८७२, पुष) को मार्च महिनामा सुगौली सम्झौता पछि गोरखालीहरुको पराक्रम र रणकौशलबाट प्रभावित भएका अंग्रेजहरुले उनीहरुलाई फौजमा भर्ती गर्न सम्झौता गरे । तर शुरुवात भने सन् १८१५ अप्रिलमा कुमाउ–गढवाल युद्धमा पराजयपश्चात युद्धबन्दी बनाइएका केही गोरखाली सेनालाई लिएर सिरमुर बटालियन र नासिरी बटालियन खडा गरिसकेको ईतिहास छ ।
यसरी गोरखा राज्यबाट नेपाल र नेपालबाट पूर्व–पश्चिम क्षेत्रमा रहेको अन्य राज्य बिस्तारमा प्रयोग भएका सोझा पहाडी जनजाति लडाकुहरु गोरखालीबाट गोर्खा वा गुर्खामा रुपान्तरित भएका हुन् । आफ्नो शासनलाई डग्न नदिन ब्रिटिसलाई खुशी पार्ने उद्देश्यले त्यतिखेरका राणा शासकहरु बिशेष गरि वीर शमशेर र चन्द्र शमशेरले केही थान बन्दुकको लागि आफ्नो स्वार्थ अनुकुल भर्ती नीति बनाएर ठाउँ–ठाउँमा भर्ती केन्द्र खोलेका थिए । उनीहरुले उर्दी नै लगाएर वा भर्ती हुन नचाहनेलाई सेना नै प्रयोग गरि राणा सिपाहीहरुले बलजफ्प्ती समातेर भर्ती गर्न पठाउने गरेका थिए । अंग्रेजहरुले नेपाली समाजको अध्ययन गरि मतुवाली जातिका मानिसहरुलाई मात्र फौजमा भर्ती लिने नीति बनाएका थिए । मतुवाली मध्ये पनि बिशेषतः मगर–गुरुङ उनीहरुको प्राथमिकताको सूचीमा सबैभन्दा अगाडि थिए । पछि गएर मात्र राई र लिम्बु जातिले ब्रिटिश सेनामा प्रवेश पाएका हुन् । जातिगत आधारमा गोरखा ब्रिगेडका १० वटा रेजिमेन्टलाई विभाजित गरिएको थियो । जस अनुसार पहिलोदेखि छैठौ तथा आठौ गोरखा रेजिमेन्टमा मगर तथा गुरुङहरुको बाहुल्यता थियो भने सातौ र दशौ गोरखा रेजिमेन्टमा राई र लिम्बुहरु बढी मात्रमा थिए । नवौं गोरखा रेजिमेन्ट ठकुरी तथा खसका लागि भनेर छुट्टाइएको थियो ।
सेनामा अंशवण्डा
प्रथम विश्व युद्धमा २ लाख (त्यतिबेलाको बालिग जनसंख्याको झन्डै बीस प्रतिशत) र दोश्रो विश्व युद्धमा नेपालबाट साढे २ लाख नेपाली युवकहरु युद्धमा संलग्न भए । करिब सन्ताउन्न लाख जनसंख्या भएको त्यतिखेरको नेपालमा यति धेरै युवकहरु युद्धमा गएर अंगभंगका साथै मर्नु एउटा चरम असन्तुलनको अवस्था हो । प्रथम विश्व युद्धमा २० हजार गोरखालीहरु मारिए भने घाइते र अपाङ हुनेहरुको गन्ती नै थिएन । प्रथम विश्व युद्धमा २ जना गोरखा योद्धाले सर्वाेच्च युद्ध भिक्टोरिया क्रस तक्मा पाएका थिए । यसै गरि दोश्रो विश्व युद्धमा १० हजार गोरखा सैनिकहरु मारिए भने ४३ हजार घाइते र अपाङ भएका थिए । यो उपकारको निम्ति ब्रिटिश सरकारले चन्द्र शमशेरलाई मानपदवी लगायत प्रत्येक वर्ष नेपाललाई १० लाख रुपैयाँ सलामी दिन थालेको रहेछ । पछि त्यो रकम १५ लाख हुँदै २० लाख पुग्यो । (झलक सुवेदी) प्रथम विश्व युद्धमा २ जना, दोश्रो विश्व युद्धमा १० जना नेपालीले सर्वाेच्च युद्ध पदक भिक्टोरिया क्रस तक्मा पाएका थिए भने सन् १९६५ को ब्रुनाईमा चलेको युद्धबाट बहादुरी साथ लडे वापत रामबहादुर लिम्बुले पछिल्लो पटक भिक्टोरिया क्रस तक्मा थापेका थिए । दोश्रो विश्व युद्ध पश्चात भने गोरखा फौजमा कटौती गर्न थालियो । हजारौं नेपालीलाई घर फर्कने खर्च मात्र दिएर ब्रिटिस सरकारद्धारा रित्तै हात विदा गरियो । ती मध्ये सयौं घाइते, अंगभंग भएका सिपाहीहरु थिए ।
लाहोरका लाहुरेहरु
लाहुरे दाईको रेलिमाई फेशनै राम्रो
हातमा बन्दुक रेलिमाई खुकुरी भिरेको ।
भारतको तत्कालिन अबोटाबाटको लाहोर (हाल पाकिस्तानमा) क्षेत्रमा भर्ती हुन जाने चलनबाट लाहोरमा जाने–लाहोरमा जाने भनिंदा भनिदै लाहोरमा भर्ती भएको व्यक्तिलाई लाहुरे भनिएको हो । पहिले शासकको उर्दीबाट जबरजस्ती भर्ती भएका थिए भने कालान्तरमा छुट्टिमा घर आएका लाहुरेहरुले समेत भर्ती हुन लायक गाउँघरका युवाहरुलाई केही पैसा दिएर लाहोर लगे र लाहुरे बनाए । यसरी केटाहरु लगेवापत उनीहरुलाई केही कमिसन पनि दिइन्थ्यो । खान र लगाउने समस्या रहेको नेपालको पहाडी क्षेत्र र अवसरको अभावमा जीवन व्यतित गरिरहेका युवाहरु लाहुरे बनेपश्चात छुट्टि आउँदा उनीहरुले लगाएको लुगाहरु र कमाई ल्याएको पैसाबाट आकर्षित भएर सजिलै लाहुरे बन्न जाने सपना देख्न थाले । हुने खानेले मात्र (बिशेष गरि राणाहरु) पढ्ने जमानामा पहाडी क्षेत्रका जनजाति युवाहरु विदेशी सेनामा भर्ती भएर लडाईको अग्र भागमा लड्ने स्थल सेना (ईन्फ्रन्ट्री) को रुपमा प्रयोग भएका थिए । गाउँघरको हावापानीमा रमाएका अनि क समेत नपढेका युवाहरुलाई सेनाको कडा अनुशासन र लडाईको युद्ध कला सिकाएर लडाईको अग्र भागमा पठाएपश्चात मर्नु भन्दा बाँच्ने आशामा अगाडि आएका जति दुश्मनलाई मारेर संसारमा उनीहरु बहादुर कहलिए । It is better to die than to be a coward भन्ने मुलनाराका साथ लडाईमा होमिएका लाहुरेहरुकै कारण विश्वमा बहादुर जन्माउने देशको नामले समेत नेपाललाई चिनाएका छन् । बहालवाला लाहुरेहरुको तलब र अवकास आएका पेन्सनरहरुबाट देशमा अरबौं रेमिट्यान्स भित्रिएको छ भने शैक्षिक, स्वास्थ्य तथा विकासको क्षेत्रमा पनि उनीहरुको योगदान अतुलनीय रुपमा रहेको छ ।
विगतमा शिक्षाको अवस्था
नेपालमा अनौपचारिक शिक्षा परिवारका बुढा पुस्ताबाट युवाहरुले मौखिक रुपमा ग्रहण गर्दै आएको आवस्था हो । सन् १८५३ मा स्थापना भएको नेपालको पहिलो स्कुलमा नेपाली जनताले पढ्न पाउने थिएनन् । यस स्कूलमा राणा परिवारका सदस्यहरु र केही धनाढ्य व्यक्तिहरुको छोराछोरीले मात्र अध्ययन गर्न पाउँदथ्यो । शिक्षा प्राप्त ग¥यो भने देशमा परिवर्तन ल्याउन मद्दत गर्न सक्छ भन्ने कुराकै कारण सर्वसाधारणका छोराछोरीहरु शिक्षाको ज्योतिबाट वञ्चित भएका थिए । साधारण नेपालीका छोराछोरीले सन् १९५१ (वि.