सन् १९५७ तिर बोरिस लिसानोभिचले नेपालमा रोयल होटल खोलेर पर्यटकलाई प्याकेज बेच्न थाले । जिम एडवर्डको टाईगर टप्स होटलको स्थापनासँगै बेच्न थालिएको जंगल सफारी तथा जिम कोमम्यानले संचालनमा ल्याएको हन्टिङ प्याकेजले पनि नेपालको पर्यटन उद्योगलाई बिशेष योगदान दियो ।
सन् १९५७ मा पर्यटन विकास बोर्ड र सन् १९५९ मा पर्यटन विभाग बनाएको नेपालले त्यसको एक वर्षअघि तत्कालीन शाही नेपाल वायु सेवा निगमको स्थापना गरेको थियो । सन् १९७७ मा अन्नपुर्ण पदयात्रा मार्ग खुला गरियो । त्यसले गण्डकी क्षेत्रलाई संसारमै चिनउने काम ग¥यो । अन्नपुर्ण पदमार्ग अहिले पनि विश्वको चर्चित र उत्कृष्ट पदयात्रामा गनिन्छ । तर मोटर बाटोको निर्माणले यसको दुरी खुम्चिएको छ ।
हिस्तान टिकोट |
नेपाल पर्यटन बोर्डले २०११ अवसरमा महाविर पुनले म्याग्दीमा खोल्न थालेको नयाँ पदमार्ग र अवधारणा बारे जानकारी गराए । सो कार्यक्रममा युएनडिपीले सञ्चालन गरेको माइक्रो इन्टरप्राइज डेभलपमेन्टका प्रतिनिधि पनि रहेछन् । यही पदमार्ग सम्बन्धी विकासमा युएनडीपी अन्तर्गत लद्यु उद्यम विकास कार्यक्रम (मेडेप) का प्रमुख लक्ष्मण पुन र महाविर पुनको पुनः कुराकानी भएसँगै यो रुटको विकास गर्ने योजनाको शुरुवात भयो ।
डा. लक्ष्मण पुन |
यो रुटमा पर्ने १० वटा गाउँ र लद्यु उद्यम विकास कार्यक्रमसँग मिलेर यो ईको टे«किङ रुटको शुरुवात गर्ने भन्ने सल्लाह भई समुदायद्वारा नै व्यवस्थापन गरिने ईको ट्रेकिङ रुट खोल्ने निर्णय भयो । र, मेडेप संस्थाले यो रुट व्यवस्थापन तथा विकास गर्न खिवाङका लक्ष्मी बुदुजा मगरलाई जिम्मा दियो । यो कुरा द्वन्द्वकाल समाप्त ताकाको हो ।
लक्ष्मी बुदुजा |
यो रुटको विकास गर्न मेडेप संस्थाबाट ६० प्रतिशत र प्रत्येक गाउँबाट ४० प्रतिशत खर्च गर्ने गरि २००९/२०१० सालमा अवलोकन भ्रमण र समुह निर्माण गर्ने, बासस्थान बनाउने गरि शुरुवात भयो ।
सबै गाउँको सदस्य रहने गरि यो रुटको व्यवस्थापन गर्न महाविर पुनको अध्यक्षतामा अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरण पर्यटन विकास तथा प्रवद्र्धन नामक संस्था स्थापना गरि प्रत्येक गाउँसँगको सहकार्यमा संचालन तथा यो रुटको प्रचार प्रसार गर्ने निर्णय गरियो ।
यो रुटको प्रस्थान विन्दु गलेश्वरको घुमाउने तालदेखि शुरु भई बाँसखर्क, डाँराकटेरी, नागी, मोहरेडाँडा, डाँराखर्क, हिस्तानको टिकोट, खिवाङ, स्वात, ढानखर्क र खोप्रामा होटल, पसल र टि हाउसको व्यवस्था गरिएको छ ।
यो रुटमा पर्ने सबै गाउँलाई २०/२० सेट सिरानी/तकिया/डनलप/सिरक दिने व्यवस्था गरि किचन व्यवस्थापनको लागि सबै गाउँलाई किचन सामाग्रीहरु पनि शुरुमा हस्तान्तरण गरिएको थियो । विदेशी तथा स्वदेशी पर्यटकहरुको लागि यो टे«किङ रुटमा पर्ने गाउँहरुको संयोजनमा स्वयम् सोही गाउँले खाने, बस्ने व्यवस्थापन गरिरहेका छन् ।
