विषय परिचय :
सिनेमा काल्पनिक कथा हो तर अधिकांश सिनेमा समाजकै घटना र पात्रबाट टिपेर बनाइन्छ । मौलिक कथा र यथार्थ जीवनीसँग नजिक रहेर बनाइएको सिनेमाहरुको मुल्याँकन समाजमा उच्च रहन्छ । सिनेमा समाजको दर्पण र मनोरञ्जनको माध्यम भन्छांै । चलचित्रकर्ममा लागेका व्यक्तिहरुले सिनेमा व्यापार भईकन पनि यथार्थको धरातलमा रहेर चलचित्र निर्माण गर्ने प्रयास गर्नु पर्दछ । वर्तमानमा चलचित्र मनोरञ्जनको माध्यम मात्र नभएर यसले देशको इतिहास, प्रचारप्रसार र पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेलिरहेको छ । यसले जातिको भाषा, संस्कृति, संस्कार अनि भुगोलको कुरा र यसलाई संरक्षण, सम्वद्र्धन गर्दै देश निर्माणको कुरा पनि गर्दछ ।
खासगरी चलचित्र— श्रव्यदृश्यात्मक प्रस्तुति भएको र यसप्रकारका प्रस्तुतिबाट मानव मस्तिष्कमा छिट्टो प्रभाव पर्ने भएको कारण हामीले चलचित्रको माध्यमबाट विश्व समक्ष हाम्रा साँस्कृतिक र प्राकृतिक सुन्दरताहरुलाई श्रव्यदृश्यमा प्रस्तुत गर्दै चलचित्रले आफ्नो देश चिनाउन प्रयासरत रहन्छ । तथापि मौलिक, राष्ट्रिय भावनाले ओतप्रोत, आफ्नोपन र जनजीवन बोकेका चलचित्र कमै मात्र बन्ने गर्दछ ।
सन्दर्भ
हिन्दी चलचित्र आदिपुरुष ६ सय करोडमा निर्माण गरी हालै प्रदर्शन भईरहेको छ । यो चलचित्र महर्षि वाल्मीकिले लेखेका रामायणमा आधारित रहेर निर्माण गरिएको एपिक चलचित्र हो । प्रदर्शन पुर्व टे«लर रिलिज हुँदा नै यसको पात्रहरुको एनिमेसन नमिलेको भनेर भारतमा विरोध समेत भएको थियो । बिशेष गरी रावणको भुमिकामा सेफअली खानको भुमिका एनिमेसनमा असुहाउँदो भनेर विरोध भएको थियो । रावणको दश टाउको एनिमेसनमा नमिलेको भनेर झन विरोध भएको थियो । ५ सय करोडमा बनेको चलचित्रको एनिमेसन नमिलेको भनेर अर्को १ सय करोड खर्च भएको थियो । यस चलचित्रलाई रामायणमा पात्रहरुलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा व्याख्या समेत गरी नयाँ नयाँ अविश्वसनीय दृश्यमा देखाइएको कारणले पनि यो चलचित्रको विरोध भएको हो । रामलाई जीसस जस्तो देखाइएको, सुनको दरबारमा बस्ने रावणलाई कोइला जस्तो घर अजिङगरको घेरामा बसेको देखाइएको साथै राम, सीता, लक्ष्मण, रावणको संवाद पनि कतिपय ठाउँमा निम्न स्तरको लेखिएको कारण आपत्ति जनाइएको छ । चलचित्रमा भगवान रामको भुमिकामा प्रभास, सीताको भुमिकामा कृति सेनन, सन्नी सिंह लक्ष्मण र रावणको भुमिकामा सैफअली खानले भुमिका निर्वाह गरेका छन् । यस चलचित्रको निर्देशक ओम राउत र डायलग÷गीत मनोज मुन्तासिर शुक्लाले गरेका हुन् ।
चलचित्रमा हनुमानको सम्वाद :
कपडा तेरे बापका, तेल तेरे बापका, आग भी तेरे बापकी तो जलेगी भी तेरे बापकी ।
चलचित्र प्रदर्शन भएपश्चात यसको डाईलग अति निम्न स्तरको भएर दर्शकहरुले ब्याण्डनै गर्नु पर्छ भनेर भारतमा विरोध भएको छ । चलचित्रमा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पु¥याएको भन्दै हिन्दु सेनाले आदिपुरुष चलचित्र विरुद्ध दिल्ली उच्च न्यायलयमा रिट दायर गरेर सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग भएको छ ।
के हो सिनेमा ??