सं. २००७) मा देशमा आएको प्रजातन्त्र पश्चात मात्र पढ्ने अवसर पाएका थिए । यद्यपि ब्रिटिश सेनामा भर्ती भएर फर्केका लाहुरेहरुले सेनामा छँदा पढ्न र लेख्न सिकेर आएकै कारण गाउँमा केटाकेटीहरुलाई पढाउने गरेका थिए । सन् १९५१ को परिवर्तन पुर्व नेपालमा ३ सय १० प्राथमिक तथा निम्न माध्यमिक विद्यालयहरु, ११ माध्यमिक विद्यालय, २ क्याम्पस र १ प्राविधिक विद्यालय सञ्चालनमा थिए । त्यतिबेला नेपालको साक्षरता ५ प्रतिशत मात्र रहेको थियो ।
परिवर्तन पश्चात २००९ सालमा नेपाल राष्ट्रिय शिक्षा योजना आयोग बन्यो । र, २०११ सालमा प्रतिवेदन बुझायो । यसै गरि २०१८, २०२३ सालमा पनि आयोग बन्यो । २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धति योजना बनाएर लागू भयो । र, २०३६ सालमा सुधार गरियो । २०४६ सालमा प्रजातन्त्र आएपछि ०४९ सालमा राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन आयो । ०५५ सालमा एमाले सरकारले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग बनायो र प्रतिवेदन आयो । यसरी नै २०५८ मा सरकारले उच्च स्तरीय कार्य समिति बनायो । (प्रा.डा. मनप्रसाद वाग्ले)
शिक्षा क्षेत्रमा लाहुरेहरु
पल्टनमा भर्ती भएपश्चात युद्ध कला, अनुशासन र उनीहरुलाई पल्टने शिक्षा (रोमनमा) दिएर तत्कालिन अवस्थामा लाहुरेहरुले शिक्षा ग्रहण गरेका हुन् । र, पढ्नु पर्ने रहेछ भन्ने बुझेका लाहुरेहरुबाटै छुट्टिमा नेपाल (गाउँ) फर्केको बेला वा पेन्सन आएका लाहुरेहरुबाट आफ्नो गाउँमा पढ्ने÷पढाउने वातावरणको विकास गरेका हुन् । पाँच महिना छुट्टि आएर गाउँको चौतारीमा कहिले निशुल्क त कहिले गाउँलेले नै १ रुपैयाँ तलब जस्तो तोकेर पढाएको छुँ— म्याग्दी जिल्ला, रिम गाउँमा आफ्नो सैनिक छुट्टि आएको बेला पढाएको कुरा बताउँछन् हाल चितवन निवासी क्या. केशर पुन । उनले आफ्नो गाउँ रिमामा विद्यालय निर्माणको लागि परिवारको नाममा रहेको जग्गा समेत हस्तान्तरण गरेका पनि रहेछन् । यसरी पहाडी गाउँघरमा स्कुल पढाउनेदेखि लिएर स्कुल निर्माणको लागि व्यक्तिगत रुपमा लाहुरेहरुले योगदान दिएका छन् ।
आफ्नो गाउँमा कक्षा ५ सम्म अध्ययन गरेका क्याङ गाविस लेसपार २ का हनेरी नायब सुब्दार गोरबहादुर पुन (फगामी) २१ वर्ष पुग्दा भर्ती भएर पल्टनमा शिक्षा लिएर तथा त्यहाँ दिइने वायरिङ/मेडिकल कोर्स गरेर अवकाश आएका उनले शहर बस्ने अवसरलाई समेत लत्याएर गाउँमा नै मेडिकल स्टोर्स खोलेर गाउँ वरिपरिका अन्य ६/७ गाउँका गाउँलेहरुलाई स्वास्थ्य क्षेत्रमा सेवा दिदै आएका छन् । गाउँमा उनलाई डाक्टर भनेर सम्बोधन गरिन्छ । कुश्मा सदरमुकामसम्म लेसपारका डाक्टर भनेर उनी चिनिन्छन् ।
