विदेशी र नेपालीहरूकै लागि पनि नेपाल घुम्नको लागि साह्रै राम्रो स्थल हो । हामी नेपालीहरू नेपालभित्रकै कतिपय स्थलहरू घुम्न गएको हुँदैनौं । तर भ्रमण मात्र घुम्नको लागि नभई यो आन्तरिक ज्ञान हासिल गर्ने माध्यम पनि हो । यसबाट हामी धेरै कुराहरू देख्न र सिक्न सक्छौं ।
जाने होइन, घोरेपानी ‘पुनहिल ?
म्याग्दी/निकै थकानको महसुस हुँदा–हुँदै पनि हामी रात्री अबेलासम्म घोरेपानी सम्बन्धी गफ गर्दै बस्यौं । हाम्रो लागि घोरेपानी पहिलो अनुभूति थियो । र, घोरेपानी सम्बन्धी हामीलाई जानकारी दिइरहेका थिए, घोरेपानीको होटलमा काम गर्ने दुई कामदारहरू । लगभग २९ सय मिटर उचाईमा रहेको घोरेपानीमा आकर्षक डिजाइनका काठ र निलो टिनले छाएका सुविधा सम्पन्न घरहरू बनेका रहेछन् । भनिन्छ– घोरेपानीको घर काठ र किल्लाको भर । दिउँसो सावरमा नुहाएपश्चात घोरेपानी घुम्ने क्रममा हामी, ती कुरा महसुस गरेका थियौं । पहिला सिजनताका घोरेपानीको सबै होटल टुरिष्टले भरिन्थ्यो ! आजभोलि परिस्थिति प्रतिकुल रहेको हुँदा केही टुरिष्टहरू मात्र आएका छन् । घोरेपानीका होटल व्यवस्थापक क्या. डमबहादुर पुन भन्नुहुन्छ ।
निकै उकालो थकाई मार्दै हिंडेपछि आउने घोरेपानी नेपालकै सुविधा सम्पन्न हिल स्टेशनहरू मध्ये एक हो । एउटा प्रा.वि. स्कुल, पीच गरिएको खेल्ने मैदान र नजिकै पुन मगर म्युजियमका साथ ३०/३२ वटा रंगीन टिन युक्त होटलहरू हेर्दा निकै मनमोहक लाग्दो रहेछ । अझ डाँडा माथिको बादलले जो कोहीको मन नलोभ्याउँला भन्न सकिंदैन । निकै पहिला ०२६–०२७ सालतिर मेजर टेकबहादुर पुनले खोज गरेर विकासका कामहरू आरम्भ भएको यो स्थानमा उनकै अग्रसरतामा बुदुजा कृषि फार्म सञ्चालन भई विभिन्न बोट–विरुवाहरू रोपेका पनि रहेछन् । अफसोच् उनको चाँडै निधन भएपछि त्यतातिरको विकासका कार्यहरू प्रायः सबै ठप्प भएको रहेछ, केही सञ्चालन भइरहेको भएतापनि मर्मत सम्भार पुगेको छैन ।
रात निकै छिप्पे पछि बिहान चाँडै उठ्नुपर्ने बाध्यताले हामी चारजना (डबबहादुर गर्बुजा, नन्द चोचाङ्गी, मुसहाङ झेंडी र म) लगायत सबै सुत्ने तरखर गर्न थाल्यौं । हामी चारै जनालाई राम्रैसँग निद्रा परेछ । एकाबिहानै होटल बाहिर मान्छेहरू गफ गर्दै हिंडेको सुनेपछि चारैजना हतारिदै उठ्यौं । होटलबाट बाहिर निस्कँदा केही टुरिष्टहरू उकालो लाग्दै थिए । हामी पनि टर्च लाइट बाल्दै उनीहरूको पछि लाग्यौं ।
चन्द्रमा, निलो आकाशमा निकै माथि थियो । चिसो वातावरण र अँध्यारो रातमा टर्चको प्रकाशमा बाटो पहिल्याउँदै तेर्सो–तेर्सो हिंड्दै हामी उकालो लाग्यौं । उकालो हिंड्न निकै गाह्रै भो । सास फ्वाँ–फ्वाँ गर्दै ३२१० मिटर उचाईमा रहेको ‘पुनहिल डाँडाबाट देखिने मनमोहक दृश्य हेर्न लालयित मन लगभग ४५ मिनेटमा त्यहाँ पुग्यौं ।
अँध्यारो डाँडामाथि मान्छे बोलेको आवाज आइरहेको थियो । गेटदेखि छिरेपछि अलि माथि त्यो गफ गर्ने समूहलाई देख्यौं पनि । तर उज्यालो भई नसकेको हुँदा चिया/कफीको तातो चुस्कीसँगै चिसोपन कम गर्ने प्रयास गर्दै थिए– सबै । हामी पनि तल घोरेपानीको होटलबाट बोकेर ल्याएका ब्ल्याक कफी प्रति कप रु. ५०– तिरेर शरीर तताउन थाल्यौं ।
