१. सारसंक्षेप
सिनेमा समाजको दर्पण र मनोरञ्जनको माध्यम भन्छौं । सिनेमा काल्पनिक कथा हो तर अधिकांश सिनेमा समाजकै घटना र पात्रबाट टिपेर बनाइन्छ । मौलिक कथा र यथार्थ जीवनीसँग नजिक रहेर बनाइएको सिनेमाहरुको मुल्याँकन समाजमा उच्च रहन्छ । र, चलचित्रकर्ममा लागेका व्यक्तिहरुले सिनेमा व्यापार भईकन पनि यथार्थको धरातलमा रहेर मौलिक चलचित्र निर्माण गर्ने प्रयास गर्नु पर्दछ । वर्तमानमा चलचित्र मनोरञ्जनको माध्यम मात्र नभएर यसले देशको पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेलिरहेको छ । यसले जातिको भाषा, संस्कृति, संस्कार अनि भुगोलको कुरा र यसलाई संरक्षण, सम्वद्र्धन गर्दै देश निर्माणको कुरा पनि गर्दछ । यस्तो गहनपुर्ण क्षेत्रमा मगर समाजको प्रतिनिधित्व गर्ने चलचित्रहरु कस्तो बन्नुपर्दछ भनेर सचेतना विकासको लागि यो लेख तयार गरिएको छ । मगरपनको सुवास सहितको असल चलचित्र निर्माणले मगर समाज र मगर जातिको पहिचान विश्वभर गराउन महत्वपूर्ण भुमिका खेल्दछ भन्ने अभिप्राय यस लेखको रहने छ । चलचित्र निर्माण गरिन्छ तर चलचित्रलाई अवलोकन गरेर हौसला, प्रोत्साहन गर्ने त समाज र यसका दर्शकहरुले नै हो । यसर्थ देश भित्र बनेको मौलिक चलचित्रहरुलाई माया गरौं । असल चलचित्रलाई सबैले प्रोत्साहन गरौं भन्ने मुलमन्त्र यस लेखको सारसंक्षेप रहेको छ ।
२. विषय परिचय
नेपालमा राज्यको नीति— बहुल हिताय नभएकै कारण राज्यको चलचित्र नीति पनि एकल संस्कृति, एकल भेषभुषा, एकल धर्म— संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने खालका बनेको थियो । एकल जातिको संस्कार र संस्कृति बाहेक अन्य जातिको रहनसहन, संस्कार/संस्कृतिमा सिनेमा बनाउन लगभग बञ्देज सरह थियो । जब कि राज्य एकल कहिल्यै थिएन । राणा शासन र प्रजातन्त्रको त्यो युगदेखि लोकतन्त्रको यो युगसम्म पनि यो देशको भुमिपुत्र आदिवासी जनजातिहरुले सिनेमा क्षेत्रमा अझै खासै गौरवान्वित अनुभुत गर्न सकिरहेको अवस्था छैन् । र, सत्तामा रहेको शक्ति केन्द्रको भाषा, भेषभुषा विपरित सिनेमा निर्माण गर्ने आँट त्यो समयमा कसैले गर्न पनि सकेनन्/गरेनन् पनि । त्यस्तो परिस्थितिमा आदिवासी जनजातिका विषयवस्तुमा मातृभाषी चलचित्र निर्माण गर्नु भनेको राज्यसत्ता सञ्चालकसँग त्यो समयमा सोझै जोरी खोज्नु पनि थियो ।
२०६१ सालमा मेरो लेखन/निर्देशन रहेको एजु चलचित्रलाई चलचित्र विकास बोर्डमा सेन्सर गर्ने क्रममा सालीभेनाको विहे गरेको दृश्यमा सेन्सर गर्ने प्रतिनिधिले मामाको छोरी बहिनी साईनो लाग्छ कहाँ विहे गर्छन् ? यो दृश्य फालेर आउनुस् भनियो जब कि मगर समाजमा मामाको छोरी हकैसाथ विहे गर्दछन् । र, हाम्रो समाजमा यस्तो चलन छ भनेर प्रतिकार गरेपश्चात एक जना कर्मचारीलाई मगर समाजबारे जानकारी रहेछ उसले मगरले मामाको छोरी साली साईनो लगाउँदै विहे गर्छन् । वहाँहरुको संस्कारमा यस्तो चलन छ— भनिदिएपश्चात सेन्सर सर्टिफिकेट प्राप्त गरेको थिएँ ।
निर्देशक नविन सुब्बा भन्नुहुन्छ— आदिवासी जनजातिको सिनेमा निर्माण गर्न व्यक्ति आदिवासी भएर मात्र पुग्दैन, सोंच र दृष्टि पनि आदिवासीको हुनुपर्छ ।२ अर्थात मगर सिनेमा निर्माण गर्दा व्यक्ति मगर भएर मात्र हुँदैन रहेछ, सोंच र दृष्टि पनि मगरकै राख्नुपर्दो रहेछ । सिनेमा मगरको भन्ने तर यो समाज भित्रको सुवास र सुगन्धले मगर समाजको वासना र समाजको प्रतिनिधित्व गर्दैन भने त्यो मगर सिनेमा हुँदैन किनकि संस्कार, संस्कृति विपरित निर्माण भएका सिनेमाहरुको प्रदर्शनले मगर समाजको पहिचान गराउनु भन्दा समाजलाई दिग्भ्रमित पार्दछ ।३ यस्तो चलचित्रहरुलाई प्रदर्शनमा रोक लागउनु पर्दछ ।
