चलचित्र कला हो । यो जीवन र जगत्को दृश्यात्मक प्रस्तुति हो । त्यसो त मान्छेको जीवन आफैँमा एउटा चलचित्र हो । जीवनरुपी चलचित्र कानले होइन हृदयले सुनिन्छ । नाकले होइन भावनाले सुघिन्छ ।
चलचित्रलाई मनोरञ्जनको माध्यम मानिने परम्परागत धारणा छ । तर चलचित्र मनोरञ्जन मात्र होइन, यो त जीवन र जगत्को प्रस्तुति हो । त्यति हो कि चलचित्रमा मनोरञ्जनको खुराक हालिन्छ । चलचित्र भनेको समाजको दर्पण हो । यो समकालीन समाजको संस्कृति हो, अर्थ हो, राजनीति हो र दर्शन पनि हो । मानव जीवनले समेटेको समग्र विषय फिल्म हो । यस्तो गहन विषयको प्रस्तुति पनि गहन नै हुनुपर्दछ । त्यसैले निर्देशकले चलचित्र आफ्नो लागि बनाउनु हुँदैन, दर्शकका लागि बनाउनुपर्छ । आफ्नो उपदेश लाद्न होइन बरु दर्शको भावनालाई एकत्रित गर्न चलचित्र बनाउनुपर्छ । तबमात्र चलचित्र सफल हुन्छ ।
नेपालीे चलचित्रको उठान राट्रिय भावनाबाट भएको हो भन्दा फरक पर्दैन । ‘सत्यहरिश्चन्द्र’लाई प्रारम्भविन्दु ठान्दै ‘आमा’ (२०२२) लाई पहिलो नेपाली भूमिमा बनेको चलचित्र मान्दा नेपालको पहिलो चलचित्र नै राष्ट्रियताको भावनासँग सम्बन्धि छ । यद्यपि त्यसमा पञ्चायतको दर्शन पनि धेरथोर लादियो त्यो भिन्न कुरा हो । त्यसपछि बनेका केही ‘कमर्सियल’ चलचित्रहरुमध्ये केहीले नेपाली मुटु छोए । तर धेरै इतिहासको गर्भमै सीमित भए । जुुन सफल थिए ती चलचित्ररु कुनै न कुनै रुपमा देशको कला, संस्कृति र परम्पराका धरोहर नै थिए । अहिले पनि नेपाली हावापानी, माटो र भावनालाई स्पर्श गरी बनाएका चलचित्र दर्शको प्रिय बन्दै छन् । न कि हिन्दीका नक्कल गरिएका चलचित्रहरु । पछिल्लो समय साँस्कृतिक फिल्महरु बन्ने लहर चल्न थालको छ । क्षेत्रीय तहमा बन्ने र समुदाय विशेषको प्रतिनिधित्व गर्ने यस्ता चलचित्रले निश्चित समुदायमा नै किन नहोस् गहिरो छाप छोड्न थालेको छ ।
चलचित्रलाई समाजको दर्पण र संस्कृतिलाई समाजको पहिचान मान्ने हो भने अबको नेपाली चलचित्र सास्कृतिक धारमा अगाडि बढ्नुपर्छ । यसै सेरोफेरोमा मगर संस्कृतिमा आधारित चलत्रि ‘रैयाँँ’ प्रदर्शनमा आएको छ । ‘रैयाँँ’ मगर नारीहरुले हातमा लगाउने बालाको नाम हो । तर यो बालाको प्रतिकात्मक अर्थ छ । यौवनावस्थामा प्रवेश गर्न लागेकी छोरी चेलीलाई दिइने रैयाँँ काइके, ढुट र खाम तीनवटै मगर समुदायमा प्रचलित छ । छोरा भए ५ देखि ११ वर्षसम्मको उमेरमा छेवर गरिदिने र छोरी भए ७ देखि ११ वर्षसम्म रैयाँ दिने प्रचलन छ । पछिल्लो समय समाज आधुनिकतातर्फ उन्मुख हुँदै गर्दा यो परम्परा लोप हुने खतरा पनि बढ्दै गएको छ । त्यसैले आफ्नो समुदायको पहिचानको रुपमा रहेको यस्तो प्रथालाई जोगाउनु मगर अगुवाहरुका लागि चुनौती पनि छ ।