वि.सं. १९८६ सालमा गुल्मी भार्सेमा व्यक्तिगत रुपमा क्या. शिवराज पुन मगर र क्या. तिर्थराम बुढाथोकीको पहलमा गाउँमा पाठशाला स्थापना गरि पढाउने काम शुरु भएको थियो भने यसै पाठशालालाई स्थानीय तथा भारतीय भूपूहरुले आर्थिक संकलन गरि भौतिक पूर्वाधार निर्माण भएको छ । भार्से जनसहयोग मा.वि. मा छात्रबास, गेष्ट रुमहरु निर्माण गरि भौतिक रुपमा यो नमूना स्कुलको रुपमा स्थापित छ । यो स्कुल स्थापना गर्न धेरै लाहुरेहरु तथा गाउँ स्तरबाट आर्थिक संकलन गरि निर्माण गरिएको छ । यसैगरि गिरीप्रसाद बुढाथोकी मन्त्री बन्नु भए पछि वहाँले पनि यस स्कुलमा योगदान दिएका छन् । यो स्कुल स्थापना गर्न अहिले बाग्लुङतिर परेको १२–१३ वटा गाविसहरुबाट समेत आर्थिक संकलन गरि स्कुल निर्माण कार्य भएको छ भनेर नेपाली सेनाबाट अवकास प्राप्त गर्नु भएका मेजर हेमलाल पुन मगर बताउँछन् ।
वि.सं. २०१३ सालमा खिबाङ निम्न माध्यामिक विद्यालय स्थापना गर्न सुब्दार कर्नु पुन (गर्बुजा) ले पढाउन तथा भवन निर्माण गर्न निकै पसिना खर्चेका थिए । हालको स्कुलको एउटा कुनामा पढाउने देखि लिएर भूपूहरुसँग आर्थिक सहयोग संकलन गरेकै कारण आफ्नो छोरा क्या. रविन्द्र पुनले पनि उक्त स्कुलमा अध्ययनको क, ख पढेका थिए । खिवाङ नि.मा.वि. मा कखरा चिनेर बाबासँग पल्टनमा गई अध्ययनलाई निरन्तरता दिंदै म्याकानिकल ईन्जिनियर गर्दै भारतीय फौजमा भर्ती भई प्रोमोशनको क्रममा सजिलो भएको कुरा बताउँछन्— अवकास पश्चात हाल पोखरा, रामबजार बस्ने क्या. रविन्द्र पुन ।
बेगखोला गाविस अन्तर्गत बेग गाउँमा २०११–१२ सालतिर देउरालीमा रहेको पिपल बोट मुनी बसेर सुब्दार धर्मु पुनले विद्यार्थीहरुलाई पढाउने कामको शुरुवात गरेका थिए । त्यतिबेला गाउँमा मास्टरहरुले अन्न लिएर शिक्षाको ज्योति फैलाउने काम गरेका थिए । हाल महादेव मा.वि. मा परिणत भएको यस विद्यालयको भवन निर्माण गर्नेदेखि लिएर अध्यापन गराउने काममा यस गाउँमा पनि भूपू सैनिकहरुको योगदान उच्च रहेको छ । यही गाविसमा नेपालका १३ नेपाली भी.सी. मध्येका एक भी.सी. तुलबहादुर पुनको गाउँ तिब्ल्याङमा रहेको कालिका निम्न माध्यमिक विद्यालयको भवन निर्माण गर्न गोर्खा वेलफेयर स्किमले आर्थिक सहयोग गरेको छ ।