यो डाँडालाई विकास गर्दै लैजाने हो भने यही डाँडामा ५ रुपैयाँ कप चिया विक्री गरि कमाउन सकिन्छ भनेर मेजर टेकबहादुर बुदुजाले भन्दा दुनियाँ नदेखेका सोझा मगर जातिहरू पत्याउँदैन थिए । तर अहिले समयको अन्तरालमा ५ रूपैयाँमा होइन ६० रूपैयाँ कप कफी घोरेपानीकै मानिसहरू बेचिरहेका छन् ।
धेरै चाहिं होइन रहेछ– केही टुरिष्ट र उनका नेपाली गाइडहरू त्यो डाँडामा पुगेका रहेछन् । गाइडहरू ‘पुनहिल’ बारे फलाक्दै थिए– हामी कफीसँगै उनीहरूको कुरा सुनिरह्यौं । टुरिष्टको गाइड गर्दागर्दै ती नेपालीको अंग्रेजी उच्चारण धेरै राम्रो भएको रहेछ, हामी केही क्षण रल्ल पर्दै सुनिरह्यौं ।
पुनहिल– ‘सनराइज’ देखि लिएर १८० डिग्रीको कोणमा हिमालहरू हेर्न पाउने एक रमणीय स्थल हो । यहाँदेखि हिमाल हेर्न दुरबिनको आवश्यकता नै पर्दैन रहेछ । आफ्नै आँखा अगाडि हिमालको डाँडा देख्दा कसको मन रमाउँदैन ? त्यहाँबाट प्लेन निकै तल उडेको देखिंदो रहेछ । त्यस स्थलबाट देखिएको दृश्य हेरेर हाम्रो पनि आत्मा सन्तुष्ट भयो । अझ चैत्र बैशाखमा त्यो डाँडा भरि लाली गुराँस फूल्ने हुँदा डाँडै रातै हुन्छ रे !
केही क्षण पछि ‘सनराइज हुँदा टुरिष्टहरू चिच्याउँदै क्यामरा क्लिक–क्लिक गर्न थाले । एकापसमा अंगालो मार्न पनि भ्याए । सायद यस्तो दृश्य उनीहरूको देशको लागि दुलर्भ थियो होला । सनराइजसँगै बिस्तारै उज्यालो प्रकाश हिमालको हिउँमा पर्दा निकै रमाइलो देखिंदो रहेछ । टुरिष्टहरूसँगै हामी पनि प्रफुल्लित भयौं ।
त्यस स्थलबाट देखिने दृश्यहरू अवलोकन पश्चात केही टुरिष्टहरू अंकमाल गर्दै ओरालो लागे– उनीहरुको अर्को गन्तव्य पुग्नको लागि । कोही त्यही बेञ्चमा बसेर प्रेमालाप गर्दै थिए । एकजना कुइरे (टुरिष्ट) कुन्नी किन हो एक्लै निकै पर धौलागिरी तर्फ फर्केर दृश्यावलोकन गर्दै थियो । उसको भाव बुझ्दा, ऊ मनमा कविता कोर्दै थियो कि साहित्य रच्दै थियो । होइन भने स्वदेशमै रहेका आफ्ना प्रेमिकाको स्मरण चाहिं पक्कै गर्दैथ्यो । जेहास् उसको मन सन्तुष्ट भएको कुरा उसको बाहिरी व्यवहारबाट स्पष्ट झल्कन्थ्यो ।
म दार्जिलिङको टाइगर हिलमा गएर त्यहाँबाट सनराइज र नेपालतर्फको हिमाल हेरेर फर्केको छु । तर जति नजिक ‘हिमाल पुनहिलबाट देखें त्यो नपालको अन्य स्थानबाट महसुस गरिनँ । दार्जिलिङ तर्फ घुम्न जानेभन्दा हामी निकै प्रफुल्लित हुन्छौं तर नेपालभित्रको विश्व प्रसिद्ध स्थलहरूमा हामी घुम्नसम्म पुगेका हुँदैनौं । त्यसैले आन्तरिक पर्यटनको प्रबद्र्धन गर्न हामी पनि मिलेर पुनहिल, दामन, ढोरपाटन जस्ता स्थलतर्फ देशको स्थिति सुध्रिंदा घुम्न जाने योजना पो बनाउने कि ? यसको लागि पोखरादेखि २ घण्टाको मोटर बाटो नयाँपुलमा झरेर १ दिनको हिडाईमा घोरेपानी पुग्न सकिन्छ । होटल, सर्वसाधारण नेपालीहरूले खर्च गर्न सक्ने खालको छ । यहाँ विशेष गरि नेपाली नयाँ वर्ष र अंग्रेजी नयाँ वर्षको दिन साँस्कृतिक कार्यक्रम र नयाँ वर्ष मनाउने व्यवस्था त्यहाँका होटल व्यवसायीहरूले आयोजना गर्ने गरेका छन् ।
– मेजन पुन मगर
(२०६० सालको भदौं महिनामा हामी त्यस भेगतिर घुम्न गएको थियौं । पहिलो पटक भएको हुँदा त्यो यात्राको निकै सम्झना आउने गर्दछ ।)