पूख्र्यौली परम्परागत कार्य
भीर मह काढेको त्यो दिन ...
जीवन संघर्षपूर्ण छ । आजभन्दा भोलि जीवन छुट्टै प्रकारले बित्ने गर्दछ । यस्तै संघर्ष पार गर्दै हामी बाँचिरहन्छौं । बितेका दिनहरुनै आगामी दिनको सस्मरणयुक्त रमाइला घटनाहरु भई व्यक्ति–व्यक्ति भित्र वर्णन गर्न नसक्ने अविस्मरणीय क्षणको रुपमा बसिरहन्छ । यस्तै दिनहरु मध्येकै एक दिन म भित्र पनि रमाई रहेको छ । जसलाई बिर्सन पनि सक्दिन र त्यो क्षणको सोही अनुरुप वर्णन गर्न शब्दकोषमा शब्दहरु पनि पाउँदिन र पनि सम्झनाको लागि कोर्न बाध्य छु । केवल झझल्को मेट्ने प्रयास स्वरुप ।
कुरा २०६१ साल जेष्ठ ५ को हो । त्यो दिनको संस्मरण गर्नु पर्दा मेरो लागि शारीरिक रुपमा निकै दुःखद दिनको रुपमा रहेर मनमा बसेको हो । म्याग्दीको सदरमुकाम बेनीबाट १० कोष उत्तर पश्चिमको दुरीमा रहेको चिमखोला गाउँमा पुग्दा नै मेरो देव्रे खुट्टा बाउरिएर हिंड्न नसक्ने भएको थियो । तीन दिन नेपाल बन्द घोषणा भएको पहिलो दिन (त्यो बेला) गाउँमा मोटर चल्ने कुरा थिएन यसर्थ म ठूलो रुफसेक झोलाभित्र जाडोमा लगाउने ज्याकेट, अन्य लुगा र स्लिपिङ ब्याक सहित भीडियो क्यामराको झोलालाई रुफसेक झोला माथि राखेर हिंड्दा खल्खल्ती पसिना निकालिदिएको थियो । (हाल मौवाफाँटसम्म मोटर बाटो पुगेको छ ।) सास स्वाँस्वाँ गरि फूलेका थिए । र, पनि आफ्नो पूर्खा भीरमह काढ्दथे भन्ने कथन सानैदेखि सुन्दै आइरहेको हुँदा भीरमह कसरी काढ्ने रहेछन् भनेर प्रत्यक्ष अनुभूत गर्ने चाहना मनमा राखेर हिंडेको मान्छे– कुनै बेला त बीचैबाट फर्किने हो कि भन्ने सम्म बनाएको थियो । त्यो बाटोको यात्रा मेरो पहिलो थियो । ओहो ¤ दग्नाम पुग्न लाग्दाको त्यो उकालो अनि दर्मिजा गाउँ पुग्नु भन्दा अगाडि भीर काटेर बनाएको त्यो अजीङगर भीरको बाटो । अझै पहिलाको पुरानो बाटो त वर्णननै गर्न नसकिने अप्ठ्यारो पो हैंछ । कसरी हिंडेका थिए होलान्, पहिले पहिलेका मान्छेहरु ? उनीहरु हिंडेको बाटो देखेर त अहिले हामी धेरै सुविधा युक्त बाटोमा हिंडेका रहेछौं भन्ने महसुस पनि गरें । पानी पर्ने बेलै थियो– चिमखोला गाउँ पुग्न लाग्दा चारपाटे झरीले पिट्यो । रेनकोट लगेका थियौं ओडेर हिंड्यौं । चिमखोला गाउँ अलि वरै, बाटो छेउकै घरमा चिया पिउँदै बस्यौं । यात्रामा मसँग थिए– मजस्तै पूख्र्यौली परम्परागत भीरमह प्रत्यक्ष रुपमा काढेको हेर्ने चाहना पालेका पर्वत बनौंका डबबहादुर गर्बुजा ।