यसै गरि भैरव नि.मा.वि (स्थापना २०११) हाल भैरव उच्च मा.वि. भकुण्डे गाविस, नुनथाला स्थापना गरि अध्यापन गराउनेहरु सबै भारतीय भूपू सैनिक खास गरि सुवेदार दिलबहादुर थापाको योगदान अतुलनीय छ । रिघा प्राइमरी स्कुल (स्थापना २०१६) हाल रिघा उच्च मा.वि. बाग्लुङ स्थापना गर्न हल्दार गंगा प्रसाद पुन (मुखिया), तिलबहादुर पुन, रिमबहादुर पुन, रामनाथ पुन र हल्दार धनप्रसाद श्रीस, भविलाल श्रीस, मित्रबहादुर श्रीस, दिपक पुन र खड्कबहादुर पुनले योगदान दिएका छन् भने पाण्डवखानी प्रा.वि. (स्थापना २०१८) हाल पाण्डवखानी उच्च मा.वि. स्थापना गर्न पनि भारतीय सैनिक भक्तबहादुर पुन, जीतबहादुर पुन, क्या. खडगबहादुर पुनको योगदान स्मरणीय रुपमा छ ।
वि.सं. २०१८ सालतिर काँडेबास गाविस, जनजागृति प्राइमरी स्कुल काँडेबास हाल जनजागृति उच्च मा.वि. काँडेबासको जग्गा खरीददेखि भवन निर्माण र फर्निचर खरीद गर्ने क्रियाकलापसम्म क्या. यामबहादुर बुढाथोकी, मेजर लालबहादुर थापा, कपरोल रेशम बुढाथोकी र ल्याप्टेन भीमबहादुर थापाको योगदान अतुलनीय रुपमा रहेको छ । पहाडी क्षेत्रमा विद्यालयहरु थिएनन्– मगर, गुरुङ, राई र लिम्बु लाहुरेहरुले व्यक्तिगत तथा संस्थागत रुपमा आर्थिक सहयोग गरेर स्कुल निर्माण गरेका छन्– क्या. यामबहादुर बुढाथोकी ।
पाल्पा, बौघा गुम्हा गाविसमा अवस्थित सर्वोदय उच्च मा.वि. का प्रधानाध्यापक खुमबहादुर राना मगर भन्छन्— यो उच्च मा.वि. मा भूपू सैनिकहरुको स्थापना कालदेखि नै आर्थिकदेखि अध्यापन क्षेत्रमा धेरै योगदान रहेको छ । उनीहरुको योगदान नभएको भए यो विद्यालय अहिलेको अवस्थामा आई पुग्न धेरै लामो समय निश्चितै लाग्थ्यो । यही सर्वोदय उच्च मा.वि. व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापा (अर्घाली) स्वयम् सुब्दार पदमा अवकास आएका भारतीय सैनिक हुन् । भूपूहरुले आर्थिक देखि लिएर भौतिक सहयोग गरेकै कारण स्कुलले जिल्ला स्तरसम्म पढाईमा राम्रै नाम कमाउन सफल भएको छ ।— चेतबहादुर थापा (अर्घाली), अध्यक्ष, स्कुल व्यवस्थापन समिति, सर्वोदय उच्च मा.वि. ।
रुपन्देहीको रुद्रपुरमा २०६४ सालमा आफुसँग भएको आर्थिक तथा जनशक्तिलाई प्रयोग गर्न रुद्रपुर पिसल्याण्ड भूपू सैनिक पब्लिक ईङग्लीस स्कुल प्रा.लि. स्थापना गरेका छौं । यहाँ हामी अधिकांश भूपूहरु मिलेर शिक्षा क्षेत्रमा केही गर्ने मनसायले स्कुल स्थापना गरेका हौं ।— हनेरी नायव सुब्दार कृष्ण फौंजा (अध्यक्ष : स्कुल व्यवस्थापन समिति) । यस्तै गरि नवलपरासी, माकर ४, बर्दघाटमा अवस्थित एक्स आर्मी पब्लिक ईङग्लीस हायर सेकेण्डरी स्कुल र वालिङ १ स्याङ्जामा अवस्थित भूपू सैनिक आवासीय उच्च मा.वि. स्कुल स्थापना गर्नमा भूपूहरुको ठूलो योगदान रहेको छ । यस्तै गरि रुपन्देही, बुटवल नगरपालिका ९, रामनगरमा २०५७ सालमा मानव ज्ञान नि.मा.वि. हाल मानव ज्ञान उच्च मा.वि. को भवन निर्माण गर्न भूपू सैनिकहरु क्या. यामबहादुर बुढाथोकी, यामलाल पुन र बहादुर थापाका श्रीमतिले पहल गरेकै कारण ४८ लाख रुपैयाँ गोर्खा वेलफेर स्किम कार्यक्रम अन्तर्गत भवन निर्माणमा आर्थिक सहयोग भएको छ ।