त्यसो त रैयाँको धार्मिक वा सास्कृतिक अर्थ मात्र छैन, यो बालालाई मगर महिलाको रक्षाकवचको प्रतिक पनि मान्निछ । ‘रैयाँँ’ चलचित्रमा नायिका जैसरालाई हातपात गर्न खोज्ने खलनायकको आँखा जैसराले आफ्नो रैयाँले हानेर फुटाइदिएको दृश्यले रैयाँको महत्व आफैँमा स्पष्ट पार्छ । विगतमा ग्रामीण मगर समुदायका महिलाहरुलाई पुरुषहरुले कुकृत्य गर्न खोजे रैयाँलाई हतियारको रुपमा प्रयोग गर्थे भन्ने यस चलचित्रका निर्देशक मेजन पुनमगरको भनाइ छ ।
‘रैयाँ’ नारीप्रधान चलचित्र हो । कथानक चलचित्र र ‘डकुमेण्ट्र«ी’को दोसाँधमा हिँडेको चलचित्र अनुसन्धानमुलक देखिन्छ । मगर समुदायकी छोरी चेलीमाथि केन्द्रित यस चलचित्रमा सालैजो.... कौरा... रैयाँ... बुमले... मरिजाने... आदि भाकाका गीतहरु छन् । टाइटल गीतको प्रस्तुति अति कलात्मक छ । मगर बसोबास क्षेत्र स्याङ्जा, तनहुँ र कास्कीका विभिन्न स्थानमा छायाङ्कन गरिएको यो चलचित्रमा प्रिया थापा (जैसरा), अशोक आलेमगर (कमल), राज काउछामगर (इन्सपेक्टर) सुमन थापा (एरिक) र नेपाल प्रहरीकी डिआइजी पार्वती थापा (डिआइजी) ले मुख्य भूमिका निर्वाह गरेका छन् । मेजन पुनमगरको निर्देशन रहेको यस चलचित्रका निर्मातामा तारामाया थापा र हर्क आलेमगर रहेका छन् ।
वास्तवमा चलचित्र किन बनाइन्छ ? यो प्रश्नको उत्तर धेरै हुनसक्तछ । ‘रैयाँ’को सन्दर्भमा चाहिँ निर्मात्री तारामाया थापाको भनाइ छ– ‘संस्कृति व्यक्तिको पहिलो पहिचान भएको र आफू मगर समुदायको नारी भएकाले मैले यो मगर समुदायमा प्रचलित संकृतिमाथि चलचित्र बनाउने कदम चालेको हुँ । म स्वयम् पनि महिला भएको र मगर समुदायमा रैयाँ र छोरी चेली एकअर्काका परिपूरक भएकाले पनि मलाई यो विषयले तानेको हो ।’
‘रैयाँ’ मगर संस्कृतिको जीवन्त प्रस्तुति हो । लोपोन्मुख संस्कृतिलाई जोगाउन यसको भूमिका रहने नै छ । मगर नारीहरुको मनलाई छुन पनि यसले सतत् प्रयास गरेको छ । सांस्कृतिक विषयमा पनि दमदार फिल्म बन्न सक्तछ भन्ने कुराको पुष्ट्याइँ ‘रैयाँ’ हो । कल्पनाभन्दा माथि उठेर आफ्नै कथाव्यथामा चलचित्र बनाए नै राम्रा चलचित्र बन्छन् र राम्रा चलचित्र बने मात्र ती हाम्रा चलचित्र हुन्छन् भन्ने सन्देश दिन चलचित्र ‘रैयाँ’ सफल छ । यो चलचित्र आँखाले हेर्ने होइन पक्कै पनि मनले हेर्ने बनेको छ । केही कमीकमजोरीका बाबजुद पनि यो ‘चल्’ ‘चित्र’ होइन, चलचित्र बनेको छ । यसलाई मगर संस्कृतिको दृश्यात्मक घोषणापत्र मान्न सकिन्छ । गतिलो खुराक पस्केकोमा ‘रैयाँ’ टिमलाई बधाइ, अनि शुभकामना !