सिनेमा— विगतदेखि वर्तमानसम्मको कुराहरू समेटेर कुनै एतिहासिक, कुनै यथार्थपरक, कुनै शिक्षामुलक त कुनै शुद्ध मनोरञ्जनको लागि निर्माण भएको हुन्छ । यसैले चलचित्रलाई समाजको दर्पण भनिन्छ । चलचित्रले संस्कृति हस्तान्तरण, अन्वेषण, भाषा पुनःउपयोग र जातीय जागरण/सचेतना ल्याउने कार्य समेत गर्दछ ।
चलचित्रमा मुलुकको ऐतिहासिक, धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र पुराताŒिवक कुराहरुलाई सजिव रुपमा प्रस्तुत गरि प्रदर्शन गरे देशमा पर्यटन वृद्धि गर्ने सबैभन्दा प्रभावशाली माध्यम रहेको श्रव्यदृश्य (चलचित्र) क्षेत्रको विकास र संरक्षणको लागि प्रयास भइरहेको भए पनि अझ ठूलो लगानी र अत्याधुनिक प्रविधिमा निर्माण भएका विदेशी सिनेमाहरु (अंग्रेजी र हिन्दी) नेपालमा सर्वशुलभ हलहरुमा प्रदर्शन हुने भएको कारण नेपाली सिनेमा ती विदेशी सिनेमाको चपेटामा परेको कुरा सबैलाई थाहा भएकै छ ।
कोरियामा कोरियन चलचित्र उद्योग दयनिय अवस्थामा पुगेको बेला सरकारले कोरियन फिल्मलाई प्रदर्शनको लागि हलमा लगाउनै पर्ने बाध्यकारी नियम बनाई दिएको करण अहिले कोरियन चलचित्र उद्योगले विश्व बजारमा अन्य चलचिलहरुसँग प्रतिस्पर्धा गरिरहेको छ । प्यारासाईटले ओस्कार अवार्डको मुख्य विद्या अन्तर्गतको अवार्ड जितिसकेको सन्दर्भमा नेपालमा नेपाली चलचित्र र आदिवासी मातृभाषीमा बनेको चलचित्रलाई प्रदर्शनको लागि हल मालिकहरुबाट सहयोग नपाउनु समस्याकै एउटा रुप हो ।
भाषा, संस्कार र संस्कृतिको अभिलेख — सिनेमा
२१ औं शताब्दीको महत्वपूर्ण माध्यम संचार हो । र, सिनेमा संचारको अभिन्न अंग । सिनेमा भाषा, संस्कार, संस्कृतिको अभिलेख राख्ने महत्वपूर्ण माध्यम पनि हो । सभ्यताको अहिलेको यो लडाईमा पुस्तक, पत्रपत्रिका प्रकाशनको साथै (श्रव्यदृश्य) सिनेमाले पनि झन आत्मबल प्रदान गर्दछ । साथै यस कर्ममा लागेका व्यक्तिहरुले समाजमा चलचित्रले पार्ने प्रभाव र यसको महत्वबारे अध्ययन गर्दै विशेष सजकता साथ सचेत रहनु पर्दछ ।
विकसित मुलुकले श्रव्यदृश्यको माध्यम प्रयोग गरि भु–उपग्रह (सेटेलाईट) प्रयोग गर्दै अर्को देशमा बसोबास गरिरहेका जनता समक्ष आफ्नो देशको भाषा, संस्कृति, संस्कारलाई देखाउने, सिकाउने तथा प्रवद्र्धन गर्ने सजिलो माध्यम बनाई रहेका छन् । यसैले श्रव्यदृश्य माध्यम विकसित देशको लागि राजनीति पनि हो । यसप्रकारको राजनीतिबाट एउटा देशले अर्को देशलाई भौतिक रुपमा (सिमाना) जितिरहनु