वायरलेस नेटवर्किङ मार्फत पहाडी जिल्लाका गाउँहरुमा इन्टरनेट पु¥याएर सुचना तथा सञ्चार क्षेत्रमा फरक कार्य गरेवापत एशियाको नोबेल पुरस्कार भनेर चिनिने मागासेसे पुरस्कारले सम्मानित भएका डा. महावीर पुन पनि ब्रिटिश भूपू सैनिककै सन्तान हुन् । पल्टनमा पढ्नु पर्ने कुरा बुझेर फर्केका उनको बाबाले गाउँमा बस्यो भने आफ्नो छोरा अनपढ रहने कुरा बुझेर सपरिवार चितवन झारेका थिए । जसले गर्दा महावीर पुनले आफ्नो अध्ययनलाई अगाडि बढाउन सहयोग मिल्यो । उनको बाबाले चितवन झारेर अध्ययन गराएकै कारण र उनको आफ्नो लगनशिलताले गर्दा उनले वायरलेस नेटवर्किङ क्षेत्रमा सफलता प्राप्त गरेका छन् ।
भारतमा भर्ती भएर प्रथम र द्वितिय युद्धमा हराएका र अत्तोपतो नलागेका गोर्खालीहरुको नाममा रहेको रहलपहल रकमबाट स्थापना भएको युद्ध पश्चात पुनः निर्माण कोषको लगानीबाट निर्माण भएको अमरसिंह उच्च मा.वि. मा अहिले २ हजार भन्दा बढी छात्रछात्राहरु लगायत यहाँ दृष्टिविहिन छात्रछात्राहरुले समेत अध्ययन गरिरहेका छन् । यसै गरि सोल्जर्स बोर्ड अस्पताल हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल देशकै नमूना अस्पताल बन्ने क्रममा छ । जहाँ वर्षेनी लाखौ विरामीहरुले स्वास्थ्य सुविधा पाउनुको साथै नवजीवन प्राप्त गरिरहेका छन् । गोर्खा वेलफेर स्किमबाट संस्थागत रुपमा यो पछिल्लो १० वर्षमा मात्र पनि १७ हजार ७५ जनाले १३ करोड १४ लाख ३३ हजार ४ सय २६ रुपैयाँको छात्रवृति प्रदान गरेको रेकर्ड पाउन सकिन्छ । साथै गोर्खा वेलफेर स्किमबाटै नेपालका ११ अञ्चल (कोशी, मेची, सगरमाथा, जनकपुर, वाग्मति, लुम्बिनी, राप्ती, नारायणी, गण्डकी, धौलागिरी र भेरी) मा १ सय २४ वटा स्कुललाई ४ देखि १० वटा कक्षा कोठा, फर्निचर र शौचालय निर्माण गरेको रेकर्ड प्राप्त गर्न सक्छौं । र, मुख्य विद्यालय निर्माण गरेको रकम हेर्दा १५ करोड २० लाख ७३ हजार ९ सय ९६ आर्थिक सहयोग गरेको देखिन्छ । साथै डिष्ट्रिक सोल्जर्स बोर्डबाट वर्षेनी छात्रवृत्ति प्रदान गर्नुको साथै विभिन्न ठाउँमा विद्यालय निर्माणको लागि आर्थिक सहयोग गरेको रेकर्ड पाउन सकिन्छ । यो सबै भारत र ब्रिटिश गोरखाली सैनिकहरुले विगतमा गरेको देनकै कारण हो ।
निष्कर्ष
