हाम्रा इतिहासविद्हरुले लखन थापा बारे जति लेख्नु पथ्र्यो, त्यति लेख्न सकेनन् सत्ता, शक्तिमा रहनेले सदैव आफू अनुकुल इतिहास कोर्ने हुँदा लखन थापा मगर जस्ता इतिहास जित्नेहरु पनि ओझेलमा रहन बाध्य बनाइयो ।
एकतन्त्रीय निरङकुश जहानियाँ राणा शासनबाट देश र जनतालाई मुक्ति दिने अभियानमा सम्पूर्ण देशभक्त र प्रजातन्त्रकामी नेपालीहरुलाई शहादतको बाटोमा डो¥याउने प्रथम शहीद लखन थापा मगरको जन्म लाहुरे परिवारमा वि.सं. १८९१ मा गाउँ काहुले, शहिद लखन गाउँपालिका (साविक बङकोट गाविस) जिल्ला गोरखामा भएको थियो । उनी सानैदेखि गम्भिर, निडर, चिन्तनशील, सरल र मिलनसार प्रकृतिका थिए । प्रथम शहिद लखन थापाको प्रारम्भिक शिक्षा भारतको अलमोडामा भयो । आफ्ना नातेदार ईष्ट इण्डिया कम्पनीको फौजमा भएकाले उनले यो अवसर पाए । जतिबेला राणा शासनका कारण नेपालमा जनताका छोराछोरीका लागि शिक्षा असम्भव प्रायः थियो । कथित उच्च जात र धनीको छोराहरुले मात्र पढ्न पाए पनि सर्वसाधारण नेपाली खासगरी दलित र मतवालीलाई शिक्षा प्राप्त गर्न असम्भव नै थियो । दलित र आदिवासी जनजातिले शिक्षा लिनुलाई अपराध नै ठानिन्थ्यो । अंग्रेजले भारतमा शासन गरेपनि शिक्षामा कसैलाई बन्देज गरेको थिएन । उनको नातेदारले सोही पल्टनमा भर्ती हुन बारम्बार आग्रह गर्दा पनि, अन्तरहृदयले विदेशी सेनामा भर्ती हुन पटक्कै स्वीकृति दिएन । पछि स्वदेश फर्कि बीस वर्षको उमेरमा वि.सं. १९११ काठमाण्डौंमा आफ्नै पुरख्यौली मगरहरुको पल्टन पुरानो गोरखगणमा लक्ष्मण सिंह थापाको नाममा भर्ती भए ।
वि.सं. १९१० को हिन्दुशास्त्रमा आधारित मुलुकी ऐन बन्नुभन्दा पहिले नेपालका आदिवासी जनजातिले आफुलाई युद्धजीवि वर्गको (क्षेत्रीय) समकक्ष ठान्दै आएका थिए भने व्यापारी जनजाति नेवारहरुले वैश्य हुँ भन्ने गर्दथे । दलितहरु आफुलाई शिल्पकार ठान्दथे । उक्त मुलुकी ऐन लागु भएपछि सबै आदिवासी जनजातिहरुलाई पानी चल्ने शुद्र वर्गमा समावेश गराइयो । उच्च पदमा नियुक्ति पाउन तागाधारी हुनुपर्ने बाध्यताले गर्दा जनै पहिरहेका मगर र अन्य आदिवासीहरु तागाधारी वर्गमा परे भने जुन जनजातिले जनै पहिरिन नचाहिनेहरु शुद्र र मतवाली जातिमा झारिए । पेशाको आधारमा जात–जाति तोकिए बाहुनहरुलाई उच्च पुरोहितको उच्च सम्मान दिइयो र मृत्युदण्डबाट पनि कानूनी तवरले पृथक राखियो । असन्तुष्ट तागाधारी बाहुनलाई खुशी पार्ने र आफुले सत्ता (गद्दी) कब्जा गर्दा जनस्तरबाट विरोध नआओस् भनेर नै जंगबहादुरले यस्तो असमानता भित्र्याएका थिए । नङ र मासु जस्तो मिलेर बसेको नेपाली समाजलाई तागाधारी, मतवाली, पानी चल्ने, पानी नचल्ने लगायतका समूहमा विभाजित गरियो ।
यो व्यवस्थाले हिन्दु संस्कार बाहिरका जातजाति र अन्य भाषाभाषीहरुलाई गुरु–पुरोहितको मातहतमा लत्रिनु पर्ने कानुनी तवरमै बाध्य बनाइयो । त्यतिबेला जहाँनिया राणा शासनको विरुद्ध आवाज उठाउने साहस कोही पनि गर्दैन्थे । जस्तोसुकै अन्याय, अत्याचार हुँदा पनि जीउधन सरकारकै भनेर सहेर बस्थे । त्यो बेला आफ्ना सन्तानहरुलाई ‘हुकुमको जवाफ छैन, कालको औषधी छैन’ भन्ने शिक्षा दिन्थे । जंगबहादुर यति क्रुर थिए कि दरबारको महापण्डित सोमनाथ पाण्डेले “जाति विभेद बढी भए हजुर” धर्मको नाममा आफ्नै आमा, भाउजु, छोरीलाई जिउँदै जलाउने, भाग्न खोज्दा ढुङ्गाले हानी–हानी मार्ने । सति प्रथा रोकी पाउँ हजुर” भन्दा तँ बाहुनले मलाई अर्ती दिने भन्दै उनको सर्वस्वहरण गरेर पण्डितका परिवारलाई झुठा मुद्दामा जेल हाल्न लगाई महापण्डितलाई देश निकाला गरेका थिए । अवस्था कस्तो थियो भने जंगबहादुरले तत्कालीन राजा, रानीलाई शक्तिहीन बनाएका थिए, लाल मोहर पनि आफु खुसी प्रयोग गर्थे । वि।