मेरो सम्झनामा भी. सी. तुलबहादुर पुन
वीरहरुको पनि वीर महावीर ...
आयो वीर गोर्खाली ...
यसरी खुकुरी समातेर वैरीहरुलाई छप्काएका नेपालका भी.सी.हरु मध्येका एक भी.सी. तुलबहादुर पुन बैशाख ७ गते राती ११ बजे आफ्नै जन्मथलो बेगखोला गाविस ९, तिब्ल्याङमा निधन भएछन् । संसारलाई नेपाल चिनाउने व्यक्तिको निधन हुँदा खोई नेपाल सरकारको आधिकारिक श्रद्धाञ्जली र पत्रपत्रिकाले त्यति महत्व साथ निधन भएको समाचार र श्रद्धाञ्जली छापेन । दुःख त लाग्छ तर देश यस्तै छ । मन भुलाउनु पर्छ । आदिवासी जनजातिले मन भुलाउँदै आएका पनि छन् । मेरो स्मृतिमा वहाँसँगको भेट अहिले ताजा भएर आएको छ । यही गन्थन यहाँ प्रस्तुत गर्न चाहन्छु ।
म जन्मनु भन्दा धेरै अगाडि १ जनवरी १९४५ सालमा नै थर्ड सिक्थ गोर्खा राइफल्सका सैनिक नं. १०११९ का तुलबहादुर पुनले भी.सी. पदक प्राप्त गरिसक्नु भएको हो । पुन मगर अन्तर्गत तिलिजा (पत) उपथरमा जन्मनु भएका भी.सी. तुलबहादुर पुनको गाउँ बेगखोला गा.वि.स. अन्तर्गत बाँदुकको ८ नं. वार्डमा पर्दछ । म्याग्दी जिल्लाकै नाम विश्व सामु प्रचलित बनाउन सफल उनी बेलायतको हन्स्लोमा बसोबास गरिआइरहेका थिए । उनको दुई श्रीमतिबाट २ भाई छोरा र ८ बहिनी छोरीहरू छन् ।
म यस्तै ६/७ वर्षको हुँदो हो, त्यतिबेला भी.सी. तुलबहादुर पुन सेतो घोडामा चढेर बाँदुकबाट बेग गाउँको देउराली जहाँ प्राय हामी गुच्चा खेल्थ्यौं– आउने गर्नु हुन्थ्यो । उनलाई देखेर हामी निकै त्रसित हुन्थ्यौं । यो बुढा पागल छ– यसले धेरै मान्छे खुकुरीले काटेको छ । त्यसैगरि तिमीहरूलाई पनि काट्ला हैं भन्दै हामी केटाकेटीलाई तर्साउन ठूला बडाहरू भन्ने गर्दथे । हामी त्यही तर्साहटमा फसेका पनि थियौं । उनको आगमन हुनु अगाडि नै उनी हिंड्ने बाटोदेखि हामी निकै टाढा दौडिसकेको हुन्थ्यौं । निकै टाढा पुगेर मात्र वहाँ हिंडेको बाटो फर्केर हेर्ने गर्दथ्यौं ।
दोश्रो विश्व युद्धमा खुकुरीले दुश्मनलाई काट्दा उनको हातदेखि खुकुरी छुट्टाउन तातो पानीमा डुबाउनु परेको थियो रे भन्ने कुराले पनि मन झसङ हुने गर्छ । यस्तो कुराहरू सुन्दा जो कोही डराउनु स्वभाविक पनि हो । समयको अन्तरालमा जब उनलाई २०५८ सालमा उनकै निवास पोखरामा भेटें, सानो छँदाको त्यही कुराले चसक्क मन छोएको थियो । उनी (भी.सी.) सँग हामीलाई भेटाउने/चिनाउने जिम्मा उनकै छोरी–भान्जा फुलबहादुर पुनले जिम्मा लिनु भएको थियो । साईनो लगाउँदै जाँदा एउटै गा.वि.स.को हामी नाति–बाजे पर्ने भयौं । यसै क्रममा विगतका ती युद्धका दिनहरू हामीलाई सुनाउन आग्रह गयौं । बुढेसकालमा पनि सम्झीसम्झी हामीलाई लडाईको झझल्को दिलाउनु भयो । हामी पनि चाख मान्दै सुन्यौं । कान अलि कम सुन्ने र आँखा अलि कमजोर भएकै कारण उनीसँग जहिल्यै भेट्दा पनि आफ्नो परिचय दिनु प¥यो– मलाई । तर चिनिसकेपछि चाहिं राम्रैसँग सम्झने र हालचाल बुझ्न पट्टि लाग्ने बानी नै थियो– उनको ।
उनी, युद्धको इतिहास बोकेको एउटा जिउँदा मान्छे । साहसपूर्वक विश्व युद्ध लडेकै कारण विश्व प्रख्यात भी.सी. पदकले उनी विभुषित हुनु भयो । उनले आफ्नो नाम विश्वभर राख्न सफल भए । बेगखोला गा.वि.स.मा उनको जन्म भएकै कारणले भी.सी. जन्माउने गाउँको रूपमा यो गा.वि.स. विश्वमा परिचित भयो । उनलाई शुरुमा गेसो आन्दोलनमा लागेको हुँदा उपचारको लागि बेलायत जाने भिसा पनि दिइएको थिएन । तर पटक पटक एप्लाई गरिरहे पछि ब्रिटिश एम्बेसीले उनलाई भिसा लगाई दिएको थियो । बेलायत जान लाग्दा उनलाई पोखरा र काठमाडौं एयरपोर्टमा भव्य विदाई गरेका थिए– गोर्खा सैनिक परिवारले ।