३. अध्ययनको समस्या
मुलुकको ऐतिहासिक, धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र पुरातात्विक कुराहरुलाई सजिव रुपमा प्रस्तुत गरि प्रदर्शन गरे देशमा पर्यटन वृद्धि गर्ने सबैभन्दा प्रभावशाली माध्यम रहेको श्रव्यदृश्य (चलचित्र) क्षेत्रको विकास र संरक्षणको लागि प्रयास भइरहेको भए पनि अझ ठूलो लगानी र अत्याधुनिक प्रविधिमा निर्माण भएका विदेशी सिनेमाहरु नेपालमा सर्वशुलभ हलहरुमा प्रदर्शन हुने भएको कारण नेपाली सिनेमा ती विदेशी सिनेमाको चपेटामा परेको कुरा सबैलाई थाहा भएकै छ । यसै सन्दर्भमा विदेशी सिनेमाको सर्वशुलभ नेपालभित्र प्रदर्शनको कारण नेपाली सिनेमा र नेपाली सिनेमाको प्रदर्शन प्रक्रिया, हल मालिकहरुको प्रदर्शन नीतिको कारण आदिवासी जनजाति सिनेमाहरुले प्रदर्शनको लागि हल नपाउने र राज्यको नीति आदिवासी जनजाति सिनेमाप्रति सकरात्मक नभएको कारण आदिवासी जनजातिका सिनेमाहरुले अवसर नपाएको कुरा पनि जगजाहेर नै छ ।
नेपाल विविध धर्म, संस्कार, संस्कृति रहेको बहुभाषिक देश हो । आफ्नो देशभित्र रहेको साँस्कृतिक पक्ष, परम्परा र देशको गौरवपूर्ण कथाहरुमा मौलिक नेपाली सिनेमा बनाउनु भन्दा हिन्दी सिनेमाहरुको देखासिकी अझै पनि उतैको जस्तो चलचित्रको फोटोकपी नेपालमा नेपाली सिनेमा निर्माण गरिरहेका छौं । नेपाली सिनेमा क्षेत्रमा नायक/नायिका आर्यन समुदायबाट र खलपात्र मंगोल समुदायबाट बनाउने परम्परागत सोचाई वर्तमान समयमा दिनानुदिन परिवर्तन भईरहेको छ । नेपाल भित्रको कथामा नेपाली सिनेमा एवम् आदिवासी जनजातिको विषय वस्तुमा मौलिक चलचित्र निर्माण गर्ने व्यक्तिहरुको कमी तथा बनेका त्यस्ता मौलिक चलचित्रहरुलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न नसकेको साथै जातीय संघ/संस्थाहरुको तर्फबाट पनि त्यसप्रकारको सिनेमाहरुलाई प्रदर्शनमा सहायता दिन नसकेको कुरा प्रमुख समस्याको रुपमा उठाइएको छ ।आदिवासी जनजातिका भाषिक चलचित्रहरु प्रदर्शन गर्न समस्या छ । अन्य चलचित्रहरुको वितरकले डिष्ट्रिब्युटर राईट लिएर हलहरुमा प्रदर्शन गरिदिन्छन् भने आदिवासी जनजातिको मातृभाषी चलचित्रहरुलाई वितरकले बजार छैन भनेर वितरण राईट लिदैनन् । जसको कारण हलहरुमा प्रदर्शन गरिंदैन । आदिवासी जनजातिको चलचित्रको निर्माण पक्षले प्रदर्शनको लागि हलहरुमा महंगो शुल्क तिरेर आफ्नो दर्शकको लागि प्रदर्शन गर्नु पर्ने बाध्यता छ ।
मगर बौद्ध सेवा समाजका सदस्यहरुले त झन चलचित्रलाई मनोरञ्जनकै रुपमा बुझिदिएको कारण उनीहरुले हेर्ने रुचि देखाउँदैनन् । चलचित्र भनेको नाच्ने र गाउने त हो भनेर मुखैमा भनिदिन्छन् । जब कि चलचित्र माध्यम पनि आन्दोलनकै रुप हो भनेर चलचित्रकर्मीहरुले वहाँहरुलाई बुझाउन नसकेको अवस्था पनि छ ।
मगर समाज आफै विविधताको समाज हो । तीन प्रकारको भाषा बोलिन्छ तर अथार र ब्राह मगरात मगर भाषामा मात्र चलचित्रहरु निर्माण भएका छन् । विगतको राज्यसत्ताले भाषा बोल्न नदिएकै कारण मगर भाषा नबोल्ने मगरहरु पनि छन् । मगर भाषा बोल्ने जिल्लामा पनि भाषा नबोल्ने मगरहरुको बसोबास रहेको छ । मगर भाषाको चलचित्र भाषा नबुझ्ने भनेर नै हेर्न जाँदैनन् । अथार मगरात मगर भाषाको चलचित्रमा अथार मगर भाषी र ब्राह मगरात मगर भाषाको चलचित्रलाई ब्राह मगरात भाषा बोल्ने र बुझ्ने मगरले मात्र हेर्ने हो भने तीन प्रकारको भाषा बोल्ने र आफै भित्र संस्कार, संस्कृतिमा केही विविधता रहेको मगर समाज भनेर के अर्थमा गर्व गर्ने समाजले ?
