नेपालीहरुको महान चार्ड बडा दशैं संघारैमा छ । अब दशैंको उपलक्ष्यमा सरकारी विदा शुरु हुन लाग्दैछ । यही मेसोमा काठमाडौं बसोबास गरिरहेका जिल्ला बाहिरका बासिन्दाहरु गाडी बुक गरिरहेका छन् भने केही घर फर्कन मेलोमेसो मिलाउँदैछन् । कोही गाउँ पुग्न शुरु भइसकेको छ । यस बसाईमा केही आदिवासी लेखक, पत्रकार, गीतकार, चलचित्रकर्मी तथा आदिवासी अभियन्ताहरु दशैंको विदा कसरी सदुपयोग गर्ने सोचाई गरिरहेका छन् जान्ने प्रयास गर्ने छौं ।
१) गोरे गुरुङ (उपकुलपति : गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा)
सँधैको वर्षहरुमा झै घरपरिवार र आफन्तजनहरुसँग घरमै बसिबियालो गरिन्छ । दशैंको अवसर पारेर वरिष्ठ संगीतकार अम्बर गुरुङ संगीत संयोजनमा मेरो शब्द, संगीत र स्वर रहेको एउटा नयाँ गीत यही शुक्रबार दर्शक समक्ष ल्याउँदैछु । यस गीतको भिडियो भर्सन रेकिर्डिङ स्टुडियोमा तयार भइरहेको छ । यसको भिडियोग्राफी टेकमान गुरुङ, सम्पादन प्रेम गुरुङको रहेको छ । यस गीतको भिडियो गोरे गुरुङ अफिसियल युटुयुब च्यानलमा आउँदैछ ।
गीत :
मलाई नठान परदेशी
मलाई नभन निष्ठुरी
मेरो पनि गाउँघर नेपाल हो
मेरो पनि जन्मघर नेपाल हो
कोशी पारी धरान धनकुटा
ए साईली २/४ वर्ष धन कमाई
जाने हो गाउँघर
२) शिवशंकर थापा (गीतकार) झापाबाट ।
दशैं र अन्य दिन कुनै फरक लाग्दैन । यथावत रहन्छ । दशैंमा लेख्ने, नयाँ किताब पढ्ने भन्ने नहुँदो रहेछ । रिटायर लाईफमा जहिले पढे पनि लेखे पनि भयो । ज्ञान आर्जन गर्न बिशेष दिन कुनै भन्ने हुँदैन । यस पर्वलाई बिशेष नठानेको र शुभकामना आदान प्रदान नगरेको पनि बर्षौ बित्यो ।
३) अमृत सुनुवार (अध्यक्ष : सुनुवार सेवा समाज, संघीय समिति)
रामेछाप गाउँमा सपरिवार जाने, पारिवारिक भेटघाटमा नै दशैं बित्छ । खासै नयाँ नौलो केही छैन । मुलत पारिवारिक भेटघाट नै हुन्छ ।
४) प्रतिभा पुन मगर (लेक्चरर : नेपाल खुल्ला विश्वविद्यालय)
दशैं पछाडि लोकवार्ता परिषद नेपालको गोष्ठी म्याग्दीको दुई ठाउँमा आयोजना हुँदैछ । सो कार्यक्रमको संयोजकको नाताले त्यो गोष्ठीको लागि तयारी एवम् पिएचडीको अन्तिम चरणमा रहेको हुँदा परिवारलाई समय दिन सकेको छैन । दशैंको बेला व्यक्तिगत व्यस्तता साईड राखेर भए पनि परिवारलाई २/४ दिन समय दिने सोचाई छ ।
५) गुञ्ज गुरुङ (अध्यक्ष : गुरुङ चलचित्र संघ, केन्द्रीय समिति)
परिवारमा दशै मनाउँदैनौं । पोखरा नजिक रहेको विभिन्न स्थानहरु बेगनास, रुपाताल, अष्ट्रेलियन क्याम्प, धम्पुस, सराङकोटतिर पुगेर स्क्रिप्ट लेखन कार्य गरिरहेको छु । चलचित्र नराम्रो हुनुमा स्क्रिप्ट राम्रो नभएर हो भन्ने मान्यता लिएर १/२ वर्ष लगाएर स्क्रिप्ट लेख्छु/लेखिरहेको छु । अनि मात्रै चलचित्र निर्माण प्रक्रियामा निस्कन्छु भन्ने सोचले लेखन कार्य गरिरहेको छु । संस्थागत रुपमा जिफानको भवन निर्माणको लागि जग्गा किन्न अर्थ संकलन कार्य यो तिहारमा पनि जारी रहन्छ ।
६) भीम राना मगर (अध्यक्ष : मगर चलचित्रकर्मी संघ, केन्द्रीय समिति)
एक महिना अगाडि दमौलीमा चलचित्र सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो । चितवनमा गरिएको १ हप्ते प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई सर्ट फिल्म बनाउन हौसाई रहेको छौं । दशैंभन्दा अगाडिनै एक पटक गाउँ पुग्छु । खासै त्यस्तो योजना त बनेको छैन तर मेसो मिल्यो भने स्याङ्जा लसर्घाबेसीमा प्रचलित जीवैमामा गीत नेपालीमा गण्डकी प्रज्ञा प्रतिष्ठानको अग्रसरतामा पोखरामा रेकर्डिङ गर्ने भन्ने कुरा भएको हुँदा यही मेसोमा यो काम गरिन्छ भन्ने लागिरहेको छ ।
७) विजय हितान (पर्या अभियन्ता तथा लेखक)
लाहुरेको रेलिमाई उपन्यासका लेखक विजय हितानको बसाई बेलायत भए पनि अहिले यो उपन्यासको लागि नेपालमा नै छन् । यो दशंैको छुट्टि केही सृजना लेख्दै केही साहित्यका पुस्तकहरुको अध्ययन र प्रकृति अवलोकनको लागि पदयात्रामा निस्कन्छु । आफन्तलाई सम्झदै फोनमा वार्तालाप एवम् दशैं मान्न जन्मस्थलतिर जाँदैछु ।
८) शंकर महर्जन (निर्देशक तथा क्यामराम्यान) ललितपुर
नयाँ क्यामरा किनेको हुँदा त्यसको फङ्सन के के छ त्यो हेर्ने छु । परिवारको चारभाई संगै माईला दाईको घरमा मिलेर दशैं मनाउने छौं । दशंै र तिहारको बिचमा मिल्यो भने लान्द्रुक गाउँमा हनीहन्टिङ जाने योजना बनाएको छु ।
९) टिबी पुन मगर (पिएचडी, स्कलर्स) पोखराबाट
म आफु बौद्ध धर्मावलम्बी भएकोले दशै मनाइदैन । यस समयमा पुस्तकहरु अध्ययन, लेखन कार्य गर्ने । दशैंको दिनमा बिहारमा अशोक बिजया दशमी मनाउने । दानपुण्य गर्ने । भिक्षुलाई भोजन दान गराउने । धर्म देशना श्रवण गर्ने । धर्म साकिच्छा गर्ने । मन परेको स्थानमा भ्रमण गर्ने । अन्य दिन सरह सामान्य रुपमा व्यतित हुन्छ ।