पर्दैन । यस्ता सिनेमाहरुलाई सम्बन्धीत देशले मनोरञ्जन कर छुटको व्यवस्था गरि बिशेष प्राथमिकतामा राखेर सहयोग गरेको हुन्छ । जसको प्रसारण देश÷विदेशसम्म हुन्छ । यसप्रकारको सिनेमाले देशको भाषा, संस्कार, संस्कृतिलाई अन्य देशमा समेत प्रचार र बिस्तार गर्दछ । भारतीय च्यानलहरु सर्वसुलभ तरिकाले नेपालमा प्रशारण हुँदा हिन्दी भाषा सिक्ने र त्यहाँको संस्कृतिहरु थाहा पाउनुको साथै नेपालमा देखासिकी गरिरहेका छन् । जस्तै विवाह गर्दा हिन्दी संस्कृति अनुसार मेहन्दी लगाउने संस्कृति नेपालमा पनि प्रयोग भईरहेको छ । विदेशको बेबी सावर पनि प्रयोग शुरु भईसक्यो ।
तर नेपाली संस्कृति र नेपाली चलचित्रलाई नेपाल सरकारले प्रवद्र्धन गर्न सहयोग गरिरहेको छैन । वर्ष वर्षमा बनेका उत्कृष्ट चलचित्रहरुलाई सहयोग, सम्मान एवम् विदेशमा सिफारिश गर्न चलचित्र विकास बोर्ड मार्फत नेपाल सरकारले सहयोग गर्न सक्नु पर्छ । ओस्कारमा नेपाली चलचित्रलाई सिफारिस मात्र गर्दछ तर त्यतिले मात्र पुग्दैन । सिफारिस गरिएको नेपाली चलचित्रलाई ओस्कारको बेला प्रवद्र्धन र प्रचारप्रसार गर्न पनि सरकारले चलचित्रकर्मीलाई सहयोग गर्न सक्नु पर्छ ।
आफ्नो संस्कृति, परम्परा र भाषाहरूको संरक्षण र संवद्र्धनमा सिनेमाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । जबसम्म कुनै जातिको भाषा, साहित्य, संस्कृतिको खोज, अनुसन्धान गर्दै प्रबद्र्धन र प्रचार गर्न सकिन्न तबसम्म ती जातिको अस्तित्व पहिचान हुन सक्दैन । यसर्थ पनि संचारको क्षेत्रमा सिनेमाको बेग्लै महत्व रहेको छ ।
आफ्नो जीविकापार्जन र आफ्नो आवश्यकता पुरा गर्नका लागि आफ्नो ज्ञान, बुद्धि, विवेक, शिप, क्षमताको उपयोग गर्दै अनवरत रुपमा अवलम्बन गर्दै पूर्खाहरुबाट विरासतका रुपमा प्राप्त मौलिक, परम्परागत जीवनशैली वा जीवनपद्धति नै संस्कृति हो । संस्कृति भित्र परम्परागत रुपमा प्रचलित खानपान, भेषभूष नाचगान, धर्म–कर्म, हाँसखेल, ज्ञान, कला, शिप, साहित्य, चाडपर्व, उत्सव, संस्कार– अनुष्ठान आदि परम्परागत प्रथा–प्रचलनहरु पर्दछन् । कुनै पनि जाति वर्ग र समुदायको संस्कृतिभित्र उसको भाषा, साहित्य, इतिहास, दर्शन, चिन्तन, भूगोल, परम्परा जस्ता वस्तुहरु पर्दछ । मानिस जुन संस्कृतिमा हुर्कन्छ सोही अनुसार उसको सोचाई, बुझाई तथा आचरण बन्ने गर्दछ । मानिस जतिनै सभ्य र आधुनिक बन्न पुगे पनि उसको व्यवहारमा प्राचीन संस्कृति कतै न कतै झल्केकै हुन्छ । अर्थात संस्कृति रातारात निर्माण नभई प्राचीन समयदेखि नै निरन्तर रुपमा हस्तान्तरण हुँदै आएको वस्तु हो । त्यसैले संस्कृति जाति, धर्म, भूगोल, देश अनुसार फरक फरक खालका हुन्छन् ।