कोरियन चलचित्र प्यारासाईटले ओस्कार अवार्डको मुख्य विद्या अन्तर्गतको अवार्ड जितिसकेको सन्दर्भमा आदिवासी जनजातिको मातृभाषीमा बनेको चलचित्रलाई समाज भित्रबाटै सहयोग नपाउनु समस्याकै एउटा रुप हो । विविधताले समाज छुट्याउने होइन यसले त समाज जोड्न सक्नुपर्छ । अर्थात भाषा, भेषभुषा, भुगोललाई पनि समस्याको रुपमा उठाइएको छ ।४. अध्ययनको उद्देश्य
आँखाले हेर्छ, कानले सुन्छ, नाकले सुँघ्छ । हामीलाई विद्यालयमा सानैदेखि पढाएको विज्ञान यही हो । तर कला साहित्यको हकमा यो विज्ञान लागू नहुन सक्दछ । कला, साहित्य आँखाले हेरिँदैन, मनले हेरिन्छ । हेर्ने माध्यम मात्र हुन्छ आँखा । कलाको पारख आँखाले गर्दैन मनले गर्छ । भनौँ आँखा हेर्ने साधन मात्र हो, साध्य होइन । कलाको सन्दर्भमा मनको दास मात्र हो आँखा ।
चलचित्र कला हो । यो जीवन र जगतको दृश्यात्मक प्रस्तुति हो । त्यसो त मान्छेको जीवन आफैँमा एउटा चलचित्र हो । जीवनरुपी चलचित्र कानले होइन हृदयले सुनिन्छ । नाकले होइन भावनाले सुघिन्छ । यसकारण चलचित्रले भावनालाई उथलपुथल गराउन सक्नुपर्दछ । चलचित्र हेर्दा दर्शकले त्यो चलचित्रभित्र आफूलाई प्राप्त गर्न सकोस् । मानौँ चलचित्र हरेक दर्शकको आफ्नो कथा हो । दर्शकमा यस्तो अनुभूति भए मात्र चलचित्रले दर्शकको सहानूभूति पाउँछ र चलचित्र सफल मानिन्छ । अन्यथा चलचित्र हुनुपर्ने ठाउँमा ‘चल’ ‘चित्र’ अर्थात् यो चित्रको यहाँ काम छैन चलिहाल मात्र हुन्छ । ‘चल’ ‘चित्र’ बनाउने कि चलचित्र बनाउने निर्माण पक्षको हातमा हुन्छ । टोली नेताको नाताले यसमा प्रमुख जिम्मेवारी त निर्देशकको नै हुन्छ ।४
सिनेमा— विगतदेखि वर्तमानसम्मको कुराहरू समेटेर कुनै एतिहासिक, कुनै यथार्थपरक, कुनै शिक्षामुलक त कुनै शुद्ध मनोरञ्जनको लागि निर्माण भएको हुन्छ । यसैले चलचित्रलाई समाजको दर्पण भनिन्छ । चलचित्रले संस्कृति हस्तान्तरण, अन्वेषण, भाषा पुनःउपयोग र जातीय जागरण/सचेतना ल्याउने कार्य समेत गर्दछ ।अध्ययनको लागि प्राथमिक तथा द्वितीय श्रोतबाट सामाग्री संकलन गरिएको छ । यस अन्तर्गत चलचित्र विकास बोर्डबाट प्रकाशित पुस्तक, नेपाली चलचित्रका पुस्तकहरु, आदिवासी जनजाति महासंघबाट प्रकाशित मुखपत्र, मगर चलचित्रसँग सम्बन्धीत पुस्तकहरु/लेख/कार्यपत्र र पत्रपत्रिकाहरु सामाग्रीको रुपमा लिइएको छ । यो अध्ययन पुस्तकालयीय तथा अवलोकन विधिमा आधारित छ ।
आफ्नो संस्कृति, परम्परा र भाषाहरूको संरक्षण र संवद्र्धनमा सिनेमाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । जबसम्म कुनै जातिको भाषा, साहित्य, संस्कृतिको खोज, अनुसन्धान गर्दै प्रबद्र्धन र प्रचार गर्न सकिन्न तबसम्म ती जातिको अस्तित्व पहिचान हुन सक्दैन । यसर्थ पनि संचारको क्षेत्रमा सिनेमाको बेग्लै महत्व रहेको छ । तर नेपालमा एकल जाति, एकल धर्म, एकल संस्कृति हावी भएर निर्माण गरिएका सिनेमाहरु छन् । एकल जाति, एकल धर्म, एकल संस्कृति भएका व्यक्तिहरुकै संलग्नता रहेको कारण बहुल संस्कृति/संस्कार/परम्परा र धेरै जातजातिको विषयमा मौलिक नेपाली सिनेमाहरु एकदम कम निर्माण भएका छन् । आफ्नो संस्कृति भन्दा फरक संस्कार र संस्कृतिलाई साहित्य लेखनमा होस् या चलचित्रमा गलत व्याख्या गरिदिने गरिएको छ । हिन्दी चलचित्रमा नेपालीलाई देखाउँदा गेटपालेको रुपमा देखाउने गरिएझै नेपाली चलचित्रमा पनि आदिवासी अनुहारलाई खलपात्रको रुपमा प्रस्तुत गरिन्छ ।