यसरी वृद्ध अवस्थामा उपचारको लागि हिथ्रो एयरपोर्ट पुग्दा कोही सर्वसाधारणलाई नदिएको गार्ड अफ अनरद्वारा वहाँलाई बेलायत सरकारले सम्मान गरेको थियो । जुन कुरा त्यहाँको पत्रपत्रिकाले निकै महत्वको साथ प्रकाशित गरेको थियो । संयोगवश म पनि करिब त्यही (२००७ साल) समय बेलायत पुगेको थिएँ । उनलाई सम्मान गरेको समाचारहरु पढ्ने मौका पाएँ । मगर संघ बेलायत र पुन समाज बेलायतले त्यही अवसरमा वहाँलाई सम्मान गर्ने अवसर जुराएको थियो । तर दुवै कार्यक्रममा वहाँको स्वस्थ्य स्थिति त्यति राम्रो नभएकै कारण वहाँ उपस्थित हुन सक्नु भएन । नेपाल फर्कने दिन मलाई एयरपोर्ट छाड्ने तथा भी.सी. बाजेलाई भेटाई दिने जिम्मा बेग गाउँकै योगकुमार फगामी दाईले लिनु भयो । योग दाई, वहाँको श्रीमति शर्मिला फगामी, म र हामी दुवैको माईज्यू मिलेर वहाँ बसिरहनु भएको घर (हन्स्लो) खोज्दै पुग्यांै । तर वहाँ विरामीले च्यापेको कारण अस्पताल भर्ना हुनु भएको रहेछ । मेरो जहाज उड्ने समय अझै बाँकी रहेको हुँदा हामी अस्पतालको नाम, वार्ड र बेड नं. लिएर त्यतापट्टि हानियौं ।
अस्पतालको सबै खर्च बेलायत सरकारले बेहोर्ने समाचार प्रकाशित भईसकेको थियो । हामी अस्पताल पुग्दा उनको (भी.सी.) श्रीमति एक्लै रहेछन् । एउटै गाविसको अझ नाता पर्ने भएको हुँदा वहाँले हामी सबैलाई चिन्नु भो । सबै एकै पटक भित्र पस्न नपाउने रहेछ त्यसैले पालोपालो जानु पर्ने भो । योग दाईको श्रीमति र माईज्यू गएर भेट गरि फर्के पश्चात म र योग दाई भित्र गयौं । मैले नेपालबाटै भिडियो क्यामरा पनि लिएर गएको थिएँ– अस्पतालको नर्ससँग अनुमति मागेर खिंच्न थाले । एउटै गाउँको भए पनि आँखा कमजोर भएको कारण फलानोको छोरा म र यो फलानाको छोरा– चौतारा घरको भनेर योग दाईले चिनाउनु भए पश्चात वहाँले हामी दुवैलाई चिन्नु भो ।
म त विरामी भएँ तिमीहरु ठिक छौं हैन, भनेर सोध्नु भो । वहाँको स्वास्थ्य र उनीसँग भलाकुसारी पश्चात अस्पतालमा धेरै बस्न पनि भएन यसैले म त आज नेपाल फर्कदैछु— तपाई यस्तो राम्रो ठाउँमा उपचार गर्दै हुनुहुन्छ चाँडै निको हुन्छ बाजे चिन्ता नलिनु हैं भनेर हौसला दिएँ । नेपाल जाने भनेपछि वहाँको आँखा रसाएको अनुभव भो मलाई । एयरपोर्ट पुग्नु पर्ने समय भएको हुँदा सबैसँग विदा भएर हामी हिथ्रो एयरपोर्ट तर्फ लाग्यौं ।
यो ४ वर्षमा भी.सी. बाजे ३ पटक नेपाल आएर पुनः बेलायत जानु भएछ । अन्तिम पटक उनी गत चैत्र महिनामा नेपाल आएर तातो पानी पस्न सिंघा तातो पानी जानुभएको रहेछ र बैशाख १ गते तिब्ल्याङ फर्के पश्चात उनको निधन भएछ । आफु जन्मेको ठाउँमा मर्ने उनको चाहना पुरा त भयो तर सर्वसाधारण भन्दा राम्रो तरिकाले भए पनि उनले कमाएको नाम अनुसार उनको दाहसंस्कार भएन । मलाई लेख्नु मन लागेको कुरा चाहिं के हो भने वहाँ मात्र होइन नेपालले १२ वटा भी.सी. विजेताहरु प्राप्त ग¥यो । तर खोई किन हो उनीहरुलाई नेपालले सम्मान गर्नै जानेन् । यो सोंच्दा अचम्म लाग्छ । खोई यो देशमा आफैले आफैलाई सम्मानको लागि सिफारिश गरेर मान पदवी प्राप्त गर्न चाहिं मिल्छ तर सम्मानको असली हकदारहरुलाई चाहिं पाखा लगाउने चलन हिजो पनि थियो, आज लोकतन्त्र आएको बेलामा त नहोला भनेको अभै पनि उस्तै छ । कठै, सतिले सरापेको देश भनेर कहिले सम्म भन्नु पर्ने हो ।