किताबको नाम ‘धौलासिरी’ लेखिनुको कारणबारे पाठकलाई खुलदुली हुनसक्छ। स्थानीय रूपमा धौलागिरिलाई धौलासिरी भनिदोरहेछ। त्यसैले धौलागिरीका मगर समुदायको कथालाई उनीहरूकैबोलीमा भन्ने लेखकको प्रयास छ।
म्याग्दीका पुन मगरहरूले जेठ महिनामा भीमसेन पूजा धुमधामले मनाउँछन्। भीमसेन पूजाको दिन पूजारी सबैको घरघर पस्दा रोग, व्याधी र पिरमर्काबाट मुक्त हुने विश्वास लिइन्छ।
पूजाको दिन गाउँलेहरू अरू काम छोडेर गाउँमाथि धुपीको रूखमुनि भीमसेनथानमा भेला हुन्छन्। तर पूजाका लागि भने पूजारीहरू मात्रै जान्छन्।
पूजामा पुरुषहरू धोती मात्र लगाएर कालो, सेतो र रातो कमेरो माटोले अनुहार, शरीर, हात, खुट्टा सबै ठाउँमा धर्सो बनाई आफ्नो रूप नै परिवर्तन गर्छन्। उनीहरू जोगीया (स्थानीय भाषामा पूजारीलाई ‘पारे’ भनिन्छ) अर्थात्, भीमसेनको दूत बनेर घरघर पस्ने विश्वास गरिन्छ। लोपोन्मुख भइसकेको भीमसेन पूजा अहिले म्याग्दीको बेग गाउँमा बसोबास गर्ने पुन मगरहरूलगायत त्यहाँका अन्य जातिले पनि मनाउने गर्छन्।
मेजन पुनद्वारा लिखित उपन्यास ‘धौलासिरी’मा पुन मगरहरूले गर्दै आएको भीमसेन पूजाबारे यसरी वर्णन गरिएको छ– “कतै तरूनीहरूको जमातले जोगीयाहरूलाई समातेर बेइज्जत गरिदेलान् भनेर सहयोगी केटाहरू पनि सँगसँगै दौडिए। कमेरो माटोले सिँगारिएका जोगीयाहरू ठुलोगाम, भाङ्सारा, देउराली, काफलबोट, फाँट, भाराथानका प्रत्येक घरभित्र पसेर ‘ओ...हो...हो’ भनी कराउने गर्छन्। त्यो दिन सबैले घरको ढोका खुल्ला राख्नुपर्छ। जोगीयाहरू घरभित्र प्रवेश गरेर बाहिर निस्किँदा सबै प्रकोप रोग, पीर, कष्ट लैजान्छ भन्ने विश्वास छ।” (पृ. ५२)
म्याग्दीका पुन मगरहरूबारे लेखिएको 'धौलासिरी' उपन्यास हालै बजारमा आएको छ। यो अहिलेसम्म नलेखिएको धौलागिरीका पुन मगरको कथा हो। किताबले यहाँ पुन मगरहरूले मान्दै आएको ऐतिहासिक संस्कृतिको चित्रण गरेको छ।
कथाको मूल विषयबस्तु म्याग्दीको ग्रामीण भेगबाट शुरू हुन्छ। गाउँकै साहुबाट बाबुले ऋण लिएपछि तिर्न नसक्दा परिवारमा वियोगान्त शुरू हुन्छ। ऋणको भारी बोकेर परदेशिएको लाहुरे बाटोमै अलप हुँदा परिवारमा आउने विखण्डन वरिपरि कथा बगेको छ। सँगसँगै, गाउँघरमा हुने भाइचारा, चाडबाडमा लाग्ने मेला, कटवाल, घाँसदाउरा मेलापातले कथामा मौलिकता थपेको छ। मगर समुदायमा चल्ने मामाको छोरी बिहे गर्ने परम्पराको चित्रणले कथा थप बलियो बनेको छ।
कहिलेकाही नयाँ सम्बन्ध गाँस्दा दुई परिवारबीचको चित्त दुखाई दुई पात्रको संवादतमा कलात्मक ढंगले बयान गरिएको छ।
“चलनअनुसारको ठेकी वीरेले पनि पठाएको थियो। माग्न आएको भा नि विचारै हन्तो। हाउरो नि मान त रहन्थ्यो। तर छोरीले बाटो बिरायो भनेर माइतीले ठेकी लिन मानेनन्। जति सम्झाउँदा पनि कसैको कुरा खाएनन्।”
“के गर्ने तो। तिम्रै घरतिरकाले त हो। आझै नि ठेकी लिनै माने छैनन्?” वीरेले सम्झायो, “अस्ति बाटोमा मामासँग भेट भा’को थियो, देख्दा नि नदेखे झैँ गरी गए।” (पृ. १०५)
यस उपन्यासको सबैभन्दा सुन्दर पक्ष आञ्चलिकता हो। लेखकले आञ्चलिक भाषालाई टपक्कै टिपेर राखेका छन्। यहाँ प्रयोग गरिएका केही आञ्चलिक शब्दको अर्थ यस्ता छन्ः हुत्ता– मेला वा पर्म, गुने– गुन्यू, गोर्या– सेतो, माघे सकराति– माघे संक्रान्ति इत्यादि। यस्ता स्थानीय शब्द उपन्यासमा प्रशस्त छन्। तर, किताबको परिशिष्टमा नभई जहाँ यी शब्दको प्रयोग छ त्यहीँ अर्थ राख्दा पाठकको उत्सुकता जगाइरहन सकेको छैन। यसले कथाको लय पनि भंग गरेको छ।
कथालाई विभिन्न उपशीर्षक राखेर वाचन गरिएको छ। तर कथालाई पर्गेल्न प्रशस्त व्याख्या नभएको महसुस हुन्छ। कतै कम र कतै अनावश्यक वर्णन छ। उपन्यासलाई कतै त कथा चाँडो सक्न हतार भएको भान पनि हुन्छ। जम्मा १६८ पृष्ठको उपन्यासले पात्रलाई सक्दो न्याय गर्ने यत्न भने गरेको छ।
प्रकाशनको क्रममा मिहीन सम्पादन भएको भए पुस्तक अझै ओजपूर्ण हुन्थ्यो। यद्यपि, लेखकले आफ्नो परिवेशको कथा इमानदारपूर्वक भनेका छन्। म्याग्दीका मगरहरूको संस्कृति, जनजीवनलाई प्रष्ट्याउने प्रयास भएको छ।किताबको नाम धौलागिरीको सट्टा धौलासिरी लेखिनुको कारणबारे पाठकलाई खुलदुली हुनसक्छ। लेखकका यसअघि नै प्रकाशित लेख र सामाजिक सञ्जालमा प्रेषित भनाइअनुसार स्थानीय रूपमा धौलागिरिलाई धौलासिरी नै भनिन्छ। त्यसैले धौलागिरीका मगर समुदायको कथालाई उनीहरूकै बोलीमा भन्ने प्रयास लेखकको छ।
सम्भवतः धौलागिरिका मगर समुदायलाई मुख्य पात्र बनाएर लेखिएको यो पहिलो आख्यान हो। धौलागिरीका मगर समुदायबारे बुझ्न पनि यो पुस्तक उपयोगी छ। यसलाई बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो। यसको मूल्य ४२५ रुपैयाँ छ।