आदिवासी जनजाति समाजभित्र २०४४ सालमा नेपाल भाषाको सिनेमा शिलु, थारु भाषामा करम र लिम्बु जातिबाट तरेवा टेलिचलचित्र निर्माण गरेर प्रसारण÷प्रदर्शन भए पश्चात मगर भित्र पनि आफ्नो समाजको विषयमा टेलिचलचित्र बनाउने तरङ उत्पन्न भयो । र, उत्पन्न भएको त्यो तरङ स्वरुप २०५१ सालमा बाह्र मगरात मगर भाषा (ढुट) मा लङ्घन सिनेमा निर्माण र प्रदर्शन गरि मगर चलचित्रको इतिहासको शुरूवात भयो । जसलाई हिमालयन कल्चर मुभिजको ब्यानरमा डि.बी.पुलामी मगरले लगानी गर्नु भएको थियो । पहिलो मगर सिनेमाको निर्देशन युवराज मास्की राना मगर, नायक राज थापा काउचा मगर र नायिका तारा (टुगा) थापा मगरले अभिनय गरेका थिए ।७मगर चलचित्रकर्मी संघको विधान अनुसार :
दफा २ परिभाषा झ — मगर भन्नाले नेपाल मगर संघबाट मान्यता प्राप्त मगर भित्रको सबै उपथरहरुलाई बुझाउने छ ।
दफा २ परिभाषा ञ — मगर चलचित्र भन्नाले मगर ढुट, पाङ, काईके, म्याग्दी, बाग्लुङ, पर्वत, अर्घाखाँची, प्युठान, गुल्मी आदिमा बोलिने भाषा, मगर विषयवस्तु, परम्परा, धर्म, इतिहास, मुद्दा, कथा, भूगोल, भेषभुषा र कला संस्कृतिमा आधारित चलचित्रलाई भनिने छ ।
दफा २ परिभाषा ट — मगर चलचित्रकर्मी भन्नाले मगर चलचित्र निर्माण, विकास र प्रवद्र्धनमा योगदान पु¥याउने मगर व्यक्तित्वहरुलाई जनाउने छ ।८
मगर चलचित्रकर्मी भन्नाले
परिच्छेद ३ सदस्यता
क) मगर सिनेमा वा वृत्तचित्र (कम्तीमा एउटा सार्वजनिक प्रदर्शन भएको हुनु पर्ने छ ।)
ख) निर्देशक (सार्वजनिक प्रदर्शन भएको)
ग) निर्माता
घ) चलचित्र स्क्रिप्ट लेखक (चलचित्र लेखन)
ङ) कलाकार (चलचित्र क्याप्सनमा नाम आएको वा संवाद बोलेको व्यक्ति)
च) प्राविधिक (क्यामराम्यान, साउण्डम्यान, लाईटम्यान, मेकअपम्यान, सम्पादक, रेकर्डिष्ट ।
छ) चलचित्र संगीतकार
ज) चलचित्र गायक/गायिकाहरु
झ) वितरक कम्पनीहरु (दर्तावाला)
ञ) चलचित्र गीतकार ।९
हिजो मगर सिनेमा मगर भाषा र भेषभूषाको संरक्षण गर्ने उद्देश्य लिएर निर्माण गरिएको थियो । तीन भाषा बोल्ने मगर समाजको संस्कृतिमा पनि विविधता छ । मगर चलचित्रभित्र मगर समाजको भावना, रहनसहन र संस्कार विपरित बन्नु हुँदैन । यदि बनेका छन् भने त्यस्ता चलचित्रलाई समाजले नै निरूत्साहित गर्नु पर्छ ।
यसै सन्दर्भमा नेपाल मगर संघ केन्द्रीय समितिको ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको काठमाडौंमा बसेको दोश्रो पूर्ण बैठकको ११ औं निर्णयमा मगर चलचित्र सम्बन्धी निम्न निर्णय पारित गरिएको परिपत्र भएको छ ।निर्णय नं. ११) मगर चलचित्र निर्माण तथा वितरण सम्बन्धमा
मगर समुदायको भाषा, संस्कार र संस्कृति, भेषभुषा र इतिहासको जगेर्ना गर्ने गरि निर्माण हुने चलचित्रहरुलाई मगर चलचित्र भनिने र मगर चलचित्र निर्माण र वितरण भन्दा अगावै कथाको सेन्सर र छायाँकन पश्चात सेन्सर गर्ने जिम्मा नेपाल मगर संघको प्रतिनिधि र चलचित्रकर्मी संघको प्रतिनिधिलाई दिई वितरण गर्ने गरि निर्णय गरिएको छ ।१०
५.२ भाषा, संस्कार र संस्कृतिको अभिलेख — सिनेमा
२१ औं शताब्दीको महत्वपूर्ण माध्यम संचार हो । र, सिनेमा संचारको अभिन्न अंग । सिनेमा हाम्रो भाषा, संस्कार, संस्कृतिको अभिलेख राख्ने महत्वपूर्ण माध्यम पनि हो । २१ औं शताब्दीमा हामी पहिचानको लडाई लड्दैछौं । पहिचानको लडाईमा– जहाँ सुचना, सञ्चारको साथसाथै सिनेमा क्षेत्रले समेत महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । सभ्यताको अहिलेको यो लडाईमा पुस्तक, पत्रपत्रिका प्रकाशनको साथै (श्रव्यदृश्य) सिनेमाले पनि झन आत्मबल प्रदान गर्दछ । साथै यस कर्ममा लागेका व्यक्तिहरुले समाजमा चलचित्रले पार्ने प्रभाव र यसको महत्वबारे अध्ययन गर्दै विशेष सजकता साथ सचेत रहनु पर्दछ ।
विकसित मुलुकले श्रव्यदृश्यको माध्यम प्रयोग गरि भु–उपग्रह (सेटेलाईट) प्रयोग गर्दै अर्को देशमा बसोबास गरिरहेका जनता समक्ष आफ्नो देशको भाषा, संस्कृति, संस्कारलाई देखाउने, सिकाउने तथा प्रवद्र्धन गर्ने सजिलो माध्यम बनाई रहेका छन् । यसैले श्रव्यदृश्य माध्यम विकसित देशको लागि राजनीति पनि हो । यसप्रकारको राजनीतिबाट एउटा देशले अर्को देशलाई भौतिक रुपमा (सिमाना) जितिरहनु पर्दैन । यस्ता सिनेमाहरुलाई सम्बन्धीत देशले मनोरञ्जन कर छुटको व्यवस्था गरि बिशेष प्राथमिकतामा राखेर सहयोग गरेको हुन्छ । जसको प्रसारण देश/विदेशसम्म हुन्छ । यसप्रकारको सिनेमाले देशको भाषा, संस्कार, संस्कृतिलाई अन्य देशमा समेत प्रचार र बिस्तार गर्दछ ।५.३ चलचित्रमा संस्कृति