हिन्दी चलचित्रले स्वभाविक रुपमा भारतको गुनगान गाउँछ नै । जसमा भारतको संस्कृति, जीवनशैली, कला, चाडपर्व, इतिहास, दर्शन र उसको भुगोलको बारेमा बढाई चढाई गरेको नै हुन्छ । र, भारतले छिमेकी मुलुक पाकिस्तानलाई जहिले पनि आतंकवादको देश भनेर चित्रण गरिरहन्छ । आतंकवादी लुकाउने ठाउँ र पाकिस्तानकै कारण भारतमा विभिन्न घटना एवम् आतंकवादी आक्रमण भएको भनेर चित्रांकण गर्दछ । यसै गरि हिन्दी चलचित्रमा नेपालीलाई देखाउँदा गेटपालेको रुपमा देखाउने गर्दथ्यो तर अब नेपाललाई पनि आतंकवादको देश भनेर चलचित्रमा भन्न थालिरहेको छ ।
तमिल फिल्म वाईल्ड डग जसलाई नेटफिल्क्सिमा रिलिज गरिएको थियो । र, यो चलचित्रलाई हिन्दीमा पनि डबिङ गरिएको छ । फिल्मलाई नेपालमा पनि सुटिङ गरिएको रहेछ । तर भारतबाट आईएसआईको आतंकवादी आएर लुकेको र आतंकवादीलाई माओवादीले समेत संरक्षण दिइराखेको फिल्ममा छायाँकन गरिएको छ । र, भारतबाट आतंकवादी खोज्न आएको ५ जना एनआईएका जवान र नेपालमा रहेकी एक जना भारतीय एजेन्ड ६ जनाले संरक्षण दिइराखेको सबै माओवादी समुह ध्वस्त पारेर आतंकवादीलाई भारत लैजान खोज्दा नेपालको साँंसदले सेना, पुलिस सबैलाई अर्डर दिन्छ— बोर्डरमा रोक्न । यी सबैको वावजुद एनआईएका मान्छेले आतंकवादीलाई भारत लैजान सक्षम हुन्छ ।
अक्षय कुमार अभिनित चलचित्र बेबी पनि काठमाडौंमा छायाँकन गरिएको थियो । यो चलचित्रमा पनि आतंकवादी आएर काठमाडौंमा लुक्न आएको हुन्छ र त्यसलाई खोज्न भारतको एजेन्ड आएर पक्रन खोज्छ ।
यस्तो हिन्दी चलचित्र बन्दा नेपालको ईज्जत चाहिं बढ्ने होइन बरु घट्छ । भारतको चलचित्र नेपालमा सुटिङ गर्न आउँदा नेपालको ईज्जत जाने खालको कथा र त्यो कथाले नेपालको मान बढ्नुको सट्टा घट्छ भने बरु सुटिङनै गर्न नदिए हुन्छ । विदेशी चलचित्र छायाँकनको लागि आउँदा चलचित्र विकास बोर्डमा छायाँकनको लागि समन्वय गरिन्छ । नेपाली चलचित्र निर्माण ईजाजत माग्दा चलचित्रको स्क्रिप्ट मागिन्छ ।
भारतको यस्ता चलचित्रहरु छायाँकनमा आउँदा विकास बोर्डले स्क्रिप्ट माग्ने गर्नै पर्छ नत्र नेपाललाई जहिले पनि आतंकवाद लुक्न आउने देशकै रुपमा चित्रित गरिने छ । र, विदेशीले ती चलचित्र अवलोकन गरेपश्चात नेपाललाई आतंकवादको देश भनेर चिन्ने छ ।