भीरमह काढ्न जाने गाउँका साथीहरु हामी आउने बाटो कुरेर बसिरहेका हैंछन् । पानी पर्न कम भए पछि गाउँको डिलमा चढ्दा स्वागत गर्न आईपुगेका थिए– उनीहरु । जसलाई लालप्रसाद पुनले लिडिड्ड गरिरहेका थिए । उनकै अग्रसरतामा म र डबबहादुर गर्बुजा त्यहाँ पुगेका थियौं । ६ गते चिमखोला गाउँ वरिपरि डुलेर बिश्राम गरि ७ गते विहानै खाना खाएर भीरमह काढ्न जाने भन्ने निर्णय भएको रहेछ सोही अनुरुप गाउँ डुलेर ७ गते एकाविहानै भात खाईवरी हामी चिमखोला गाउँबाट हिंड्ने तर्खर ग¥यौं । ५ बजे भन्दा अगाडि नै विहानको खाना खाएको त्यो अनुभव मेरो पहिलो हो । यसो नगरे जंगलको बाटो कहाँ पकाएर खाने भन्ने हुँदो रहेछ । त्यसैले अर्नी त छँदैछ खाना तयार गरेर त्यति छिट्टो खाएर बाटो हिंड्नु मेरो लागि नौलै अनुभव भयो । गाउँदेखि हिंड्ने बेलामा सिमसिम पानी परेको हुँदा झोला सहित रेनकोट ओडेर हामी १५ जना तेर्छो उत्तर तर्फ धौलागिरीलाई ताकेर उकालो बाटो लम्कियौं । अस्ति आउँदा बाउरिएर दुखेको खुट्टामा दुई दिन मुभ लगाएर मालिस गरेको हुँदा दुख्न कम भैसकेको रहेछ ।
थाहा थिएन, हामी कति दिन उतै बस्ने हो यसैले सबैजनाले खाने, पकाउने सामान बोकेर हिंडेका थिए । गाउँका मान्छेहरु हिंड्न माहिर हुन्छन् तर हामी हिंड्न सक्दैनौं भनेर नै हाम्रो हिंडाईसँगै खेल्दै हिंडेका थिए– उनीहरु । जुगा लाग्न कम गर्न खुट्टामा नुन दलेर हिंडेका थियौं । कसैले त खैनी पनि दलेका रहेछन् । र, पनि जुगाले टोक्न छाडेको होइन । सबैको खुट्टामा रगत बगेको थियो । यसरी हिंडेका क्षणहरु मैले क्यामरामा छायाँकन गर्दै पनि थिए । मैले सेमीप्रोफेसनल क्यामरा बोकेर गाको थिए । काम चलाऊ मात्र किन खिच्ने केही गर्न सकिन्छ कि भनेर २०६० साल कार्तिकदेखि नै हामीले खासखास काम परेको बेला महंगो भाडा तिर्दै यसप्रकारको क्यामरा प्रयोग गरि आईरहेका थियौं ।
निकै हिंडेपश्चात चिमखोला गाउँको पुछारमा बग्ने बगर खोलालाई निकै माथि भेट्न पुगिदो रहेछ । अब जुगासँगको जंगलको बाटो होइन यही बगर खोलालाई वारीपारी गर्दै हिंड्नु पर्ने रहेछ । सबै साथीहरु जुत्ता, कपडा नभिजोस् भनेर स्याहार गर्न भारी मिलाउन थाले । म पनि जुत्ता खोलेर हातमा समातेर नदी तर्न अप्ठ्यारो बाटो हिंड्न कस्सिए । हामी मध्येकै धु्रव पाईजा खोला पारी भारी बिसाएर हामी (म, डब र लालप्रसाद) लाई लिन आउँदै थिए । पानी परेर खोला निकै ठूलो भएको रहेछ । बाटो देखाउँदै यतातिर आउनुस् सर भन्दै धु्रव कराउँदै आई पुगे । पानी साह्रै चिसो रहेछ । हिंड्न नमिल्ने गरि खुट्टा चिसो भो । मलाई खोला पारी पु¥याए पश्चात धु्रव फेरि अरुलाई लिन गए । म चाहिं खुट्टा चिसो भएर हिंड््न नमिल्ने महसुस गरि आछु आछु गर्दै भिजेको जुत्ता अझै भिजोस् भनेर मनमनै बरबराउँदै लगाउन थाले । यस्तै प्रकारले त्यो बगर खोला १९ पटक तरेर मात्र हाम्रो बास स्थान (होटल) आईपुग्दो रहेछ । चिमेखोलाका साथीहरु हामी बस्ने ठाउँ सफा गर्न, दाउरा खोज्न पट्टि लागे । हामी बस्ने त्यो ठाउँ होटल होइन है साथीहरु अरबङ ओडार रहेछ । ओडारै चाहिं होइन तर पानी पर्दा नभेट्न त्यो ठाउँबाट आकाश चाहिं पारी भीर र वारी भीरले छेकेर अलिकति मात्र देखिने रहेछ । आजको यात्रा यही सम्म भएको हुँदा भोलि मह काँढ्ने सामाग्रीहरु तयार गर्न पट्टि धु्रव पाईजा सक्रिय भए । उनी नै रहेछन्– मह शिकारी । यसैले नपुग सामाग्री तयार गर्न चहलपहल गर्न लागे । म चाहिं क्यामरा तेस्र्याउँदै उनलाई पछ्याउन लागे ।
मकैसँग भट्मास मिसाएको खाजा ल्याएका रहेछन्– खानतिर लाग्यौं । विहान सबेरै खाएर रेकर्ड राखेको मान्छे म, बेलुकाको खाना पनि ४ बजे नै खाएर फेरि अर्को रेकर्ड राखें । गाउँमा यस्तो त हुने नै भो तर मेरो लागि यो नौलो थियो । जेहोस् परिस्थिति अनुरुप चल्नु पर्छ भन्ने मनन् गर्दै सोही अनुरुप चल्दै थिएँ । सेउला ओछ्याएको ठाउँमाथि विदेशी गुन्द्री ओछ्याएर हामी आगो ताप्दै बसेका थियौं । केही क्षण त कुराकानी ग¥यौं तर थकाईको कारण छिट्टै निद्रा लागेछ, यसैले स्लिपिङ ब्याक भित्र छिरेर सपनाको दुनियाँमा हराएँ ।
दुई भीरको बीचदेखि हिजो तर्दै आएको खोला बग्दै थियो । एकापट्टि भीरको बीचको अप्ठ्यारो ठाउँमा म, डब सर र लालप्रसाद बसेर मह काढ्ने छायाँकन गरिरहेका थियौं । पल्लो भीरमा भएको क्रियाकलाप छायाँकन गर्न भनेर भीराउटे धु्रव पाईजाले ससाना झाप्राहरु फाँड्दै हामीलाई यस ठाउँ ल्याएर आफु भीर मह काढ्न हिंडेका थिए । अग्लो भीरको उपल्लो भागमा पराङ लगी बाँधेर तल खसाल्दै ध्रुव भीर मह काँढ्न झरेका थिए । त्यो भीरमा १७ वटा मात्र महको चाका रहेछ । यो खासै भन्नु पर्दा एकदम थोरै मात्र हो रे– लालप्रसाद आफ्नो पुरानो संस्मरण कथा सुनाउँदैथे । पहिलेपहिले सबै घरबाट एकएक जना आएर मह काढ्ने गरिन्थ्यो । र, मह काढेपश्चात सबैको भागमा धेरै थोरै भीरमह पर्दथ्यो । अहिले जमाना बदलेको छ, सक्नेहरु आउँछन्, मह काँढेर आफ्नो परिवारले मात्र खान्छन् । आफ्नो बाबासँग भीर मह काँढ्न आउँदा खोला तर्न नसकेको कुरा सस्मरण गरिरहँदा म छायाँकन पनि गर्दै थिएँ । उताबाट रन्थनिएका भीर मौरी हामी कहाँ आउँदा डब सर र लालप्रसाद गादा र पछ्यौराले टाउको ढाक्दै नमस्ते भन्थे म चाहिं क्यामरा खिचिरहेको हुँनाले टोक्ला भन्ने डरले आएका मौरीहरुलाई हेर्दै छायाँकन गर्ने काम गरिरहे ।