आफ्नो जीविकापार्जन र आफ्नो आवश्यकता पुरा गर्नका लागि आफ्नो ज्ञान, बुद्धि, विवेक, शिप, क्षमताको उपयोग गर्दै अनवरत रुपमा अवलम्बन गर्दै पूर्खाहरुबाट विरासतका रुपमा प्राप्त मौलिक, परम्परागत जीवनशैली वा जीवनपद्धति नै संस्कृति हो । संस्कृति भित्र परम्परागत रुपमा प्रचलित खानपान, भेषभूष नाचगान, धर्म–कर्म, हाँसखेल, ज्ञान, कला, शिप, साहित्य, चाडपर्व, उत्सव, संस्कार– अनुष्ठान आदि परम्परागत प्रथा–प्रचलनहरु पर्दछन् । कुनै पनि जाति वर्ग र समुदायको संस्कृतिभित्र उसको भाषा, साहित्य, इतिहास, दर्शन, चिन्तन, भूगोल, परम्परा जस्ता वस्तुहरु पर्दछ । मानिस जुन संस्कृतिमा हुर्कन्छ सोही अनुसार उसको सोचाई, बुझाई तथा आचरण बन्ने गर्दछ । मानिस जतिनै सभ्य र आधुनिक बन्न पुगे पनि उसको व्यवहारमा प्राचीन संस्कृति कतै न कतै झल्केकै हुन्छ । अर्थात संस्कृति रातारात निर्माण नभई प्राचीन समयदेखि नै निरन्तर रुपमा हस्तान्तरण हुँदै आएको वस्तु हो । त्यसैले संस्कृति जाति, धर्म, भूगोल, देश अनुसार फरक फरक खालका हुन्छन् ।
आफ्ना मनका भावनालाई विभिन्न –चलायमान र छुन सकिने बाहेक) माध्यमबाट व्यक्त गर्ने अभिव्यक्तिकलालाई अमुर्तकला भनिन्छ । यही अमुर्तकला जब सामाजिक र पारम्परिक बन्दछ तब यसले सम्पदाको रुप धारणा गर्दछ । अमुर्त सम्पदाले कुनै एक विषयलाई मात्र नभएर लोकजीवनमा प्रचलित रितिरिवाज, गीत, संगीत, अभिनय, कला र प्रविधि जस्ता समग्र पक्षको जानकारी दिने विषय वस्तुलाई जनाउँदछ । अमुर्त सम्पदालाई छुन सकिन्न तर लिखित वा विद्युतिय सामग्रीको प्रयोगबाट रेकर्ड गर्न सकिन्छ । ११ सम्पदा संस्कृति भित्र भौतिक वस्तुहरु (देख्न र छुन सकिने) खानपिन, भेषभुषा, नाचगान, खेलकुद, वास्तुकला, चित्रकला, मुर्तीकला, बाजागाजा, हातहतियार आदि मानव निर्मित वस्तुहरु तथा अभौतिक वस्तु (देख्न र छुन नसकिने) भाषा, साहित्य, धर्म, दर्शन, विचार, आस्था, मुल्य, मान्यता, शिप, कला, इतिहास, मिथक, गीत, संगीत, मायाप्रीति, रोदन–क्रन्दन, ज्ञान, विवेक, रुची, स्वभाव आदि अमूर्त वस्तुहरु समेत पर्दछन् ।संस्कृतिलाई लोप हुन नदिन आदिवासी जनजाति मध्ये मगर समाजका युवा जमात विज्ञान र प्रविधिको साथै विद्युतीय माध्यम अर्थात श्रव्यदृश्य क्षेत्रलाई प्रयोग गर्दै चलचित्र माध्यमबाट मगर जातिको संस्कृति संरक्षणको यात्रामा उपलब्धीमूलक कार्य चाहिं हुन अझैं बाँकी छ । र, आश गर्ने ठाउँहरु प्रशस्त छन् । यस्तो गहनपूर्ण क्षेत्रमा संलग्न रहेका व्यक्तिहरु अझ सजकताका साथ स्व–अध्ययन गर्दै सम्बन्धीत जातिको साँस्कृतिक क्षेत्रमा लाग्नु पर्दछ । चलचित्र क्षेत्रमा लाग्ने व्यक्तिलाई साँस्कृतिक पक्षको ज्ञान हुन अत्यावश्यक र अपरिहार्य छ ।
५.४ मगर सिनेमा हेर्ने संस्कृति
५.५ साहित्य र सिनेमामा मगरपन
अहिले सम्म प्रर्दशन आएका मगर सिनेमाहरू साँस्कृतिक रूपमा मात्र सिमित छ । तर नेपालमा मगरको इतिहास वृहत छ । मगरका पूर्खाहरू देशको सिमाना सुरक्षार्थ नेपालको हरेक स्थानमा लडाई लडेका छन् । अंग्रेजसँग लडेका छन् । वीर गोरखाली बनेर पहिलो र दोश्रो विश्व युद्ध लडेका छन् । भारतको तर्फदेखि विभिन्न स्थानमा लडाई लडेका छन् । जंगबहादुरको विरुद्ध आवाज उठाउँदा लखन थापा मगर नेपालको प्रथम शहीद भएका छन् । नेपालको हरेक परिवर्तनहरुमा मगर प्रत्यक्ष संलग्न भई मगरको पसीना र रगत बगेको छ । भाषा बोल्न नदिने कार्यवाहीमा परेका छन् । मगर– धर्म परिवर्तनको मिचाईमा परेका छन् । मगरहरु साँस्कृतिक विचलनमा पनि परेका छन् । मगरलाई– धेरै थिचोमिचोमा पारेको छ– राज्यसत्ताले । यसर्थ मगर सिनेमाहरूमा त्यो थिचोमिचोको कथा आउनु पर्छ । मगर सिनेमामा साँस्कृतिक, धार्मिक, राजनैतिक थिचोमिचोको गन्ध आउनु पर्छ । असल साहित्य लेखनबाट असल सिनेमा बन्न सहयोग मिल्ने भएको कारण साहित्यकारहरुले मगरको उत्कृष्ट साहित्य लेखन गर्नमा पनि ध्यान दिन आवश्यक छ ।