यो ट्रेकिङ रुट संचालन गर्न लद्यु उद्यम विकास कार्यक्रम (मेडेप) मार्फत खाना पकाउने तालिम, गाउँमै भएका लोकल गाईड र भरियाहरुलाई प्रशिक्षण, यो रुटमा फोहोर मैला व्यवस्थापन, वन्यजन्तु तथा वन संरक्षण सम्बन्धी तालिमको व्यवस्थापन, ट्रेकिङ बाटो निर्माण, होमस्टे व्यवस्थापन तालिम दिएर शुरुवात भएको थियो ।
सुन्तलाको गाउँ बाँसखर्क |
यो रुटको उद्देश्य पर्यटकहरुलाई गाउँमा पु¥याउनु मात्र नभएर गाउँको खान्कीको प्रवद्र्धन र गाउँमै रोजगार सृजना गर्नु पनि हो । गाउँकै लोकल गाईड र गाउँबाट नै भरियाहरुको व्यवस्थापन गर्न सक्यो भने गाउँमा आएको अर्थ गाउँमै चलायमान हुने हुँदा गाउँको विकासमा केही टेवा दिन सकिन्छ भन्ने सोंचको साथ शुरुवात गर्न पहल गरिएको पनि हो । अर्थात गाउँलाई उद्यमशील बनाउने बाटोमा यो एक पाईला चाल्ने प्रयास भएको हो ।
यो रुटमा पर्यटकहरुलाई गाउँमै उत्पादन हुने लोकल गाउँको खान्की खुवाउने तथा पर्यटकले ईच्छा जाहेर गरे गाउँमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था गरिन्छ । यसको आम्दानी पनि सोही गाउँलेले नै लिने व्यवस्था छ । यो रुट घुमेर पर्यटकहरु असाध्यै खुशी भएका छन् ।
यो रुटमा पर्ने नागी, मोहरे डाँडा, स्वात, खोप्रामा क्याम्पिङ ग्राउण्डको व्यवस्था पनि गरिएको छ । पर्यटकहरु क्याम्पिङ गरि बस्ने ईच्छा जाहेर गर्छन् भने पर्यटक पठाउने कम्पनीले नै टेन्टको व्यवस्था गरि दिन्छ ।
बिशेष गरि स्वातमा प्राईभेट कम्पनीले टेन्टको व्यवस्था गरि राखेको छ । पर्यटकले आफैले टेन्ट लिएर गए भने त सबै ठाउँमा टेन्ट लगाएर बस्ने ठाउँ बनाईएको छ ।
शुरुमा यो रुट संचालन गर्दा पर्यटकहरु घुम्न आउँदैनन् भन्ने डर लाग्थ्यो— लक्ष्मी बुदुजा । पर्यटन आए पछि गाउँमा नै बसेर आफ्नो घरखेतको काम गर्दै केही आर्थिक उपार्जन गर्न सकिन्छ भनेर गाउँलेहरुलाई आशा जगाउने काम गरेका थियौं । १० वटा गाउँमा व्यवस्थापन गर्न भनी ठुलो खर्च भईसकेको थियो । यो शुरु भए पछि पहिलो वर्ष २०११ मा जम्मा १७ जना पर्यटक यस रुटमा गाउँ अवलोकनको लागि आएका थिए । र, समुदायले २ लाख ७७ हजार नाफा गर्न सफल भएको थियो । २०१५ मा ४१८ जना पर्यटकहरु यो रुटमा आएको तथ्यांक संस्थासँग छ । जसबाट ४२ लाख १२ हजार समुदायले आम्दानी गरेको देखिन्छ ।
यो रुटलाई मन पराएर नै दिनदिनै पर्यटकहरु बढिरहेका छन् । अब अलि व्यवसायिकरण गरि पर्यटकहरुलाई अझ आकर्षण गर्नु पर्ने देखिन्छ । यो रुटलाई सहायता र सहकार्य गर्न आएको मेडप संस्थाको पनि कार्यकाल समाप्त भई सक्यो ।
खोप्रा लेकदेखि देखिने धौलासिरी हिमाल |
यो रुटमा ट्रेकिङ गर्न अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरण पर्यटन विकास तथा प्रवद्र्धन संस्थाका सचिव राम्चेका चित्रबहादुर तिलिजा मगरलाई कति दिनको ट्रेकिङ गर्ने हो सोही अनुरुप बुकिङ गरि पैसा तिरिसकेपछि पर्यटकको हब पोखराबाट मोटरमा बेनी र बेनीबाट गलेश्वरको घुमाउने तालदेखि पैदल यात्रा गर्दै यो रुटको शुरुवात हुन्छ । र, कुन गाउँले कति आम्दानी गरेको छ भन्ने कुरा हरेक तीन तीन महिनामा हिसाब गरि संस्थाले सम्बन्धीत गाउँलाई रकम बुझाउने गर्दछ ।
Chitra Tilija Magar with Tourist |
मेजन पुन