नेपालीहरु विभिन्न देशमा पुगिसकेका छन् । हिन्दी चलचित्रलाई जसरी विदेशमा बसेका भारतीयहरुले प्रदर्शन र अवलोकनको लागि पहल गरिदिने विभिन्न अवार्ड कार्यक्रमहरु आयोजना गरिदिने गर्दछन् त्यसै गरि विभिन्न ठाउँमा गठन भएका एनआरएनले नेपाली चलचित्र प्रदर्शनको लागि पहल गरिदिने पहल गर्न सक्छन् ।
हलिवुड चलचित्रको दाँजोमा भारतीय चलचित्र कम लगानीमा बनेको हुन्छ । त्यसै गरि भारतीय चलचित्रको दाँजोमा नेपाली चलचित्र कम बजेटमा बन्दछ । अर्थात हलिवुड चलचित्रको प्रविधि नेपाली सिनेमामा खोज्दा पाईदैन कारण आर्थिक लगानी नै हो तर मौलिक नेपाली चलचित्रमा पाउने नेपाली स्वाद हिन्दी र अंग्रेजी चलचित्रमा खोजेर पाईदैन । यसर्थ नेपालले बनाउने भनेको मौलिक नेपाली सुगन्धको चलचित्र नै हो जसलाई विदेशमा प्रदर्शन गर्ने वातावरणको लागि नेपाल सरकार र विदेशमा गठन भएका नेपाली संघ/संस्थाले नै हो । यसो हुन सकेमा नेपाली चलचित्र हेर्ने संस्कृतिको विकास हुनुको साथै विदेशीहरुले पनि मौलिक नेपाली चलचित्र हेर्ने वातावरण बनाउन सक्नु पर्दछ ।
आदिपुरुष
यो आदिपुरुष चलचित्र रामायण एपिकमा निर्माण गरिएको हो भनेर प्रदर्शन पुर्व भनियो भने प्रदर्शन पश्चात रामायणमा आधारित भएर निर्माण गरिएको होइन पनि भनियो । यो बिजेपी बिशेष गरि मोदीको समर्थक मनोज शुक्लाले लेखेको चलचित्र हो । शाहरुख खानको पठान चलचित्रलाई प्रदर्शन पुर्व गेरुवा रंगको दुरुपयोग भएको भन्दै जसरी विरोध गरियो त्यही समुह आदिपुरुष चलचित्रको सन्दर्भमा चुपचाप बस्यो ।
सिता नेपालको जनकपुरमा जन्मेको भनेर रामायणमा लेखिएको छ भने यो भन्दा अगाडि रमानन्द सागरले बनाएका सिरियल रामायणमा पनि छ तर यो आदिपुरुष चलचित्रमा सिता भारतको छोरी भनेर भनियो । यही विषयमा टिभीमा मनोज शुक्लालाई सोध्ने क्रममा नेपाल बारे मनोज शुक्लाले नेपाल भारतको प्रान्त भनेर गलत अभिव्यक्त दिए । संसारमा नेपाल एउटा यस्तो देश हो जसलाई कुनै देशले जित्न सकेको इतिहास छैन । भारतमा ब्रिटिशको साम्राज्य बस्यो तर नेपाललाई ब्रिटिशले जित्न पनि सकेन यो गौरवपुर्ण इतिहास थाहा नभएका मनोज शुक्लाले नेपाल भारतको प्रान्तनै भनिदिए । कवि, लेखक मनोज शुक्लाले नेपाल बारे यति तुक्ष्य अभिव्यक्त दिईरहँदा नेपाल सरकारले कुनै प्रतिक्रिया दिन सकेन । भारतको पार्लियामेन्टमा ग्रेटर भारतको नक्शा राख्दा समेत प्रतिक्रिया नदिने सरकारबाट के आशा गर्नु ?