सं। १९१४ (सन् १८५७ अप्रैल ८) भारतमा विद्रोही सैनिक मंगल पाण्डेलाई फाँसी दिएपछि अंग्रेज उपनिवेशको विरुद्धमा सैनिक विद्रोहले उग्र रुप लियो दिल्लीमा कब्जा गर्दै हाल भारतको उत्तर प्रदेशमा छोटो समयभित्रै विद्रोही सैनिकहरुलाई विभिन्न जिल्लाहरुमा कब्जा गर्दै जाँदा तत्कालीन इष्ट इण्डिया कम्पनी सरकारको स्थिती नाजुक भई सैनिक सहायताको लागि नेपालको प्रधानमन्त्री जङ्ग बहादुर राणालाई पत्र लेखी, सहायता माग्यो । जङ्गबहादुर पनि अंग्रेजलाई सहायता गर्न चाहन्थे किन कि उनी अंग्रेजलाई खुशी तुल्याई आफ्नो शासन सदाको लागि स्थापित गराउन चाहन्थे ।
राज्यसत्ता खोसी राजा बन्ने निरंकुश जंगबहादुर राणाको योजनालाई लखन थापाको विद्रोहले चकनाचुर पारिदिएको थियो त्यस समय उपेक्षित उत्पीडित वर्गले पसिना बगाउँथे भने राणा र उनका आसेपासेले बसीबसी मोजमस्ती लुट्ने गर्दथे । यस्तो अमानवीय व्यवहार देखेर एकपक्षीय सरकारको विरुद्धमा विद्रोह गर्नुपर्ने अठोट लखन थापाले गरेका थिए । लखन थापाको विद्रोहको कारणले नै जंगबहादुर पछिका राणा प्रधानमन्त्रीहरुले राजा बन्ने सपना त्यागी केही मात्रामा भए पनि जनहितका कार्य गर्न बाध्य भए । जातीय भेदभाव, दमन, अत्याचार, बोल्न नपाउने, पढ्न लेख्न नपाउने, सतीप्रथा र जनविरोधी एकतन्त्रीय राणा शासनप्रति जनमानसमा जुन रोष र असन्तोष थियो त्यो निश्चित पनि मुक थियो । त्यस्तो असन्तुष्टिलाई त्यस बखत वाणी दिने कुनै व्यक्ति थिए भने लखन थापा नै थिए । यस्ता वीरहरु इतिहासमा धेरै होलान तर अन्धकारमा फ्याँकिएका वीरहरुको भीडबाट प्रथम शहीद लखन थापा अलग रहनुको एउटा कारण हो, उनको प्रत्यक्ष जनमानसमा गएर गरेको चेतनामूलक विद्रोह ।
हाम्रा इतिहासविद्हरुले लखन थापा बारे जति लेख्नु पथ्र्यो, त्यति लेख्न सकेनन् सत्ता, शक्तिमा रहनेले सदैव आफू अनुकुल इतिहास कोर्ने हुँदा लखन थापा मगर जस्ता इतिहास जित्नेहरु पनि ओझेलमा रहन बाध्य बनाइयो । जब कि जंगबहादुरको छोरा पदमजंग राणा र विदेशी इतिहासकार हवेल्पटनहरुको पुस्तकमा लखन थापा मगरको विद्रोह बारे उल्लेख भएको पाइन्छ । ऐतिहासिक १९३३ को क्रान्तिलाई मनुवादी सोच तथा शासकहरुको त्रास एवम् दासत्वको कारणबाट पनि यथार्थ लुकाएर शासकअनुरुप इतिहास लेख्नु पर्ने बाध्यताले गर्दा इतिहासको सत्य हराउन पुगेको पाईन्छ । तर पनि उनका चेतनाका डोबहरुलाई समयले मेटाउन सकेन । फलस्वरुप राज्यले लखन थापालाई २०७२ असोज ३ गते शहादत प्राप्त गरेको १३९ सालपछि प्रथम शहीद घोषणा गर्न बाध्य भयो ।
पोखरा लखन चोकमा राखिएको यो नेपालको प्रथम शहीद लखन थापा मगरको मुर्ती हटाउने निकै प्रयास भईरहेको छ । |
लखन थापाले सुरुवात गरेको विद्रोहले भने निरन्तरता पाईनै रह्यो । राणा शासनको विरुद्धमा आवाज शसक्त रुपमा बढ्दै गयो । सुपति गुरुङ्ग, सुकदेव गुरुङ्ग लगायत अनेक क्रान्तिकारीहरु धर्म भक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द्र, शुक्रराज शास्त्री (जोशी) आदि देशभक्तहरुलाई शहादतको बाटोमा डो¥याउने पहिलो प्रणेता प्रथम शहीद लखन थापा मगर नै थिए । यसको परिणामस्वरुप नेपालमा राणा शासनको अन्त्य भयो र नेपाली जनताले स्वतन्त्रताको सुनौलो बिहानी देख्न पाए । प्रजातान्त्रिक स्वतन्त्रता संघर्षका प्रतीक बनेका प्रथम शहीद लखन थापा मगरले सबैलाई राष्ट्रिय स्वाधीनता, प्रजातन्त्र र जातीय स्वाभिमानको पाठ सिकाएका छन् ।