आफ्नो ऐतिहासिक थातथलो, समुदाय बोधक नाम, साझा वंश परम्पराको मिथक, इतिहास, धर्म मातृभाषा, विशिष्ट संस्कृति, गणराज्यहरुमा शासन गरेको अनुभव भएर पनि किन प्रविधियुक्त कला सृजनामा मगर जातिको खास लगाव अहिलेसम्म देखिंदैन यसको कारण थाहा हुनसक्यो भने आफ्नो कमजोरीहरुलाई चिर्दै अगाडि बढ्न सकिन्छ ।१२हामी पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर बसोबास गर्दछौं । अझ विदेशमा विभिन्न स्थानमा मगरको जातीय संगठन बिस्तार भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको पारित निर्णयको अनुसरण साथ देश र विदेशमा गठन भएका संघ/संस्था मार्फत निर्माण भएका मगर चलचित्रहरु प्रदर्शन गर्ने पहल मात्र भई दिएमा मगर चलचित्रको बजार राष्ट्रिय स्तरसम्म मात्र होइन अन्तराष्ट्रिय स्तरसम्म पनि रहेको छ । नेपाल मगर संघ ६४ जिल्लामा गठन भएको छ । यस्तै गरि नेपाल मगर महिला संघ, नेपाल मगर विद्यार्थी संघ पनि नेपालको विभिन्न जिल्ला र क्याम्पसहरुमा गठन भएको छ । र, मगरको संगठन विस्तार भएको जिल्लाहरुमा सिनेमा प्रदर्शन गर्ने पहल हुने हो भने जताततै सम्भव छ । यसरी प्रदर्शन गर्ने क्रममा खर्च कटाएर ७० प्रतिशत निर्मातालाई र ३० प्रतिशत स्थानीय आयोजकले नाफा राख्ने व्यवस्था रहेको छ । यसो गरेमा निर्माता र स्थानीय आयोजक दुवैलाई बचत हुन्छ । यसप्रकार निर्माताले लगानी उठाउन सम्भव भयो भने अर्को सिनेमा निर्माण प्रक्रियामा ऊ लाग्ने छ भने बचतबाट स्थानीय आयोजकले सामाजिक कार्य गर्न सम्भव हुनेछ ।
मगर सिनेमाहरु शहर बजार मात्र केन्द्रकृत भई प्रदर्शन भईरहेको छ । तर अब मगर सिनेमालाई मगर गाउँहरूमा समेत पु¥याउने पहल गरिनु पर्छ । मगर सिनेमाहरु बिशेष प्रदर्शन भनेर महंगो दरमा देखाउन चलचित्रकर्मीहरु बाध्य छन् । कारण आदिवासी जनजातिका सिनेमाहरु प्रदर्शन गर्ने राज्यको प्रभावकारी नीति नै छैन । सदरमुकाम केन्द्रीत चलचित्र भवनमा बिशेष प्रदर्शन गर्दा सिनेमा प्रर्दशन गर्न हल भाडा महंगो तिर्नुपर्छ । जसको कारण आयोजकलाई टिकट महंगो गर्नुपर्ने बाध्यता छ । जसको मार दर्शकमा पर्छ । गाउँमा समेत मगर सिनेमाको बजार बिस्तार गरि टिकट मुल्य घटाउन सके अधिकतम स्थानमा मगर सिनेमा प्रदर्शन गरि मगर सिनेमाको बजार वृद्धि गर्न सकिन्छ । साथै असल सिनेमाले समाज परिवर्तनमा सहयोग पनि गर्दछ । मगर सिनेमा मगर गाउँ– समाजमा नपुग्ने भएकै कारणले नै यसको बजार बिस्तार हुनसकेको छैन । अब सदरमुकाममा मात्र मगर सिनेमा प्रदर्शन गरेर हुँदैन । वातावरण मिल्दासम्म मगर सिनेमा मगर बसोबास गर्ने गाउँसम्म पु¥याएर प्रदर्शन गर्दै मगर सिनेमा पनि निर्माण हुँदोरहेछ भन्ने चिन्तनको विकास गरि हाम्रो भन्दा राम्रो मगर सिनेमालाई— मगरले मात्र होइन सबैले हेरिदिनुपर्छ ।
६. राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छनोट भई प्रदर्शन भएका केही मगर वृत्तचित्र, छोटो मगर चलचित्र र मगर चलचित्रहरु
६.१ वृत्तचित्र
— गन्तव्य महभीर, मेजन पुन— लेखन/निर्देशन (काठमाडौं अन्तराष्ट्रिय माउण्टेन फिल्म फेस्टिबल २००४) पहिलो मगर वृत्तचित्र
— डेट येट अलाईभ, सञ्जोग लाफा — निर्देशन (काठमाडौं अन्तराष्ट्रिय माउण्टेन फिल्म फेस्टिबल २०१४ र आईएफएद्वारा आयोजित ईण्डिजिनियस फिल्म फेस्टिबल)