भारतले छिमेकी देशप्रति जहिले पनि गिद्धेदृष्टि राखिरहयो । यो पार्लियामेन्टमा राखेको नक्शा एवम् बनिरहेको चलचित्रबाट उनीहरुको हेपाहा व्यवहार थाहा हुन्छ । जसको प्रतिकार नेपालले दिन सकेको छैन । यसबारेमा संसदमा आवाज उठ्नु पर्ने हो तर खोई ? यस सम्बन्धमा काठमाडौंका मेयर बालेन शाहको दृष्टि धेरै माथि रहेको महसुस भयो । व्यक्तिले विरोध गर्न चाहेको खण्डमा सम्भव हुने रहेछ । भारतको पार्लियामेन्टमा राखेको नक्शाको विरोध स्वरुप ग्रेटर नेपालको नक्शा अफिसको भित्तामा राखिदिए । आदिपुरुष चलचित्र मात्र होइन संवाद नसच्याए भारतीय चलचित्र नेपालमा लाग्न नदिने भन्ने अभिव्यक्ति स्रहानीय रुपमा लिएको छु । कारण भारतीय चलचित्रमा नेपालबारे दिइने अभिव्यक्त— को स्वाभिमान नेपालीलाई मन पर्छ र ? पहिले पहिले गेट पालेको रुपमा मात्र नेपाली अनुहारको मान्छे राखेर गोर्खे भनिरहन्थ्यो । अहिले आतंकवादीलाई संरक्षण दिने देशको रुपमा चित्रण गरिरहेको छ । त्यसो हो भने नेपाली चलचित्रमा भारतीय मुलका मान्छेलाई कवाडी उठाउने, चोर र हत्यारा भनेर चलचित्र बनाउँदा कस्तो होला ?
निष्कर्ष
यसर्थ चलचित्र मनोरन्जनको माध्यम मात्र रहेन अब । चलचित्र बनाउने व्यक्तिले कस्तो चलचित्र निर्माण गर्दैछ सो सम्बन्धी समाज, संस्कृति, इतिहास बारे गहन अध्ययन गरेको हुनुपर्छ । आदिपुरुषले लेखिएको रामायण भन्दा फरक तरिकाले चलचित्र निर्माण गरेकै कारण नेपालमा मात्र होइन भारतमा पनि विरोधका स्वरहरु उठिरहेको छ । यसको लागि चलचित्र निर्माण पक्षले झन गलत अभिव्यक्ति दिईरहेको कारण यो चलचित्रप्रति सर्वसाधारणबाट विरोधका आवाज दिनप्रति दिन बढिरहेको छ । नेपालको संसदमा चुनेर पठाएका सबै सांसदहरु मुर्दा सरह भत्ता पचाउने मात्र भए कम्तीमा मेयर बालेन शाहले बोलेका छन्— उनीप्रति पुर्ण समर्थन छ । र, भारतीय चलचित्र या विदेशको चलचित्र नेपालमा छायाँकन गर्न आयो भनेर चलचित्रले नेपालप्रति के भन्न खोजिएको छ नबुझिकन छायाँकन गर्न अब अनुमति दिनु हुँदैन । साथै कस्तो चलचित्र बनेको छ यथार्थ नबुझीकन नेपालमा प्रदर्शन गर्न पनि दिन हुँदैन यसको लागि चलचित्र विकास बोर्डको सक्रियताको आवश्यकता देखियो ।
मेजन पुन