त्यो बेलुकी हारालेहोराले ओडारमा मह काढेको मह खायौं । महले मात्छ हैं भनेर सजक पनि बनाउँदै थिए । तर यसरी भीर मौरीले टोक्नु, महले मात्नु भनेको आफ्नै शरीरको लागि फाइदा हो रे । महले आफ्नो शरीरको कुन भाग कमजोर छ, त्यही भागमा आक्रमण गर्छ रे । मह खाएरै होला, मलाई पखालो लाग्यो । डब सरलाई त मुर्छा पार्ने गरि पेट कक्करक्क पारेछ, सास फेर्न नै नसक्ने हुनु भो त्यसैले होला हिंड्दा हिंड्दै थचक्क बस्नु भो– अँध्यारो ठाउँमा । पछि साथीहरुले भकम्लीको धुलो र पानी निगलाको डाँठ चपाउन दिनु भयो भने धु्रव जीले नचलिकन बस्न लगाउनु भो । डब सर पनि स्लिपिङ भित्र चुपचुाप सुत्नु भयो । खासमा डब सरको पेट खराब रहेछ । वहाँलाई ग्यास्टिक सम्बन्धी समस्या रहेछ, त्यसैको कारण मह लागेर वहाँलाई त्यसो गराएको रहेछ ।
धौलागिरीमा बसोबास गर्ने पुन मगरहरु कुल पुज्ने कार्य गर्दा करबाकेली पुज्दछन् र करबाकेलीले मह काढ्ने कार्य गर्नु भएको कारण कुल पुज्ने क्रममा समेत भीर मह काढ्दा प्रयोग गरिने सरसामाग्रीहरु राखेर कुललाई सस्मरण गर्ने गर्दछन् । यसर्थ मह काढ्ने कार्य हाम्रो लागि हेर्नै पर्ने क्रियाकलाप भएको हो । यसरी छायाँकन गरिएको कार्यलाई डकुमेन्ट्रीको रुप दिएर रुपन्देही, काठमाडौं, पोखरा र म्याग्दीको विभिन्न गाउँ ठाउँमा प्रदर्शन गर्दा साह्रै सकारात्मक कार्य भएको जानकारी प्राप्त ग¥यौं । लगभग उतिनै बेला हिमाल एशोसियसनले काठमाडौंमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव गर्दैछ भन्ने जानकारी पत्रपत्रिकामा प्रकाशित भएको हुँदा अनुभवको लागि फाराम भरि दर्ता गर्दा संयोगवश गन्तव्य महभीर डकुमेन्ट्री छनोटमा प¥यो । र, काठमाडौं अन्तराष्ट्रिय माउण्टेन फिल्म फेस्टिवल २००४ मा प्रदर्शन समेत भयो ।
महोत्सवमा प्रदर्शन गर्ने अभिप्रायले नबनाइको भएतापनि हाम्रो प्रयासको पहिलो डकुमेन्ट्री छनोट भई प्रदर्शन भयो । महोत्सवमा प्रदर्शन भएका अरु डकुमेन्ट्रीको अगाडि हामी सिकारु भन्दा पनि भावनाले बनाएको डकुमेन्ट्री प्रदर्शन भो । विदेशी तथा स्वदेशी मेकरहरुबाट सकारात्मक सुझावहरु पायौं । धौलागिरीमा मह काढ्ने रहेछन् भन्ने कुरा अरुले पनि थाहा पाए । हाम्रो पूर्खाले मह काढ्ने गर्दथे, हामीले यो पूस्तौनी पेशाको रुपमा भन्दा पनि परम्परागत रुपमा गरिआइरहेका छौं भन्ने कुरा अरुलाई जानकारी गराउनु पनि हाम्रो लागि महत्वपूर्ण हो ।