— आईरन डिगर, अनिल बुढा मगर— लेखन/निर्देशन (गोल्डन लायन अन्तराष्ट्रिय चलचित्र महोत्सव, मद्रास ईन्डिपेनडेन्ट फिल्म फेस्टिबल, मेस्टिया अन्तराष्ट्रिय सर्ट एण्ड माउण्टेन फिल्म फेस्टिबल र ब्लाक हेड फिल्म फेस्टिबलमा बेस्ट डकुमेन्ट्री साथै सिनेमेकिङ चलचित्र महोत्सव, ईस्चिया ग्लोबल फिल्म फेस्टिबल, अमेरिका फिल्म फेस्टिबल, ब्लाक स्टार फिल्म फेस्टिबल, फाल्कन अन्तराष्ट्रिय फिल्म फेस्टिबल, लिफ्टअफ फिल्ममेकर सेसन्स, ईकोकप ग्रीन डकुमेन्ट्री फिल्म फेस्टिबल, लेनडक फेष्ट २०२२ र काठमाडौं अन्तराष्ट्रिय माउण्टेन फिल्म फेस्टिबल २०२२ मा अफिसियल छनोट)
६.२ छोटो मगर चलचित्र
— ल्हेसान, सुमन थापा मगर — निर्देशन (प्रथम आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिका २०१८)
— तम्सुक, हिमाल पुन — निर्देशन (दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०१८)
— तीन पाने, युकी आले — निर्देशन (तेश्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०१९)
— कुंवारा, तिलबहादुर थापा मगर — लेखन/निर्देशन (अवार्ड वीनर बेस्ट कथा र लेखन — स्पाईनी बाब्लर अन्तराष्ट्रिय फिल्म फेस्टिबल साथै नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिबल, नेपाल कल्चरल अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा अफिसियल छनोट)
— परिबन्द, मेजन पुन— लेखन/निर्देशन (कुक्कु अन्तराष्ट्रिय फिल्म अवार्ड, भर्जिन स्प्रीङ सिनेफेष्ट, ट्यागर अन्तराष्ट्रिय फिल्म फेस्टिबल, भुटान अन्तराष्ट्रिय सर्ट फिल्म फेस्टिबलमा अवार्ड वीनर, लण्डन फिल्म एण्ड टिभी अवार्ड, ब्लाक बोर्ड अन्तराष्ट्रिय फिल्म फेस्टिबल, सिनेईष्ट अन्तराष्ट्रिय फिल्म फेस्टिबल, एसिया फिल्म फेस्टिबल, लिफ्टअफ फिल्ममेकर सेसन्स र स्पाईनी बाब्लर अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा अफिसियल छनोट)
६.३ मगर चलचित्र
— आशे, सञ्जोग लाफा — लेखन/निर्देशन (आईएफएद्वारा आयोजित ईण्डिजिनियस फिल्म फेस्टिबलमा प्रदर्शन)
— बाराही पुत्र, मौसम पुन — निर्देशन/गीत/संगीत/नृत्य (आईएफएद्वारा आयोजित ईण्डिजिनियस फिल्म फेस्टिबल काठमाडौंमा प्रदर्शन साथै आईएफए एक्सटेन्सन बुटवल र पोखरामा प्रदर्शन) उत्कृष्ट दर्शक छनोट पुरस्कार पोखरा
— एजु २, मेजन पुन — लेखन/निर्देशन (आईएफएद्वारा आयोजित ईण्डिजिनियस फिल्म फेस्टिबल काठमाडौंमा प्रदर्शन साथै आईएफए एक्सटेन्सन बुटवल, धरान, झापा र पोखरामा प्रदर्शन) उत्कृष्ट चलचित्र धरान र उत्कृष्ट दर्शक छनोट पुरस्कार झापा
— लोम्बा, अनिल बुढा मगर — निर्देशन (अमेरिकामा आयोजित प्रथम आदिवासी जनजाति चलचित्र महोत्सव २०१७ मा उत्कृष्ट चलचित्र, निर्देशक र उत्कृष्ट भेषभुषामा अवार्ड वीनर)
— रैंयाँ, मेजन पुन — लेखन/निर्देशन (अमेरिकामा आयोजित दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०१८ मा छनोट भई उत्कृष्ट संगीत विद्यामा पुरस्कृत)
— रोश, बुद्धिया सारु मगर — लेखन/निर्देशन (काठमाडौं अन्तराष्ट्रिय माउण्टेन फिल्म फेस्टिबल २०२२)
— ट्याङ्चलाक, मेजन पुन — लेखन/निर्देशन (वल्र्ड फिल्म कार्निभल सिंगापुर, टोकियो फिल्म फेस्टिबल जापान, गान्तोक फिल्म फेस्टिबल सिक्किम भारत, फस्ट वुमन फिल्म फेस्टिबल ईरानमा अवार्ड वीनर, ईस्टन युरोप फिल्म फेस्टिबल रोमानियामा बेस्ट फिचर फिल्म अनरेबल मेन्सन साथै डर्वान अन्तराष्ट्रिय फिल्म फेस्टिबल, तेश्रो आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिका, स्वीडिस अन्तराष्ट्रिय फिल्म फेस्टिबल स्वीडेन, डम्बो फिल्म फेस्टिबल अमेरिका, स्नो ल्यापोड फिल्म फेस्टिबल रसिया, प्याराडाईस फिल्म फेस्टिबल हंगेरी, बोडेन अन्तराष्ट्रिय फिल्म फेस्टिबल स्वीडेन र भेनस कम्युनिटी अवार्ड टर्कीमा अफिसियल छनोट । अमेरिकामा आयोजित तेश्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०१९ मा उत्कृष्ट नायिका विद्यामा पुरस्कृत)