पहाडी क्षेत्रमा सरकारले ध्यान दिन नसकेको अवस्था या भनौंं अवसरको अभावमा भर्ती भएर जुवा खेल्न विदेशीएका हुन्— लाहुरेहरु । ज्यानको जुवा खेल्न गएका त हुन्— उनीहरु । मरे, वीरहरुको पनि वीर महावीर– बाँचे सुख साथ परिवारसँग आफ्नो देशमा । प्रथम र द्वितिय युद्धमा मात्र होइन गोरखालीहरुले धेरै युद्धमा रगत बगाए । बा“चेर फर्केका भूपूहरु र अझै कार्यरत सैनिकहरुले देशमा शैक्षिक, आर्थिक, स्वास्थ्य, सडक निर्माण तथा खानेपानी व्यवस्था (भौतिक निर्माण) गर्ने क्रममा व्यक्तिगत तथा संस्थागत रुपमा योगदान दिईरहेका छन् । यसरी अन्य क्षेत्र लगायत शैक्षिक क्षेत्रमा उनीहरुले योगदान दिएकै कारण पहाडी क्षेत्रको शैक्षिक स्थिति अहिलेको अवस्थासम्म आएको छ । यदि उनीहरुले यस क्षेत्रमा केही नगरेको भए अहिलेको अवस्थामा आउन धेरै समय लाग्ने निश्चित हो । यसर्थ लाहुरेहरुको योगदानको कारण यो क्षेत्रले धेरै प्रगति गरेको छ भन्न सकिन्छ । लाहुरेहरुले निश्चित पनि अन्य देशको लागि रगत बगाए । ज्यानको आहुति दिए । तर १८१६ मा त्रिदेशीय सम्झौता गरेको कारणले यो वातावरण बनेको हो । त्यो सम्झौता त देशकै सरकारले गरेको हो । सरकारले भर्ती गर्ने नीति लिएकै कारण जनजाति युवाहरु विदेशमा गएर आफ्नो श्रम, शक्ति, रगत अनि यौवन उतै दिएका हुन । यसर्थ गोरखालीहरुको ती वीरताको व्यथा बेवारिसे हु“दै होइनन् त्यतिबेला राज्यको नीतिनै त्यस्तै थियो । यसर्थ वीरताका ती/यी कथाहरुलाई बेवारिसे होइन आफ्नो बनाउनु हाम्रो कतव्र्य र धर्म हो भन्दै विनम्र निवेदन गर्न चाहन्छु ।
मेकबहादुर पुन (मेजन) मगर
श्रोत :
१) गोरखा वेलफेयर स्किम, पोखरा, ब्रिटिश क्याम्प
२) डिस्ट्रिक सोल्जर्स बोर्ड, भारतीय पेन्सन क्याम्प, पोखरा, रामबजार
३) गोरखा भीक्टोरिया क्रस अभिनन्दन समारोह, काठमाडौं, २३ माघ, २०५०
४) मेजर वीरसिंह गुरुङ स्मृति प्रतिष्ठान, २०६९, स्मृति स्मारिका २०६९
५) भारतीय भूतपूर्व सैनिक कल्याणकारी संगठन नेपालको पत्रिकाहरु
६) सुवेदी झलक, ब्रिटिश साम्राज्यका नेपाली मोहरा
७) प्रा.डा.मनप्रसाद वाग्ले, शिक्षाविद् : नयाँपत्रिका, ०७ सालकै वरिपरि घुमेको शिक्षा, शनिबार १८ कार्तिक ०६९
८) गीत/संगीत मास्टर मित्रसेन
९) एम.एस.थापा मगर, मगर रत्न
१०) मेजन पुन मगर, २०६६, पुन मगर एक अध्ययन, काठमाडौं
११) मनबहादुर पुन मगर, २०६५, क्याङ गाविसका मगरहरुको वैदेशिक सेनामा प्रवेश र त्यसको प्रभाव : एक अध्ययन
१२) सुब्दार इन्द्र बहादुर गुरुङ, सचिव : मेजर वीरसिंह गुरुङ स्मृति प्रतिष्ठान, पोखरा
१३) क्या. यामबहादुर बुढाथोकी मगर,भूपू अध्यक्ष : नेपाल मगर संघ, केन्द्रीय समिति, काठमाडौं
१४) रेशम पुन मगर,जिडब्लुएस, पोखरा
१५) कृष्णबहादुर फौजा (अध्यक्ष : रुद्रपुर पिसल्याण्ड भूपू सैनिक पब्लिक ईङग्लीस स्कुल, व्यवस्थापन समिति)
१६) सुब्दार चेतबहादुर थापा, अध्यक्ष : स्कुल व्यवस्थापन समिति, सर्वोदय उच्च मा.वि. बौघा गुम्हा, पाल्पा
१७) मेजर हेमलाल पुन मगर, भार्से हाल काठमाडौं ।