२१ औं शताब्दीको महत्वपूर्ण माध्यम चलचित्रलाई मगर समाजले मनोरञ्जनको रुपमा बुझिदिएको कारण बनेका मगर चलचित्रहरुले समाजबाट कमै मात्रमा हैंसे पाएको अवस्था छ । र, बनेका मगर चलचित्रहरु पनि ‘चल’ ‘चित्र’ को रुपमा मात्र निर्माण भएका छन् । चलचित्रले केही मात्रमा भेषभुषा र भाषाको संरक्षण त गरेको छ तर अझ मौलिक कथामा चलचित्र निर्माण गर्न सकेको अवस्था छैन । यो कमजोरी चलचित्रकर्मीले पनि स्वीकार गर्नु पर्दछ । साथै निर्माण भएका मगर चलचित्रहरुलाई सर्वप्रथम त मगर समाजले नै हो अवलोकन गरेर हौसला दिने हो तर मगर संघ/संस्थाहरुले प्रदर्शन प्रक्रियामा खासै हातेमालो गरेको पाइदैन । यसो हुँदा लगानी उठ्न सक्दैन । जसको कारण निर्माताहरुको लगानी डुब्छ । यदि लगानी फिर्ता हुने वातावरण मात्र बन्यो भने पनि मगर समाजबाट धेरै राम्रा राम्रा मौलिक चलचित्रहरु निश्चित रुपमा बन्ने छ ।
उत्कृष्ट मगर चलचित्र निर्माणमा अझ गहन रुपमा स्व अध्ययन गर्दै मौलिक मगर चलचित्र निर्माणमा चलचित्रकर्मीहरु कटिबद्ध लागिरहनु पर्दछ भने निर्माण भएको चलचित्रलाई समाजले विभिन्न स्थानमा प्रदर्शन गरि सहयोग गरिदिनु पर्दछ । जसको परिणामबाट समाजका रहनसहन, रितिरिवाज, संस्कार, संस्कृतिहरुमा उत्कृष्ट चलचित्र निर्माणले मगर जाति र देशको समेत पहिचान विश्व जगतमा गराउने गर्दछ ।
प्रथम मगर चलचित्रका नायक राज थापा काउचा मगर |
सन्दर्भ सूची
१. डा. सुब्बा, चैतन्य
२. सुब्बा, नविन (आदिवासी चलचित्रका आवश्यकता र महत्व कार्यपत्र : २०६७) आदिवासी जनजाति चलचित्र महासंघको कार्यशाला गोष्ठीमा प्रस्तुत कार्यपत्र
३. पुन, मेजन (कास्की : मगर चलचित्र हिजोदेखि आजसम्म, २०७६ माघ) लेखक (ग)
४. पोखरेल, डा. टिकाराम (मगर संस्कृतिको दृश्यात्मक घोषणा पत्र हो— रंैयाँ : २०७२) आदर्श समाज
५. पुन, मेजन (कास्की : मगर चलचित्र हिजोदेखि आजसम्म, २०७६ माघ) लेखक (२.१ः१०)
६. पुन मगर, जितेन्द्र ‘चिन्तन’ (एजु चलचित्र हेर्दाको अनुभव : फिमला पत्रिका, वर्ष ५, अंक १५, फागुन–बैशाख, २०६४) फिमला प्रकाशन (२३)
७. पुन, मेजन (कास्की : मगर चलचित्र हिजोदेखि आजसम्म, २०७६ माघ) लेखक (२.१ः१५)
८. मगर चलचित्रकर्मी संघ, विधान २०६६ बाट
९. मगर चलचित्रकर्मी संघ, विधान २०६६ बाट
१०. नेपाल मगर संघ, के.स.को प्रथम बैठकको निर्णय नं. ११ बाट
११. थापा श्रीहरी, अमूर्त संस्कृति (काठमाडौं : हडेलधुराका केही अमुर्त सम्पदाहरु : परम्परागत सीप र प्रविधिगत कलाकौशल), नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार, वर्ष १, अंक १, आषाढ २०७४, (७९–८०)
१२. मास्की राना मगर, युवराज (ललितपुर : मगर चलचित्र, विष्णु बुढाथोकी मास्की, २०६९ असार) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुर (८)
पुर्ण थापा मगर (मगर कलाकार) |
अन्य सन्दर्भ सूची
१) चलचित्र मञ्च, नेपाल सरकार, चलचित्र विकास बोर्ड, वर्ष ५, अंक ४, २०६७
२) आदिवासी जनजाति चलचित्र दर्पण – आदिवासी जनजाति चलचित्र महासंघ, २०६७, वर्ष १, अंक १
३) शर्मा लक्ष्मीनाथ, नेपालमा चलचित्र उद्योगका समस्या र समाधान, राष्ट्रिय गोष्ठी, १५ मंसीर २०५७, आयोजक : चलचित्र विकास बोर्ड
४) मगर चलचित्रकर्मी संघ – विभिन्न कार्यपत्रहरु
५) शर्मा, लक्ष्मीनाथ – नेपालमा चलचित्र उद्योगका समस्या र समाधान (राष्ट्रिय गोष्ठी), चलचित्र विकास बोर्ड
६) अमूर्त संस्कृति – नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
७) राई, डा. भक्त – जनजातिहरुको मातृभाषा, साहित्य र संस्कृतिको संरक्षण सम्बद्र्धनमा मगर जातिको भूमिका
८) स्मारिका – नेपाल चलचित्र निर्देशक समाज २०६४, चैत्र ९
९) नेपाल आदिवासी जनजाति पत्रकार संघ, जेठ २६–२७, २०७०